s

साउदी राजाद्वारा सवै विदेशीको निःशुल्क उपचार गर्न आदेश

मुकुन्द गैरे

काठमाडौं, चैत्र १८ गते ।साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निःशुल्क उपचार गर्ने आदेश दिनुभएको छ ।

साउदीमा रहेको नेपाली राजदूतावासले हिजो सोमवार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

साउदी अरबका दुई पवित्र मस्जिदहरुका संरक्षक साउदी राजा सलमानले साउदी अरबमा ओभरस्टे भएका लगायत सबैलाई कोरोना संक्रमणसँग सम्बन्धित उपचार निःशुल्क गर्न आदेश जारी गर्नुभएको दूतावासले जानकारी दिएको हो ।

यो आदेशबाट साउदी अरबमा भिषा कानून उल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन् ।

साउदी राजाको आदेशसँगै साउदीका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन सकिने बताउनुभएको छ ।

सोमबार साउदीले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १४५३ पुगेको छ ।

सोमबार थप १५४ जनामा संक्रमण भएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ११५ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट निधन भएको छ । प्राप्त जानकारी अनुसार हिजो सम्म नेपालीहरूमा संक्रमण छैन ।

राहदानी नवीकरण गर्ने आवेदन भर्न राजदूतावास आउनका लागि साउदीका विभिन्न स्थानमा रहेका केही नेपालीहरुले दैनिक जसो फोन गरिरहेको पनि दूतावासले बताएको छ ।

राहदानीको म्याद ८–९ महिना भन्दा बढी भएका र राहदानीमा पेज बाँकी भएका नेपालीहरुले राहदानी नवीकरणका लागि हतार गर्नु आवश्यक नरहेको दूतावासले जानकारी दिएकोे छ ।

कोरोना भाइरसका कारण सिर्जना भएको हालको अवस्था सामान्य भएपछि नेपाली राजदूतावासले राहदानी आवेदनमा सहजहुने गरी व्यवस्था गर्ने पनि जानकारी दिएको छ ।

Published on: 31 March 2020 | Gorkhapatra

Link

Back to list

;