s

साउदी अरबमा कोरोना भाइरसबाट चार नेपाली संक्रमित

नेपालीहरूको वैदेशिक रोजगारीको मुख्ख गन्तव्यमध्येको एक खाडी मुलुक साउदी अरेबियामा रहेका चार नेपाली नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । साउदी स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चारजना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको साउदी अरबस्थित नेपाली राजदूतावासले जनाएको छ । 

आइतबार साउदी अधिकारीहरूले जारी गरेको तथ्यांकअनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई हजार तीन सय ८५ छ । त्यस्तै, गएको करिब ४८ घन्टाको अवधिमा तीन सय ४६ भन्दा बढी  संक्रमित भएको राजदूतावासले जनाएको छ । 

राजधानी रियादमा आइतबार मात्र ६६ जना नयाँ संक्रमित भएका छन् । हाल कुल संक्रमितमध्ये चार सय ८८ जना निको भएका छन् । 

साथै, आइतबार पाँचजना संक्रमितको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या ३४ पुगेको छ । 

२४ घन्टे कर्फ्यु

कोरोना भाइरसको संक्रमण फैलिन नदिन साउदी सरकारले शनिबारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्रमा २४ घन्टे कर्फ्यु जारी गरेको साउदीको गृह मन्त्रालयले जनाएको छ । 

त्यसैले सो क्षेत्रमा रहेका नेपालीले कर्फ्युको आदेशलाई पूर्ण पालना गर्न नेपाली राजदूतावासले अनुरोध गरेको छ । 

सरकारले तोकेका स्वास्थ्यसम्बन्धी क्षेत्र र स्थानीय अधिकारीहरूले अनुमति दिएको अत्यावश्यक सेवाबाहेक कुनै पनि बहानामा बाहिर ननिस्कन नेपाली राजदूतावासले त्यहाँ रहेका सबै नेपालीमा आग्रह गरेको छ । 

आवासीय परिचयपत्र नवीकरण हुने

कोरोना भाइरसबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै साउदी सरकारले आवासीय परिचयपत्रको म्याद सकिएका विदेशी नागरिकको तीन महिनाका लागि स्वत: नवीकरण हुने जनाएको छ । 

साउदीको राहदानी निर्देशकको कार्यालयले यस्तो व्यवस्था भएको जानकारी दिएको हो । 

त्यस्तै, १८ मार्च २०२० वा सोपछि परिचयपत्रको म्याद सकिएकाहरू र ३० जुन २०२० सम्म म्याद सकिनेहरूका लागि यो सुविधा उपलब्ध हुने नेपाली राजदूतावासले जनाएको छ । 

यस व्यवस्थाले साउदीभित्र र बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ । 

नेपाली राजदूतावासका अनुसार धेरै कम्पनीले अत्यन्त न्यून जनशक्तिलाई मात्र काम गराइरहेका छन् भने कतिपय पूर्ण रूपमा बन्द भएका छन् ।

त्यसैले आफू कार्यरत कम्पनीमा उपलब्ध संक्रमणसम्बन्धी सुरक्षाका सबै उपायहरूलाई अनिवार्य रूपमा उपयोग गर्न र हेलचेक्रयाइँ नगर्न दूतावासले सबै नेपालीमा अनुरोध गरेको छ । 

हाल साउदी अरबमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत रहेका छन् ।

Published on: 6 April 2020 | Nayapatrika

Link

Back to list

;