s

साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग

 
हरिराम उप्रेती
 
कुमार रानामगरले चलाएको गाडी दुर्घटनाले साउदी नागरिक घाइते
 
उपचारका लागि ८३ लाख व्लडमनि बुझाउनु पर्ने
 
मजदुर दिवस मनाइरहँदा मंगलबार यहाँ एक महिलाले रोजगारीका लागि विदेश गएर जेलमा परेका श्रीमान्‌को उद्धारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् । भीमसेन थापा गाउँपालिका-७ वोर्लाङका कुमार रानामगर सेप्टेम्वर २०१७ देखि प्रहरी हिरासत र जनावरी २०१८ देखि साउदी अरबको अफिम सेन्ट्रल जेलमा छन् । 
 
साउदीको खालिद एसअल कम्पनीमा हेल्पर काम गर्दै आएका मगरले सवारीचालक अनुमतिपत्र बिनै चलाएको गाडी २४ अप्रील २०१६ मा दुर्घटना हुँदा साउदी नागरिक खालिद अल गताइवी घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ओताइवीले क्षतिपूर्ति माग गर्दै (दिया रकम ब्लडमनि) अदालत समक्ष २०१६ डिसेम्वर १९ मा मुद्दा दर्ता गरे । अफिम जनरल कोर्टले २०१७ अप्रिल १७ मा कुमारले २ लाख ९४ हजार साउदी रियाल (नेपाली ८३ लाख रुपैयाँ) घाइते ब्याक्तिलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो ।
 
क्षतिपूर्ति तिर्नुपर्ने अवधि सकिँदासम्म तिर्न नसकेपछि पक्राउ गरिएका उनलाई जेलमा राखिएको छ । ‘कमाउन गएको श्रीमान जेलमा हुनुहुन्छ, उल्टो उहाँलाई निकाल्न तेत्रो पैसा लाग्छ रे,’ रूँदै श्रीमती अम्बिकाले भनिन्, ‘मेरो पतिको तर्फबाट कुनै वकिल नराखी, भाषा अनुवादसमेत नगरी एकोहोरो रुपमा अदालतले ब्लडमनि तिर्नुपर्ने र नतिरेसम्म आजीवन जेल बस्नुपर्ने कागजमा सही गर्न लगाएछ ।’ विदेशको ठाउँमा आफ्नो श्रीमानलाई फसाएको उनको आरोप छ । कम्पनीका मालिक सुलेमान खालिद अलहाजिरीले जबर्जस्ती गाडी चलाउन लगाउँदा दुर्घटना भएको श्रीमानले टेलिफोनमा बताएको उनले सुनाइन् ।
 
कहिलेकाही हुने फोन सम्पर्कमा कुमारले आफ्नो रिहाइका लागि देशबाट कुनै पहल भए/नभएको सोध्ने गरेको उनले बताइन् । ६ वर्षदेखि वैदशिक रोजगारीबाट कमाएको रकमले घर खर्च चलाउँदै आएका कुमार जेल परेपछि परिवारको विचल्ली भएको छ । कुमार र अम्बिकाका तीन सन्तान छन् । उनीहरूलाई पढाउन अम्बिका चितवन बसेकी छन् । सवारी दुर्घटनामा परेपछि कुमारलाई तीन दिन साउदी प्रहरीले हिरासतमा लिएर छाडेको थियो । छुटेपछि काम गर्न थालेका उनलाई कम्पनीले पनि नआत्तिइकन काम गरे सबै मिलाउने आश्वासन दिएको थियो ।
 
गत असोजमा दसैं मान्न घर जानुअघि अम्बिकाले श्रीमान्‌लाई सम्पर्क गर्न खोज्दा राती अबेरसम्म अनलाइन आएनन् । असोज १० मा उनका साथीले फोनमा कुमार जेल गएको बताएका थिए । ‘जेल भनेपछि छाँगाबाट खसेजस्तै भएँ । उहाँ एक्लो छोरो हो, सासु ससुरालाई के भनौं भएँ,’ अम्बिका भन्छिन् । श्रीमानको रिहाइका लागि कुटनीतिक तहबाट पहल गरिदिन आग्रह गर्दै उनी परराष्ट्र मन्त्रालय र कन्सुलर विभाग पनि पुगेकी थिइन् । जेल परेका श्रीमानसँग टेलिफोन गर्न यहीँबाट रकम पठाउने गरेको उनले सुनाइन्।
 
श्रीमान रिहाइका लागी घाइतेलाई क्षतिपूर्ति दिनुको विकल्प नरहेको उनको वुझाइ छ । कुमार रानामगरको जीवन रक्षाका लागि ब्लडमनी संकलन अभियान पनि सुरु गरिएको छ । ‘वैशाख १ बाट अभियान सुरु गरेका हौं, अहिलेसम्म १ लाख ५० हजार संकलन भएको छ,’ अभियानका अगुवा कृष्णप्रसाद ढकालले भने ।
 
Published on: 1 May 2018 | Kantipur

Back to list

;