s

साउदी, ओमान र बहराइन जाने कामदारलाई थप १० डलर भार

साउदी अरब, ओमान र बहराइन जाने कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानि गर्नुपर्ने भएको छ । खाडीको अर्को रोजगार गन्तव्य यूएईले असल चाल–चलनको पुलिस रिपोर्ट अनिवार्य गरेर नेपाली कामदारहरुलाई आर्थिक भारसहित सास्ति दिइरहेको बेला साउदी अरब, ओमान र बहराइन जाने कामदारले पनि सास्ति बेहोर्नुपर्ने भएको हो ।
 
अब साउदी अरब, ओमान र बहराइन जाने कामदारले अनलाइनमा आवेदन भरेर त्यसैका आधारमा तोकिएका मेडिकल सेन्टरमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । नेपालसहित इण्डोनेसिया र श्रीलंकामा खडा गरिएका गाम्का संस्था खारेज गरेको गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)ले कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइनमार्फत जीसीसी स्लिप जेनरेट गरी आफूलाई पायक पर्ने स्थानको छनोट गरी मेडिकल स्वास्थ्य परीक्षण गर्न पाउने छन् । यस वापत जीसीसीलाई रजिष्ट्रेशन वापत अनलाइनबाटै १० डलर करिव नेपाली १ हजार ४० रुपैयाँ भुक्तानि गर्नुपर्छ । यसका अतिरिक्त स्वास्थ्य परीक्षणका लागि पुरानै ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।
 
गाम्काले सन् २०१६ देखि नै यस वापत १० डलर माग गरिरहेको थियो  तर, अर्थमन्त्रालयले १० डलर दिन गाम्कालाई अनुमति नदिएको कारण रोकिएको थियो । नयाँ व्यवस्था अनुसार नेपाली कामदारको वार्षिक रुपमा अर्बौं रकम वाहिरिने छ ।
 
जोखिम पूर्ण र न्यून तलवमा रोजगारीका लागि जान लागेका कामदारलाई जीसीसीले अनावश्यक झन्झट दिएको भन्दै म्यानपावर व्यवसायीले असन्तुष्टि जनाएका छन् । कार्डको नाममा आफ्नो नागरिकता वा परिचयपत्र मात्र देखेका अधिकांश कामदारलाई डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानि गर्न सक्ने अवस्थासमेत नभएको व्यवसायीहरुको भनाइ छ ।
 
Published: 3 March 2018 | Madhyanha

Back to list

;