s

साउदीको जेलबाट छुट्ने भए सुनसरीका भुपाल

बिगत दुई वर्षदेखि साउदी अरबको अलकासिमस्थित बुरैदा जेलमा बन्दी रहेका सुनसरीको राहक्षेत्र नगरपालिका-२ का भुपाल बस्नेत जेलमुक्त हुने भएका छन् ।

बस्नेतले बुझाउनु पर्ने ७५ हजार ३ सय रियाल अर्थात २२ लाख ९१ हजार ३७९ रुपैयाँ ब्लडमनी परराष्ट्र मन्त्रालयलाई बुझाइसकिएकोले उनी जेलमुक्त हुने भएका हुन् । उनलाई जेलमुक्त गर्न संयोजन गरिरहेको प्रवासी नेपाली समन्वय समितिले विभिन्न स्रोतबाट संकलन भएको मन्त्रालयमा बुझाएको हो । बस्नेतको जेलमुक्तिका लागि उनी जेलमै रहेको शहरमा कार्यरत नेपालीहरूले तदारूकताकासाथ आर्थिक सहयोग जुटाउने अभियान संचालन गरेका थिए ।

जसअन्तर्गत गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमले २ लाख ४६ हजार ३ सय, अलकासिममै कृयाशील संस्था गन्तब्य नेपालमार्फत २ लाख १४ हजार ७ सय ७२, नेपाली प्रवासी समाज हाएलमार्फत ३२ हजार २ सय ३३ रुपैयाँ पिएनसीसीलाई बुझाइएको थियो ।त्यसैगरी गैरआवासीय नेपाली संघ, कल्याणकारी कोषबाट २ लाख ३० हजार, प्रेम राई उद्दारको क्रममा बचत भएको रकमबाट २ लाख, बराहक्षेत्र समाज सुनसरीबाट ११ हजार १ सय ११, सुनसरी मोरङ समाज कतारबाट २ लाख २६ हजार सहयोग प्राप्त भएको पिएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताए ।

कुमार राना उद्धार समितिको ११ लाख सहयोग

बस्नेतको उद्धारका लागि पाँच महिना पहिला साउदी अरबमै ब्लडमनीकै मुद्धामा २ लाख रियाल बुझाई जेल मुक्त भएका गोरखा बोर्लाङका कुमार राना मगर उद्धार समितिले महत्वपूर्ण सहयोग ग रेको छ । समितिसँग संचित रहेको रकमबाट ११ लाख ३० हजार ९ सय ६३ रूपैयाँ सहयोग गरिएको अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयमार्फत साउदी अरबको नेपाली दूतावासमा रकम स्थानान्तरण गरी बस्नेतको जेलमुक्तिको आवश्यक प्रकि्रया थालनी गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ । बस्नेत ६ वर्ष अगावै साउदी अरबमा गाडी चलाउने काम गर्थे । कामकै सिलसिलामा उनले चलाएको गाडी दुर्घटना भई साउदी नागरिकको मृत्यु भएको थियो ।अदालतबाट २५ प्रतिसत दोसी ठहर गरी सजाया सुनाइएका बस्नेतलाई तत्कालीन कम्पनिले मुद्धाको छिनोफानो नगरिकनै नेपाल पठाएको तर बस्नेतलाई ती सबै कुरा जानकारी नभएको बताए ।

बेरोजगारका कारण पुन साउदी जाने क्रममा उनी एरपोटमै समातिन पुग्दा पहिलाको मुद्धा किनारा नलागेको कुरा त्यतीबेला मात्र थाहा हुन आयो ।पीएनसीसीले यो भन्दा पहिला नवलपरासीका थानेश्वर भुषाल र झापाका प्रसान्त लिम्बुको साउदी अरबको जेलबाट उद्धार गरिसकेको छ ।अध्यक्ष कार्कीले पीएनसीसीले केवल समन्वय मात्रै गरेको र वास्तबिक सहयोगदाता आम नेपाली समुदायनै भएको बताए ।

Published on: 13 February 2019 । Onlinekhabar

Back to list

;