s

साउदी जेलबाट १०४ नेपाली छुटे

होम कार्की

साउदी अरबको दमामस्थित जेलमा थुनिएका नेपालीमध्ये एकै दिन एक सय चार जना नेपाली कामदार छुटेका छन् । जेलबाट छुटेका नेपालीलाई प्रहरीले स्वदेश फिर्ता गरेको छ ।

शुक्रबार छुटेका ती कामदार संयुक्त अरब इमिरेट्सको दुबईमा २२ घन्टा लामो ट्रान्जिट बसी शनिबार मध्यरात काठमाडौं आइपुगेका हुन् । स्वदेश आइपुग्दा अधिकांश बिरामी परेका थिए । 'हामी १ सय ४ जना नेपाली छुट्न सफल भयौं,' सात महिना जेल बसेका रोल्पाका धनबहादुर ओलीले कान्तिपुरलाई भने, 'निकै लामो प्रयासपछि छुट्न पाएका हौं ।' छुट्नेहरू तीनदेखि सात महिनासम्म जेल बसेकाहरू छन् ।

वैदेशिक रोजगारका लागि साउदी पुगेका उनीहरू 'गैरकानुनी हैसियत' भएपछि जेल परेका हुन् । स्पोन्सर (साउदी ल्याउन अनुमति दिने कम्पनी वा व्यक्ति) लाई छाडेर अरू ठाउँमा काम गरेलगत्तै गैरकानुनी हैसियत हुन्छ । त्यस्ता कामदारलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ ।

ओलीका अनुसार त्यस जेलमा नेपाली कामदार मात्रै करिब ९०० छन् । साउदीको रियादस्थित नेपाली दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले गैरकानुनी कामदारसँग राहदानी नहुने हुँदा त्यस जेलमा रहेकामध्ये झन्डै पाँच सय जनालाई ट्राभल डाकुमेन्ट जारी गरेको बताए । 'भाग्नु मात्रै गल्ती हो । तैपनि निकै दुःखकष्ट भोगेर महिनौंसम्म जेलमा कोचियौं,' मोरङका कुमार तामाङले भने, 'समयमै दूतावासले पहल नगरिदिँदा तनाव झेल्नुपर्‍यो ।'

पीडितले नेपालमा गरिएको श्रमसम्झौता अनुसारको काम, तलब र सेवासुविधा नभएपछि बाध्य भएर भाग्नुपरेको बताए । जेलबाटै सीधै स्वदेश पठाएकाले धेरैजसो एकसरो कपडामा थिए । 'जो-जो साथीले विमानस्थलमा आफ्नो सामान पाए, उनीहरूले मात्रै केही सरसामान ल्याउन पाए,' एकसरो कपडामा आएका तामाङले भने, 'त्यसबाहेक अरू रित्तो हात आउनुपर्‍यो ।' उनका अनुसार जेलमा खान, बस्न र औषधिसमेत खान समस्या भएकाले धेरै जना बिरामी परेका हुन् । साउदीले डिपोर्ट गरेर पठाएको ती कामदारहरू अब फेरि कामका लागि साउदी जान पाउँदैनन् ।

दूतावासले साउदीका विभिन्न जेलमा धेरै कामदार भएको र टाढा-टाढा गएर नियमित काम गर्न समस्या भएको जनाएको छ । 'साउदीबाट स्वदेश फिर्न पनि भिसा चाहिन्छ । गैरकानुनी कामदारलाई स्वदेश फिर्नुअघिको प्रक्रिया निकै झन्भटिलो छ,' उपनियोग प्रमुख घिमिरेले भने, 'सबै प्रकारको अनुसन्धान सकेपछि टा्रभल डकुमेन्ट जारी गरिरहेका छौं ।'

Published on: 5 September 2011 | Kantipur

Back to list

;