s

साउदी र ओमनमा रोजगारको क्षेत्र कटौती

होम कार्की

आफ्ना नागरिकलाई रोजगारको व्यवस्था गर्न साउदी अरब र ओमनले विभिन्न क्षेत्र र पेसामा विदेशी कामदार राख्न नपाउने नीति ल्याएको छ । साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विदेशीले अवसर नपाउने भएका हुन् । साउदीले १२ वटा क्षेत्र र ओमनले ८७ वटा पेसामा विदेशी कामदार राख्न नपाउने नीति लागू गरेको हो ।

साउदीको श्रम तथा सामाजिक विकासमन्त्री अली अल घफिसले आउँदो सेप्टेम्बरदेखि नियम लागू हुने जानकारी दिएका हुन् । घडी, चस्मा, मेडिकल औजार तथा उपकरणहरू, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक उपकरणहरू, गाडीका पार्टपुर्जा, निर्माण सामग्री, कार्पेट,गाडी तथा मोटरसाइकल, घर तथा कार्यालयका फर्निचर, बच्चाका लुगाफाटा तथा पुरुषका सरसामान, घर तथा भान्सामा प्रयोग हुने भाँडाकुँडा र चकलेट बेच्ने पसलमा विदेशी कामदार राख्न नपाउने निर्णय लिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
 
मन्त्रीस्तरको यो निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्रालयका प्रवक्ता खालिद अवलखालीले बताए । यसअघि जनवरीदेखि नै साउदीले १९ वटा पेसामा विदेशी कामदारको भिसा नवीकरणमा रद्द गर्नुको साथै नयाँ आपूर्ति बन्द गरिसकेको छ ।
 
यी पसलमा धेरैजसो नेपालीसहित विदेशी कामदार रहेको साउदीमा कार्यरत काठमाडौंका महेश श्रेष्ठ बताउँछन् । ‘साउदीका आफ्ना नागरिकलाई रोजगारका अवसर बढाउँदा नेपालीजस्ता विदेशी कामदारको रोजगार खोसिन पुगेको छ,’ उनले भने, ‘यी क्षेत्रमा कार्यरत कामदारको भविष्य के हुन्छ भन्नेमा अन्योलमा छ ।’
 
साउदीको श्रम बजार लेवरमा केन्द्रित हुनुको साथै ठूला प्रोजेक्ट लागू नभएपछि नयाँ कामदारसमेत गएका छैनन् । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ६ महिनामा ५९ हजार कामदार साउदी गएका थिए । गत वर्ष यसै अवधिमा ७८ हजार कामदार साउदी गएका थिए ।
 
ओमनका जनशक्तिमन्त्री अब्दुल विन नासिर विन अब्दुल्लाह अल बर्खीले ८७ पेसाका लागि आगामी ६ महिनाका लागि नयाँ भिसा जारी नगर्ने निर्णय लिएका छन् । मन्त्री बर्खीले सूचना प्रणाली, मिडिया, प्रविधि, हवाई उडान, लेखा र अर्थ, इन्जिनियर, बिमा, मार्केटिङ, मेडिकल र मानव संसाधन क्षेत्रका ८७ पेसाका लागि भिसा जारी नगर्ने जानकारी दिए।
 
यी पेसामा झन्डै २५ हजार ओमनी नागरिकलाई व्यवस्थापन गर्ने ओमन सरकारको योजना छ । ‘नयाँ कामदारका लागि भिसा जारी नगर्ने भएकाले हामी पुरानालाई असर पर्छ जस्तो लाग्दैन,’ १२ वर्षदेखि ओमनमा इन्जिनियरको काम गर्दै आएका एक नेपालीले भने, ‘हाम्रो आवासीय भिसा नै नवीकरण नगरेमा फर्कनुको विकल्प छैन ।’ ओमनले आफ्नो राजस्व वृद्धिका लागि विदेशी कामदारको सवारी चालक अनुमति हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने निर्णयसमेत गरेको छ । यसअघि १० वर्षमा मात्रै नवीकरण गर्नुपथ्र्यो ।
 
Published on: 31 January 2018 | Kantipur

Back to list

;