s

साउदीबाट आममाफीमा ७३ सय नेपाली फर्किए

होम कार्की
 
साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफीमा ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । जसमध्ये ८० जना घरेलु कामदार महिला (हाउसमेड) छन् । गत मार्च २९ तारिखबाट लागू भएको आममाफी जुन २५ बाट सकिएको छ । 
 
रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको दमाम, रियाद र जेद्दाबाट गैरकानुनी हैसियतमा कार्यरत नेपाली बिनासजाय स्वदेश फर्केका हुन् । रियादबाट ४ हजार, दमामबाट २ हजार ५ सय र जेद्दाबाट ८ सय नेपाली फर्केका छन् । 
 
आममाफीमा सहभागी भएर १५ वर्षसम्म नेपाल फर्कन नपाएका कामदार पनि देश फर्किएको साउदीस्थित दूतावासले जनाएको छ । आममाफीमा देश फर्किन चाहनेलाई दूतावासले सहयोग गरेको थियो । नेपाल सरकारले त्यसका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । साउदीको आन्तरीक मन्त्रालयले ‘उल्लंघनबिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्षअघि दिइएको आममाफीमा ३२ हजार नेपाली कामदार सहभागी भएका थिए । 
 
‘गत मार्च १९ उता कम्पनी छाडेका कामदारलाई मात्रै स्वदेश फिर्ने अवसर दिइएको थियो । आममाफीको समय थपेको छैन,’ नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कान्तिपुरसँग भने, ‘हामीले कम्पनी छाडेर हिँडेका धेरै नेपाली छन्जस्तो लागेको थियो । त्यति धेरै भएजस्तो भएन ।’ उनले गैरकानुनी हैसियतमा बसेका कामदार सबै नफर्केको पनि जनाए । ‘यो एउटा अवसर थियो । यसमा सहभागी नहुनेलाई साउदीले जरिवाना लगाउने घोषणा गरेको छ,’ उनले भने, ‘साउदी अरबका कम्पनी छाडेर गैरकानुनी हिसाबले अर्को कम्पनीमा काम गरिरहेका, कम्पनीले भिसा नलगाई राखेका, कम्पनी बन्द भई स्वदेश फर्कन नपाएका जस्ता कामदारले आममाफी कार्यक्रममा फाइदा लिएका छन् ।’
 
ती कामदारलाई स्वदेश फर्काउन दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको थियो । दूतावासले अदालतमा केस भएका कामदार भने फर्किन नपाएको जनायो । ‘दूतावासले सकेसम्म अदालतमा गएर केस छिटो टुंग्याएर पनि पठाउन सकेको छ,’ उनले भने, ‘यसपालि अघिल्लो समयमा जस्तो धेरै कठिन भएन ।’ 
 
साउदीको राहदानी तथा अध्यागमन विभागले अनलाइनबाटै समय लिने व्यवस्था मिलाउँदा कामदारलाई सहज भएको थियो । नेपालमा म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार तलब, काम र सेवासुविधा नपाउँदा कामदार भाग्ने प्रवृत्ति रहेको बताए । ‘यहाँ पीडित कामदारलाई स्वदेश उद्धार गर्न हामी प्रयासरत छौँ । सम्पर्कमा आएकालाई कम्पनी नछोड्न अनुरोध गर्दछौं,’ उनले भने, ‘तैपनि चाहेको जस्तो नदेखेपछि कामदारहरू भागिरहेका हुन्छन् ।’ भागेका कामदारले जेल बसेर स्वदेश फिर्न निकै कठिनाइ भोग्दै आएका छन् । साउदीबाट जेल बसेर हरेक दिनजसो दुई दर्जन नेपाली फर्किरहेका थिए । साउदीमा झन्डै ६ लाख नेपाली कार्यरत छन् । त्यसको १० प्रतिशत कामदार गैरकानुनी हैसियतमा रहेको अनुमान गरिएको थियो । तीन वर्षअघि साउदीको आममाफीमा झन्डै २५ लाख आप्रवासी कामदार सहभागी भएका थिए ।
 
 Published on: 29 June 2017 | Kantipur

Back to list

;