s

साउदी अरबमा अनिश्‍चितकालका लागि कर्फ्यु जारी

कान्तिपुर संवाददाता 

काठमाडौँ — साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ । यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन् । 

साउदीमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि कर्फ्यु जारी भएको हो । यसअघि मुस्लिम धर्मालम्बीको प्रमुख तीर्थस्थल मक्का र मदिनामाका साथै राजधानी रियादमा पनि कर्फ्यु जारी भएको थियो । बिहीबार मात्रै साउदीमा १६५ जनामा काेराेना पोजिटिभ देखिएको थियो ।  

रियादस्थित नेपाली दूतावासले यो क्षेत्रमा रहेका नेपालीले कर्फ्युको समयलाई पूर्ण पालना गर्न अनुरोध छ । ‘सरकारले तोकेका स्वास्थ्य म्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ,’ दूतावासद्‍वारा जारी विज्ञप्तिमा भनिएको छ । 

शुक्रबार दिउँसोसम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १८८५ पुगेको छ । बिहीबार मक्का, मदिना र जेद्दा क्षेत्रमा मात्रै १२४ जनामा संक्रमण पुष्टि भएको थियो । कुल संक्रमितहरुमध्ये हालसम्म ३२८ जना निको भएका छन् भने २१ जनाको मृत्यु भइसकेको छ । साउदीमा कार्यरत नेपाली नागरिकमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

Published on: 3 April 2020 | Kantipur

Link

Back to list

;