s

साउदीको ९० दिने आममाफी सुरु

होम कार्की 

साउदी अरबमा गैरकानुनी हैसियतमा बसेका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी त्यहाँँको सरकारले लागू गरेको ९० दिने आममाफी बुधबारदेखि सुरु भएको छ । साउदीका उपप्रधान तथा गृहमन्त्री राजकुमार मोहमद विन नैफले गत साता आममाफी घोषणा गरेका थिए । तीन वर्षअघि पनि आममाफीमा ३५ हजार नेपाली स्वदेश फर्कन पाएका थिए ।

१९ मार्चसम्म हरूवा (रोजगारदाताले भागेको भनेर साउदी निकायलाई खबर गरेका), अकामा (परिचयपत्र) नबनेर, म्याद सकिएका अकामा नवीकरण नभएर अलेखबद्ध (अवैधानिक) भएका कामदारले आममाफीको सुविधा लिन पाउने नेपाली दूतावासले जनाएको छ ।

साउदीको आन्तरिक मन्त्रालयका प्रवक्ता मान्सअवर अल–तुरकीले यो अभियानमा सहजीकरण गर्न १९ निकाय तोकिएको बताए । साउदीको राहदानी तथा अध्यागमन विभागले सबै तयारी पूरा गरिसकेपछि मात्रै ती कामदार स्वदेश फर्कन पाउनेछन् । गैरकानुनी हैसियतमा बस्ने कामदारले स्वदेश फर्किन जेल बस्नुपर्ने थियो । साउदीबाट जेल बसेर हरेक दिनजसो दुई दर्जन नेपाली फर्किरहेका हुन्छन् । ९० दिने आममाफीमा सहभागी हुन नेपाल सरकारले आग्रह गरेको छ । साउदीमा त्यसरी बसेकाका परिवारलाई प्रधानमन्त्री कार्यालयले ‘आफ्नो मान्छेलाई आममाफीमा सहभागी हुन प्रोत्साहित गर्न’ अपिल गरेको छ । 

‘आममाफीलाई स्वदेश फिर्ने मौकाको रूपमा लिनुपर्छ,’ प्रधानमन्त्री कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले भने, ‘उनीहरूलाई फर्काउन परिवारजनले पनि भूमिका निर्वाह गर्नुपर्छ ।’ प्रधानमन्त्री कार्यालय उद्धार शाखाका सुशील ढुंगानाले सरकारले साउदीमा घुम्ती शिविर पठाउने तयारी गरेको जनाउँदै त्यसले आममाफी प्रक्रियामा सहभागी कामदारलाई सहजीकरण गर्ने बताए । 

कागजात विहीन कामदार सिधै जवाफत (अध्यागमन) कार्यालय जान पाउँदैनन् । त्यसका लागि साउदी सरकारद्वारा तोकिएको ढाँचामा अनलाइनमार्फत फाराम भर्नुपर्छ । फाराम पेस गरेपछि समय पाइन्छ । तोकिएको समयमा फारामको प्रिन्टकपी बोकेर आफूलाई पायक पर्ने ‘एयरपोर्ट इमिग्रेसन’ मा पुगेपछि एक्जिट पेपर पाइने र स्वदेश फिर्न पाइने साउदीस्थित नेपाली दूतावासले जनाएको छ । 

साउदीका लागि नेपालका कार्यवाहक राजदूत आनन्दराज शर्माले अनलाइन फाराम भर्न नजान्नेको फाराम दूतावासबाटै भरिदिने बताए । ‘सक्कली राहदानी भएका कामदारले अनलाइनमार्फत दिएको समयमा अकामा भए अकामा र सक्कल राहदानी लिई जानुपर्छ,’ उनले भने, ‘राहदानी नभएकालाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिनेछ । जरिवाना लागेको वा मुद्दा भएका व्यक्तिलाई जवाजतले एक्जिट भिसा नलगाउने हुँदा कामदारले अनलाइनमार्फत समय लिनुअघि नै आफ्नो मुद्दा रहेको सम्बन्धीत निकाय (प्रहरी र अदालत)मा सम्पर्क गरी मुद्दाको फछ्र्योट गर्नुपर्ने दूतावासले जनाएको छ ।

Published on: 31 March 2017 | Kantipur 

Back to list

;