s

साउदी प्रहरीद्वारा ५० हजार बढी आप्रवासी पक्राउ, एकै ठाउँमा १५० नेपाली समातिए

आममाफीको समायावधि सकिए लगत्तै ५० हजार बढी आप्रवासीहरुलाई साउदी प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुमा सयौं नेपालीसमेत छन्। यहाँको जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दमामको सिको गार्डेनबाट मात्रै ५ सय बढीलाई पक्राउ गरेको र त्यहाँ पक्राउ परेकामा १ सय ५० जना भन्दा बढी नेपालीहरु रहेका छन्।

उक्त स्थानबाट नेपालीहरु पक्राऊ परेको आधिकारी पुष्टि समेत भएको छ। पूर्वक्षेत्रका लागि दूतावासका प्रतिनिधि हरि घिमिरेले सो कुरा पुष्टि गर्दै पक्राऊ परेका मध्ये ७० जनालाई प्रहरीले कानुनी कार्वाहीको प्रक्रिया चलाएको समेत उनेले जानकारी दिए। त्यहाँ आममाफीको प्रक्रिया अन्तर्गत रहेका र आममाफी प्रक्रियामा समेत नपरेका नेपालीहरुको एउटा समूह बस्दै आएका थिए। साउदी प्रहरीले अन्य क्षेत्रबाट कति नेपालीलाई पक्राऊ गर्‍यो थप जानकारी भने प्राप्त हुन सकेको छैन।

विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार बुधबारसम्ममा साउदी प्रहरीले धरपकड गर्ने क्रममा यमनको सीमा नजिक जीजानबाट मात्रै १३ हजार बढीलाई पक्राउ गरेको थाहा भएको छ। त्यसैगरी पुरानो राजधानी जेद्धाबाट ७ हजार ८ सय १९, उत्तरी प्रान्तबाट ६ हजार ८ सय ७४, मक्काबाट ५ हजार ५ सय १,  नजरानबाट १ हजार १ सय ८७, रियादबाट १ हजार ५ सय ९, मदिनाबाट १ हजार ५ सय ५० र कासिमबाट २ सय ९७, हैलबाट २ सय १ अन्य स्थानबाट पनि पक्राऊ गरिएको जानकारी आइरहेको भएपनि संख्या भने प्राप्त भएको छैन।

पछिल्लो जानकारी अनुसार साउदी प्रहरीले आप्रवासी अवैध कामदारहरु ५० हजार बढीलाई पक्राउ गरेको अनुमान छ। आममाफीको प्रक्रियामा नपरेका अवैध आप्रवासीहरुको संख्या एक लाख बढी रहेको अनुमान छ। प्रहरीले अहिलेसम्म सडकमा यात्रा गरिरहेका र सामूहिक बसोबास रहेको स्थानबाट मात्रै धरपकड गरिरहेको छ। केही दिनपछि भने आवासगृहमा समेत छापामारेर पक्राउ गर्ने योजना रहेको बुझिएको छ। त्यसक्रममा उनीहरुले सबै भन्दाबढी बंगलादेशीहरु र भारतीयहरुको आवासीय स्थानलाई प्राथमिकताको सूचिमा राखेको थाहा भएको छ।

बंगलादेशी र भारतीयहरुले ठूलाठूला घर नै बहालमा लिएर आप्रवासी कामदारहरु राख्दै आएकाले उनीहरुलाई बढी मध्यनजर गरिएको हुनसक्ने अनुमान छ । नेपालीहरुको अवस्था भने त्यस्तो नभए पनि बेरोजागर र अवैध भएका नेपालीहरु सडकमा आउन बाध्य भएकाले प्रहरीले चाँडै उनीहरुलाई पक्राऊ गर्ने अथवा प्रहरी समक्ष आफै आत्म समर्पण गर्नु पर्ने बाध्यता रहेको छ। साउदी प्रहरीले अन्य आप्रवासीहरुको तुलनामा नेपालीहरुलाई केही नरम व्यवहार गरेको र सोही अनुरुप उनीहरुलाई चाडै कानुनी प्रक्रियामा ल्याउने समेत गरेको पाइएको छ। यसअघि आममाफीकै अवधिमा पनि दमामबाट मात्रै साउदी प्रहरीले नेपालीहरुलाई नेपाल फर्काउने क्रममा ६ सय ४३ जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराएर सहयोग गरेको एक पदाधिकारीले जानकारी दिए।

तिनै पदाधिकारीका अनुसार नेपालीहरुले अवैध भएर लुकिछिपि बस्नु भन्दा नजिकैको प्रहरी कार्यालयमा आत्मसमर्पण गरे साउदी सरकारले सहज र सरल कानुनी प्रक्रिया अपनाएर चाडै नेपाल पठाउने विश्वास दिलाए। उनैका अनुसार साउदी सरकारले यहाँ प्रवेश गर्दा फिंगर प्रिन्ट समेत नगरेका र कुनै पनि प्रकारको कानुनी कागजात नभएकाहरुलाई भने यहाँबाट फर्काएपछि कहिल्यै साउदी प्रवेश नदिइने बताए। तर अन्यका सवालमा भने निश्चित अवधिसम्मका लागि प्रवेशज्ञा नदिइए पनि भविष्यमा उनीहरुले साउदीमा रोजगारका लागि आउन पाउने पनि जानकारी दिए। कानुनी प्रक्रिया पुरा गरिसकेपछि एक्जिट भिसा लागेकाहरुले हवाई जहाजबाट लैजान पाउने सुविधा अनुसारको सामाग्री पनि साथमा लैजान कुनै कानुनी बाधाअडचन नभएको पनि उनले बताए।

नेपाली राजदूत उदयराज पाण्डेले आममाफीमा नपरेर अवैध भएका नेपालीहरुलाई दूतावास सहयोग गर्न तयार रहेको फोन सम्पर्कको क्रममा जानकारी दिए। राजदूत पाण्डेले प्रवासी नेपालीहरुलाई सहयोग गर्न तत्पर रहेको बताए पनि दूतावासले आफ्नो वेबसाइटमा सार्वजनिक गरेका दूतावासका पदाधिकारीहरु भने फोन सम्पर्क मै नआउने गरेको गुनासो पीडितहरुले गर्दै आएका छन्।

Published on: 7 November 2013 | Nagariknews.com

Back to list

;