s

साउदीबाट फर्केका युवा ७ महिनादेखि बेपत्ता

पूर्ण विके

साउदी अरबमा तीन वर्ष बिताएर फर्केका जेठो छोरा २६ वर्षीय सरोज श्रेष्ठ ७ महिना बितिसक्दा समेत अत्ताेपत्तो नपाएपछि व्यास ८ निवासी बावुआमा र श्रीमती रुँदै दिन बिताउन बाध्य छन् । उनीहरूले सरोजको खोजी गरिदिन प्रहरीमा निवेदनसमेत दिएका छन् । साउदीमा रहेका छोराको न्यास्रो लागेर भदौ ९ गते साउदीमा रहेका स्थानीय छिमेकी रोशन खनाललाई फोन गरी बुझ्दा घर गइसकेको भन्ने जानकारी पाएको ४५ वर्षीया आमा राधिकाले बताइन् । उनले भोलिपल्ट स्याम्घाको बिसौनीस्थित माइतीघर बस्दै आएकी बुहारी मैना र छोराको ससुराली पक्षलाई छोरा आए-नआएकोबारे सोधपुछ गर्दा नआएको खबर पाएपछि थप चिन्तित भएको बताइन् । 
 
'साउदीबाट काम गर्ने कम्पनीबाट नेपाल गइसकेको भन्ने जानकारी पायौं तर छोरा न घर न ससुराली कतै नआएपछि अन्योलमा छौं,' आमा राधिकाले भनिन्, 'ससुरालीबाट काठमाडौं पुगेर सोधखोज गर्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ७ गते नेपाल भित्रिसकेको भन्ने देखिएको जानकारी पायौं ।' सरोजका बाबु पूर्णबहादुरले छोरा विदेशबाट फर्किएको भनिए पनि कता गयो भन्ने केही जानकारी नपाएको बताए । उनले छोरा नेपालमा उत्रेको सात महिना भइसक्दासमेत घर नआउँदा थप चिन्तित बनाएको बताए । 'छोरालाई आफन्तले समेत देखेका छौं भनेर भनेका छैनन्,' बाबु पूर्णबहादुरले भने, 'बेपत्ता छोरा खोजिदिन प्रहरीमा निवेदन दर्ता गराएका छौं ।' सरोजकी श्रीमती मैनाले असार १५ गते श्रीमान्सँगको फोनमा साहुको ऋण तिर्न नसक्ने भएँ भन्दै अर्को कम्पनीमा लुकेर काम गर्ने सोंचमा आफू रहेकाले अब फोनसमेत नगर्न श्रीमान्ले भन्नुभएको जानकारी दिइन् । उनले फोन गरेको २३ दिनपछि श्रीमान् नेपाल फर्केको भन्ने जानकारी विमानस्थलको रेकर्ड देखिएपछि अन्योलमा परेको बताइन् । श्रीमान् सरोजको पासपोर्ट नम्बर २२०३४५९ रहेको मैनाले जानकारी दिइन् । उनले श्रीमान् विदेश गएको एक महिनापछि  जन्मिएकी छोरी सलिनालाई सम्भिmएर फोन गरिरहने श्रीमान् बेपत्ता हुँदा दिनरातै रोएर बित्ने गरेको बताइन् । उनले श्रीमान् विदेश उडेको म्यानपावर कम्पनीको नामसमेत आफूलाई थाहा नभएको बताइन् । 'श्रीमान् यसरी परिवार बिर्सिएर हराउने खालको मानिस होइन,' मैनाले आँसु पुछ्दै भनिन्, 'किन उहाँ आउनु भएन भन्दै विदेश पठाउने दलाललाई सोध्दा नेपाल आइसकेपछि हामीले केही गर्न सक्दैनौं भनेपछि झनै चिन्तित छु ।
 
बेपत्ता महिला मृत फेला
माधव अर्याल
पाल्पा एक महिनादेखि बेपत्ता रामपुर ५, बिजपुरकी २७ वषर्ीय सोनु श्रेष्ठ -खनाल) को शनिबार नदी किनारमा शव फेला परेको छ । उनी पुस ५ देखि बेपत्ता थिइन् । प्रहरीले बेपत्ता महिला नै भएको पुष्टि गरेको छ । रामपुर गाविसको परेवाघाट नजिकै बोराभित्र राखिएको अवस्थामा सोनुको शव फेला परेको हो । स्थानीय तीर्थकुमारी पौडेलका अनुसार ढुंगा र कागजपत्रसँगै शव राखेको अवस्थामा भेटिएको छ । गाई चराउन जानेले देखेर प्रहरीलाई खबर गरेका थिए । सोनुलाई श्रीमान् ओमबहादुर श्रेष्ठले हत्या गरेको आफन्तले आरोप लगाउँदै आएका थिए । प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न दबाब दिँदै आए पनि यसलाई चासो नदिएको आफन्तले बताएका छन् । आफन्तले भने श्रीमान्ले सम्पत्तिका लागि कुटपिट गर्ने गरेकाले हत्या गरेर फालेको आरोप लगाएका छन् । सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर पूर्वमा भएको घटनाको आफन्तजनले तीन पटक निवेदन प्रहरीमा दर्ता गर्दासमेत उनको खोजी हुन सकेको थिएन । सोनुकी दिदी निर्मला कुँवरका अनुसार लामो समयसम्म बेपत्ता हुँदासमेत कसैले खोजी नगरेपछि प्रहरीमा किटानी जाहेरी दिएको हो तर त्यसपछि पनि प्रहरीले कुनै वास्ता गरेको थिएन । दिदीको किटानी जाहेरीका आधारमा प्रहरीले ओमबहादुरलाई पक्राउ गरेर हिरासतमा लिए पनि २४ घन्टा नबित्दै मुक्त गरेको थियो । आफन्तले सोनुको खोज तलासका लागि पुस ११, १९ र २३ गते गरी तीन पटक इलाका प्रहरी कार्यालय रामपुरमा निवेदन दिएका थिए । बेपत्ता महिलाकी दिदी कँुवरले प्रहरीले आफूहरूको जाहेरीलाई कुनै मतलब नगरेको आरोप लगाइन् तर इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक चुराबहादुर कार्कीले भने खोजीका लागि मातहतका निकाय र जिल्ला प्रहरीमा समेत फोटोसहित पठाएको बताउँदै आएका छन् । 'बेपत्ता श्रीमती खोजी गर्छु र सात दिनको म्याद चाहियो' भनेपछि ओमबहादुरलाई प्रहरीले छाडेको थियो । 
Published on: 20 January 2013 | Kantipur

Back to list

;