s

साउदीका ७० हजार नेपालीलाई आममाफी

सुरेन्द्र पौडेल

वर्षौंदेखि साउदी अरबमा अवैध रुपमा बस्दै आएका करिब ७० हजार नेपाली कामदार अब स्वदेश फर्कन पाउने भएका छन्। साउदी सरकारले त्यहाँका अवैध आप्रवासी कामदारलाई बिनाजरिवाना स्वदेश फर्कन आममाफी (एम्नेस्टी) दिने घोषणा गरेपछि उनीहरुलाई घर फर्कने बाटो खुलेको हो। साउदीले १५ वर्षपछि आइतबार अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको हो। 

'साउदीले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको छ,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमा नागरिकसँग भने, 'अवैध नेपाली कामदारलाई यसले ठूलो राहत मिलेको छ।' 

साउदीका श्रममन्त्री अडेल फकेईले आइतबार 'श्रमबजारको विकृति' हटाउन भन्दै अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेका हुन्। अवैध आप्रवासी कामदारलाई कुनै पनि किसिमको दण्डसजाय नदिई स्वदेश फर्कन सुनौलो अवसर दिइएको उनले घोषणामा भनेका छन्। 

साउदीमा अवैध नेपाली कामदार स्वदेश फर्कन नपाउँदा त्यहाँको नेपाली दूतावासलाई समस्या समाधान गर्न अप्ठेरो पर्दै आएको थियो। दूतावासले अवैध कामदारलाई स्वदेश फर्काउन साउदी सरकारसमक्ष आममाफीको कार्यक्रम ल्याउन पटक-पटक अनुरोध गरेको थियो। केही महिनाअघि राजदूत पाण्डेले साउदी विदेशमन्त्री र श्रम मन्त्रीसँग भेटी त्यसका लागि आग्रह गरेका थिए। 

साउदीले आममाफीको समयभित्र स्वदेश नफर्कने आप्रवासी कामदारलाई कारबाहीको दायरमा ल्याउने जनाएको छ। आममाफीको समयभित्र नफर्कनेलाई पक्राउ गरी जरिवानासहित कैदसजाय गर्न सक्ने प्रावधान साउदी कानुनमा छ। 'आममाफीको कार्यप्रणाली कस्तो हुने साउदी सरकारले हामीलाई पठाइसकेको छैन। कार्यप्रणाली आएपछि मात्र आममाफी कहिलेबाट सुरु हुने र कति दिनसम्म रहने भन्ने थाहा हुन्छ,' पाण्डेले भने।

बिना राहदानी बस्दै आएका, नक्कली करारपत्रमा गएका, भिसा सकिएपछि पनि बस्दै आएका (ओभर स्टे) कामदारले आममाफीका बेला आफ्नो देशको दूतावासबाट यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) लिई फर्कन पाउनेछन्। साउदी सरकारकै शब्दमा यो सुनौलो अवसरमा फर्कन चाहने अवैध कामदारको राहदानीमा बिनासजाय 'एग्जिट' छाप लगाई बिदा गरिनेछ। 

त्यहाँ परिचयपत्र (रेसिडेन्ट परमिट)का आधारमा बैंक खाता खोल्ने, मोबाइलको सिमकार्ड किन्न पाउने, पैसा स्वदेश पठाउन पाउने सुविधा कामदारले पाउँछन्। कामदारको व्यक्तिगत विवरण र कार्य परिचयपत्रमार्फत हुने गर्छ। परिचयपत्र नहुनेलाई अस्पतालले भर्नासमेत लिन मान्दैन। 'अवैध कामदारका कारण थुप्रैखाले समस्या सामना गर्नुपरेको छ। कामदार स्वयंले दुःख त पाएकै छन्, दूतावास पनि अफ्ठेरोमा पर्ने गरेको छ,' उनले बताए। 
पछिल्लो १८ महिनामा पक्राउ परी जेल परेका १० हजार अवैध कामदारलाई दूतावासले नेपाल फर्काइसकेको उनले जनाए। पाण्डेका अनुसार मासिक ८ सयदेखि एक हजार अवैध कामदारलाई यात्रा अनुमतिपत्र थमाउँदै दूतावासले नेपाल फर्काउँदै आएको छ। अझै करिब ७० हजार नेपाली कामदार अवैध रुपमा साउदीमा रहेको अनुमान राजदूत पाण्डेको छ। 

