s

साउदीमा ज्यान गुमाएका ४१ जनालाई २१ करोड क्षतिपूर्ति

गोपाल साउद

४१ जना मृतकको ब्लडमनीसम्बन्धी मुद्दामा साउदी अदालतको फैसला

साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपूर्तिबापत प्राप्त गर्ने भएका छन् । साउदीस्थित नेपाली दूतावासले आव ०७४/७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्दा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो । त्यसबापत जम्मा २१ करोड रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाइसकिएको साउदीस्थित नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंहले जानकारी दिए ।
 
त्यसमध्ये १८ जना कामदारका आफन्तले ब्लडमनीबापत प्राप्त गर्ने रकम साउदीस्थित नेपाली दूतावासले नेपाल पठाएको छ । दूतावासले कानुनी हकवालाले पाउने गरी क्षतिपूर्ति रकम परराष्ट्र मन्त्रालयको नाममा बिहीबार पठाएको हो ।
 
ब्लडमनी दाबी लाग्ने मुद्दामा दूतावासले पीडित परिवारका तर्फबाट ७५ वटा मुद्दा दर्ता गरेको थियो । मुद्दाको किनारा लगाउन राजधानी सहरबाट निकै टाढाका अदालतमा धाउनुपर्ने, ती स्थानमा नियमित सम्पर्क गर्नुपर्ने कारण दुर्घटनाका विषयले लामो समय लिने गरेको राजदूत सिंहले बताए । तर, त्यसबापत दूतावासले कुनै शुल्क नलिएको दूतावासको भनाइ छ । गत आर्थिक वर्षमा ब्लडमनी दाबी लाग्ने मुद्दाको फस्र्योटमा उल्लेखनीय सफलता प्राप्त भएको दूतावासको भनाइ छ ।
 
दूतावासले गत आर्थिक वर्षमा सडक तथा सवारी दुर्घटनामा ज्यान गुमाएका ४१ जना मृतकको ब्लडमनीसम्बन्धी मुद्दा अदालती प्रक्रियामार्फत टुंगो लगाएको थियो । त्यस्तै बाँकी २३ जनाको फैसलाअनुसारको रकम असुल गर्ने प्रक्रियामा रहेको र ३४ जनाको मुद्दा चलिरहेको दूतावासले जानकारी दिएको छ ।
 
दूतावासका अनुसार अन्य ५ सय ८६ मुद्दा भने अध्ययनको क्रममा रहेका छन् । ती मुद्दासमेत प्रक्रिया पु-याएर क्रमशः अदालतमा दर्ता गरिनेछ । साथै, बिमा रकमको दाबी गर्दै सम्बन्धित क्षेत्रको गोसी कार्यालयहरूमा नियमित सम्पर्क गर्ने कार्य भइरहेको छ ।
 
व्यक्तिपिच्छे ब्लडमनी रकम किन फरक ?
 
साउदी अरबको प्रचलनअनुसार मृतकको धार्मिक आस्था र घटनामा मृतकको गल्तीको हिस्सासँग ब्लडमनीको रकम निर्भर हुने भएकाले ब्लडमनी फरक–फरक हुन गएको दूतावासले स्पष्ट पारेको छ ।
 
Published on: 10 August 2018 | Naya Patrika

Back to list

;