s

साउदीबाट ११ वर्षपछि चण्डेश्वरको उद्धार

विष्णु घिमिरे

साउदी : नेपाली दूतावास रियादले ११ वर्षदेखि साउदीमा अलपत्र परेका धनुषा–९ का चण्डेश्वर मुखियाको उद्धार गरेको छ। वैदेशिक रोजगारको क्रममा २०१० मा साउदी पुगेका मुखिया सडक दुर्घटनामा परी विगत ११ वर्षदेखि साउदी अरेबियाको सहरस्थित मौवासत अस्पतालमा उपचारार्थ थिए।

सडक दुर्घटना लगत्तै २०११ देखि अस्पतालमा रहेका मुखियाको उपचार खर्च स्वाथ्य बिमा कम्पनीले दिन छोडेको थियो। कम्पनीले टाउकोमा गम्भीर चोट लागेका उनलाई धेरै लामो समयसम्म अस्पतालमा राखेर उपचार गराउँदा पनि खासै सुधार नआएपछि कम्पनीले उनको परिवारलाई राहत स्वरूप केही आर्थिक सहयोग गरेर नेपाल पठाउन चाहेको थियो। तर, परिवारले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेकोले उनलाई नेपालमा लगेर अस्पतालमा राख्ने अवस्था नरहेको बताएको थियो।

र, सम्बन्धित कम्पनीले स्वेदश फिर्ताका लागि २०१८ सम्म नेपाली राजदूतावासको सम्पर्कमा थियो। पछि कम्पनीले साउदीको श्रम कानुनबमोजिम रोजगारदाताले पूरा गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरेको र निज मुखियाको उपचारमा बिमाले कभर नगरेको धेरै ठूलो रकम समेत अस्पताललाई तिरेको तथा परिवारलाई केही आर्थिक सहयोग गर्छु भन्दा पनि बिरामी लिन नमानेको अवस्थामा सम्बन्धित कम्पनीले सहयोग दिन छाडेको थियो। सम्बन्धित कम्पनीले सम्पर्क गर्न छाडेपछि बिरामी अर्धचेत अवस्थामा रहेको हुँदा कसैले जिम्मा नलिँदासम्म अस्पतालले डिस्चार्ज पनि गर्न सकेन।

परिवारले पनि निजको जिम्मा लिएन र बीच–बीचमा राजदूतावासले बिरामीको परिवारलाई मनाउने प्रयास गरिरह्यो। तर, कम्पनी सम्पर्कमा आउन छोडेपछि बिरामीको उपचार खर्च स्वरूप अस्पतालको बिल पनि ४० लाख साउदी रियाल नाघिसकेको थियो। अस्पतालले मुखियाको अस्पतालको बिल जिम्मा लिन र निजलाई नेपाल लैजानका लागि नेपाली दूतावास समक्ष अनुरोध गर्‍यो। राजदूत निज चण्डेश्वर मुखियाको अस्पतालको बिल मिनाहाका लागि अस्पतालको उच्च व्यवस्थापनसँग नियोग उपप्रमुख प्रमुख दिलीपकुमार पौडेललगायत दूतावासका अन्य कर्मचारीस्तरमा धेरैपटक बैठक र छलफल पनि गर्यो। अस्पतालले चण्डेश्वर मुखियाको उपचार, बेड तथा नर्सिङ केयरबापत तिर्न बाँकी रहेको सम्पूर्ण रकम मिनाहा गर्यो।

निरन्तर छलफलपछि दूतावासको अनुरोधमा उपचारार्थ मुखियालाई स्वेदश फिर्ताका लागि एक जना नर्ससहित स्ट्रेटचरमा राखेर नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। र, दूतावासले उपचार्थ मुखियालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा हस्पिटलले देखाएको मानवीयताप्रति धन्यवाद समेत व्यक्त गरेको छ।

मुखिया २६ अगस्ट २०२२ का दिन नेपाल एयरलाइन्सबाट स्वेदश फिर्ता भएको वैदेशिक रोजगार बोर्डका कल्याण, पुनस्र्थापना तथा सञ्चार शाखा निर्देशक दीपक ढकालले बताए। उनले भने, ‘निकै मिहेनत गरी २६ अगस्टमा उद्धार गरेर चण्डेश्वरलाई स्वदेश ल्याएका छौं। अहिले उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था स्थिर नै छ। खासै सुधार आएको छैन। उपचार जारी छ।’

Published on: 1 September 2022 | Annapurna Post

Link

Back to list

;