s

साउदीका नेपालीलाई विकल्प रोज्न रातको समय

चन्द्रशेखर अधिकारी

वैधता हासिल गर्ने वा स्वदेश फर्कने? साउदी सरकारको दृष्टिमा अवैध मानिएका नेपाली कामदारले यीमध्ये कुनै एक विकल्प रोजेर प्रक्रिया अघि बढाउन त पाउने भए तर रातमा मात्र। यो रात्रिकालीन सेवा असार २५ गते सुरु हुँदैछ।

साउदी सरकारले तोकेको म्यादभित्र स्वदेश फर्कन वा वैध हुन चाहनेका लागि राति आठ बजेदेखि दुई बजेसम्मको समय तोकेएको छ। यो सेवा एक महिनासम्म चल्नेछ। समयसीमाभित्र साउदीमा रहेका सबै मुलुकका कामदारले सम्बन्धित अध्यागमन कार्यालयमा आफ्नो कागजात बुझाइ ‘क्लिअरेन्‍स’ लिनुपर्नेछ। ‘क्लिअरेन्‍स’ पुन: काम गर्ने र स्वदेश फर्कने दुवैले लिनुपर्नेछ।

साउदी सरकारले विभिन्न मुलुकका ३५ लाखभन्दा बढी नागरिक अवैध रहेको भन्दै उनीहरूलाई वैध बनाउने र आफ्ना नागरिकलाई पनि अनिवार्य काम गराउने प्रयासअनुरूप दुई महिनाअघि यो प्रक्रिया अघि बढाएको हो। यसअघि दिइएको दुईमहिने म्याद गत शुक्रबार सकियो। अहिले चार महिना म्याद थपिएको छ। म्याद थप भएकाले नेपाली कामदारले केही सहज अनुभव त गरेका छन् तर एकमहिने रात्रिकालीन सेवाका कारण अन्योलमा पनि छन्। मंसिरको पहिलो सातासम्म म्याद पाएका नेपाली अब ढुक्कले आफ्नो ‘क्लिअरेन्‍स’ गरेर दसैंको वरपर घर फर्कन पाउने दूतावासका अधिकारीले जानकारी दिएका छन्।

मुस्लिमको प्रमुख चाड रमजानमा साउदी अरबले आफ्ना कर्मचारीलाई बिदा दिन्छ। साउदीमा अत्याधिक विदेशी कामदार ‘अवैध’ रहेकाले उनीहरूलाई वैध गर्न वा स्वदेश फर्काउन रमजानका बेलामा पनि कर्मचारी रातको समयमा मात्र काममा खटिनेछन्। त्यसकै लागि राति ८ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको जानकारी साउदी सरकारले आइतबार नेपाली दूतावासलाई दिएको छ। ‘रमजानमा दिउँसो व्रत बस्ने भएकाले रातको समय उपयोग गर्न खोजिएको हो’, दूतावास उपप्रमुख हरीशचन्द्र घिमिरेले भने।

नेपाली दूतावासका अनुसार अहिलेसम्म अवैध मानिएका करिब २० हजार नेपालीले त्यस्तो क्लिअरेन्‍स लिइसकेका छन्। २० हजारजनाको प्रक्रिया थालिएको छ। करिब ३० हजार नेपाली स्वदेश फर्कनेछन् भने अरूले वैध रूपमा काम गर्नसक्‍ने दूतावासका अधिकारीले बताए।

पछिल्लो समयसीमाका कारण कतिपयले त्यहाँ बुझाउनुपर्ने हर्जना मात्र हैन, फर्कने टिकट खर्चसमेत काम गरेर कमाउन सक्‍नेछन्। कतिपयले ट्राफिक नियम पालना नगर्दा हर्जना तिर्नुपरेको छ भने कतिले स्वीकृतिबिना एउटा कम्पनी छोडेर अर्को कम्पनीमा गएकोमा हर्जना तिर्नुपरेको छ।पासपोर्टविहीनलाई दूतावासले अस्थायी हस्तलिखित राहदानी दिएको छ। १४ हजार नेपालीले आफ्नो पुरानो राहदानी लिइसकेका छन्। त्यस्तै २८ हजार नेपालीले आउटपास लिएका छन्। आउटपास लिनेहरू स्वदेश फर्कनेछन्। केही नेपाली स्वदेश फर्किरहेका पनि छन्।

साउदी सरकारले एकाएक यस्तो नीति लिएपछि हजारौ नेपाली अलपत्र तथा अलमलमा परे। प्रक्रिया नबुझेर कोही पुलमुनि त कोही रूखमुनि रात बिताउन बाध्य भए। समस्या समाधान गर्न मन्त्रालयले सबै अधिकार दूतावासलाई दिएको थियो। अहिले त्यस्तो अवस्था नरहेको दूतावासका घिमिरेले बताए। उनले भने, ‘कतिले नबुझेर त कतिको बाध्यताका कारण समस्या परेको थियो। अहिले त्यस्तो छैन।’

Published on: 9 July 2013 | Annapurna Post

Back to list

;