अवैध कामदारले परिचयपत्रको नहुँदा बिरामी वा दुर्घटनामा परी घाइते हुँदा उपचार नपाउने मात्र होइन, मृत्यु भए उनीहरुको शव नेपाल पठाउनसमेत निकै कठिन हुन्छ। मृत्यु भए शवको राहदानी बनाई त्यसमा बहिर्गमन भिसा लगाई स्वदेश पठाउनुपर्छ। अवैध कामदारको एउटा शव नेपाल पठाउन तीन लाख रुपैयाँसम्म लाग्छ भने त्यसका लागि दुई कर्मचारी १५ दिन खटिनुपर्छ। दुर्घटना वा कामको सिलसिलामा मृत्यु भएकाको परिवारले क्षतिपूर्ति मात्र होइन बिमा रकमसमेत पाउँदैनन्। अस्पतालमा शव राखेको रकमसमेत मृतकका परिवारले बुझाउनुपर्छ। 

अवैध कामदारको मृत्यु भए शव पठाउने प्रक्रिया निकै झन्झटिलो छ। 'पछिल्लो केही महिना हामीले अवैध कामदारको १४ वट शव नेपाल पठायौं। यो पठाउँदा झन्डै २३ लाख रुपैयाँ खर्च भयो। सबै रकम सरकारले व्यहोर्नुपर्छ,' पाण्डेले भने, 'यदि शव वैधानिक रुपमा रहेको कामदारको भएको भए पठाउने खर्च मात्र होइन र क्षतिपूर्ति रकमसमेत रोजगारदाता कम्पनीले दिन्छ।' 


दूतावास अनुसार वैधानिक आप्रवासी कामदारलाई अवैध बनाउने साउदीमा विभिन्न समूह छन्। यस्ता समूहले बढी पारिश्रमिकको प्रलोभनमा कामदारलाई अर्को कम्पनीमा जान उक्साउँछन्। अर्को कम्पनीमा जाने कामदारले आफ्नो राहदानीदेखि अन्य कागजात पहिलेकै कम्पनीमा छोड्न बाध्य हुन्छ वा कम्पनीले दिन मान्दैन। 


अर्को कम्पनीमा जाँदा सुरुका दुईतीन महिना बढी तलब पाए पनि अवैध भएकाले पछि कम्पनीले पहिलेकोभन्दा कम तलब दिन थाल्छ। त्यस्ता कामदार अवैध रुपमा त्यही कम्पनीमा काम गर्न बाध्य हुन्छन्। 

साउदी अरब न्युजअनुसार त्यहाँ दर्ता भएका झन्डै ११ लाख निजी कम्पनीमध्ये ११ प्रतिशत मात्र भिसा झिकाउन दर्ता भएका छन् भने सञ्चालनमा भएका ३१ प्रतिशतमा सञ्चालनमा कुनै साउदी नागरिक कामदार छैनन्। हाल पाँच लाख हाराहारी नेपाली कामदार साउदीमा रहेको अनुमान छ। दुई करोड ७० लाख जनसंख्या रहेको साउदीमा ९० लाख विदेशी छन्। साउदीले यसअघि सन् १९९८ मा आह्वान गरेको ६ महिने (अप्रिल-सेप्टेम्बर) आममाफी कार्यक्रममा ९ लाख २० हजार ३ सय ७५ अवैध आप्रवासी कामदार स्वदेश फर्केका थिए।

Published on: 26 February 2013 | Nagarik

 

Back to list

;