s

साउदी अरबमा २४ घण्टे कर्फ्यु जारी

कान्तिपुर संवाददाता 

काठमाडौँ — साउदी अरबमा कोरोना भाइरसको संक्रमण बढेपछि सोमवार रातिदेखि २४ घण्टे कर्फ्यु जारी गरिएको छ । साउदीमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ५ सय २३ पुगिसकेको छ । 

रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको प्रमुख प्रान्त रियाद, ताबुक, दमाम, दहरान, हाफुफ, जेद्दा, तैफ, कतिफ र अलखोवरमा अर्को सुचना जारी नभएसम्मको लागि २४ घण्टे कर्फ्यु लगाइएको हो । मक्का र मदिनामा भने गत बिहीबारदेखि नै लागू गरिएको थियो । 

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बिहान ६ बजेदेखि ३ बजेभित्र भने खाद्यान्‍न र औषधि खरिद गर्न भने खुल्ला रहेको वताए । मेडिकल, खाद्यान्‍न आपूर्ति, ग्याँस स्टेसन, बैंकिङ, मर्मतसम्भार, प्लम्बर, बिजुली बत्ती, एसी मेकानिक, पानी र फोहोर पानी बोक्ने ट्याङ्कर चालकलाई भने लागू हुँदैन । 

दूतावासले खाद्यान्य र औषधी खरिद गर्नको लागि बाहिर निस्कदा अनिवार्य रुपमा साउदी परिचय पत्र बोक्न नेपाली समुदायलाई आग्रह गरेको छ । 

साउदीमा कार्यरत नेपाली कामदारले पुरै लकडाउन वा कर्फ्यु जारी नगर्दा आफूहरु जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । सोमबारसम्म उनीहरु असुरक्षित रुपमा कम्पनीहरुले काममै लगाइरहेको थियो । ‘मैले दैनिक झन्डै २५० वटा गाडी धुनुपर्दथ्यो । टाढा टाढाबाट आएका गाडीभित्रको फोहोर, प्रयोग गरिएका पन्जा र मास्कहरु गाडीबाट निकाल्नु पर्दथ्यो । यो कर्फ्युले हामीजस्ता कामदारलाई ठूलो राहत दिएको छ’, नरेन्द्र खड्काले भने,‘बल्ल सुरक्षित भएको महसुस गरेका छौं ।’ 

साउदीमा सोमबारसम्म ४ जना नेपाली संक्रमित भएका छन् । 

सोमबार पनि साउदीमा थप १३८ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरुमध्ये हालसम्म ५२१ जना निको भएका छन् । ३८ जनाको मृत्यु भएको छ । 

पछिल्लो एकसाता साउदीमा देखिएको संक्रमितको सख्या

चैत २४ : १३८

चैत २३ : ३४६

चैत २२ : १४०

चैत २१ : १५४

चैत २० : १६५

चैत १९ : १५७

चैत १८ : ११०

Published on: 7 April 2020 | Kantipur

 

Link

Back to list

;