s

साउदी र ओमनमा ५६ कामदार अलपत्र

वैदेशिक रोजगारका लागि साउदी अरेबिया र ओमन पुर्‍याइएका ५६ कामदार अलपत्र परेका छन् । साउदीमा ४२ र ओमनमा १४ जना समस्यामा परेका हुन् । साउदीस्थित गैरआवासीय नेपाली संघका सचिव डोरबहादुर कार्कीले अलपत्र परेका ४२ जना एकै व्यक्तिद्वारा ल्याइएका भएको बताए । उनले ती व्यक्तिहरूलाई रियाद, खोबर र दमाममा कामविहीन अवस्थामा राखिएको जानकारी दिए । तीमध्ये १० जनालाई रियादस्थित नेपाली दूतावास बाहिर एक रात बसेपछि दूतावासको पहलमा कम्पनीले लिएर गएको छ ।

'तीन महिनासम्म काम गर्दा पनि तलब नपाएको र परिचयपत्र नबनेपछि उद्धारको पहल गरिदिन कामदार आएका थिए,' उनले भने, 'एकरात बाहिरै बसेपछि दूतावासले कम्पनीमा पठाएको थियो ।'

दूतावासले कामदार ल्याउने कमल खरेललाई १० दिनभित्र समस्या समाधान गर्न समय दिएको छ । खरेलले यो समयभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ती कामदारहरू १ लाखदेखि १ लाख १५ हजार तिरेर सामान्य मजदुरी गर्न गएका हुन् ।

यसैगरी ओमनको इब्रास्थित नसिस इब्रा टे्रडि्रङ एलएलसीमा काम गर्न गएका १४ जना तीन महिनादेखि काम र तलबविहीन अवस्थामा बसिरहेका छन् । 'कम्पनीबाट तलब र काम दुवै नपाएपछि कामदारले राजीनामा दिएर बसिरहेका छन्,' एनआरएन ओमनका उपाध्यक्ष दीपक श्रेष्ठले भने, 'उनीहरूलाई खाना पनि कम्पनीले दिएको छैन ।'

अलपत्र पर्नेमा पाल्पाका रिकमान विक, धनुषाका सुरेन्द्र यादव, नरेन्द्रकुमार शाह अण्डल चमार,  बकिल मण्डल, सिरहाका सत्यनारायण पासवान, जोगेन्द्र ठाकुर, नगेश्वर सदा, दिलीप साफी, विश्वेश्वर सादा, दाङका लालबहादुर थापा, कास्कीका बाबराम दमाई, सिन्धुलीका कलमसिंह वाइबा, महोत्तरीका जयनारायण खातुगे रहेका छन् । उनीहरू वसुन्धरास्थित गुरुङ म्यानेजमेन्ट ओभरसिजबाट एक वर्षअघि गएका थिए । 'ती कामदार छिटोभन्दा छिटो उद्धार हुन चाहन्छन्,' उनले भने, 'त्यसका लागि हामीले साउदीस्थित नेपाली दूतावासलाई अनुरोध गरेका छौं ।'  ओमनमा नेपाली कामदारको सख्या बढे पनि दूतावास स्थापना हुन सकेको छैन । साउदीको दूतावासबाटै ओमन हेर्दै आइरहेको छ । यसबारे त्यस ओभरसिजका प्रबन्धक निर्देशक विजय लामासँग सम्पर्क हुन सकेन ।

Published on: 31 August 2011 | Kantipur

Back to list

;