s

साउदी फर्कन नपाएका नेपालीको भिसा अवधि रोजगारदाता कम्पनीले बढाउन पाउने

मुकुन्द गैरे

काठमाडौं, चैत्र २१ गते । साउदीमा रोजगारीबाट विदामा नेपाल आएका तर अन्तराष्ट्रिय हवाई सेवा बन्द भएको कारण पुनः साउदी अरब फर्कन नसकेर नेपालमै रोकिएका नेपालीको रोजगारदाता कम्पनीले नै भिसाको अवधि बढाउन सक्ने भएको छ ।

साउदीमा रहेको नेपाली कन्सुलेट जनरल जेद्दाले विहीवार एक अपिल जारी गदै उक्त कुरा जानकारी गराएको हो । भिसाको म्याद बढाउन परे रोजगारदाता कम्पनीलाई फोन गरेर भिसाको म्याद बढाउन अनुरोध गर्न सकिने भएको हो ।

कुनै नेपालीको परिवार साउदी बाहिर गएर रोकिएको अवस्था छ भने परिवारको प्रमुखले साउदी परराष्ट्र मन्त्रालयको बिद्युतीय पोर्टलमा गएर अनलाइनबाट नै भिसाको म्याद बढाउन सक्ने व्यवस्था गरेको कन्सुलेटले बताएको छ ।

यसमा कसैलाई अप्ठेरो परेमा कन्सुलेटको नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ । ाउदी अरबमा रहेका नेपाली नागरिकमा कोरोना संक्रमण भएको हालसम्म जानकारी नभएको समेत कन्सुलेटले स्पष्ट पारेको छ ।

साउदीमा रहेका नेपालीलाई उच्च मनोवलका साथ बसिदिन कन्सुलेटले आग्रह गरेको छ । संकटको यस घडिमा नेपाली कन्सुलेट जनरल साथमा रहेको पनि बताएको छ ।

कसैलाई कोरोना भाइरसको लक्षण देखिएको शंका लागेमा तुरुन्त साउदी हेल्थ सर्भिस सेन्टर सहित नेपाली कन्सुलेटको नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

कोरोना भाइरसबाट साउदीमा अप्रिल २ सम्म १७२० जना संक्रमित भएका छन् १६ जनाको मृत्यु भएको र २६४ जना भाइरसमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको कन्सुलेटले जानकारी दिएको छ ।

साउदी सरकारले अवलम्बन गरेका उच्च सावधानीका निर्देशनहरुको पालना गरी पूर्ण सुरक्षित रहन सबै नेपालीलाई कन्सुलेट जनरल अपिल गरेको छ ।

Published on: 3 April 2020 | Gorkhapatra

Link

Back to list

;