s

साउदी जान टिकट काटेका पाल्पाका विक्रम पंगेनी विमानस्थलबाटै सम्पर्कविहीन

१४ पुस, बुटवल । साउदी अरब जान भनी पाल्पाबाट काठमाडौं पुगेका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् ।

पूर्वखोला गाउँपालकिा-१ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी यही पुस तीन गते मंगलबार घरबाट काठमाडौं पुगेपछि सम्पर्कविहीन भएका हुन् ।

११ दिनसम्म छोरा सम्पर्कमा नआएपछि खोजी कार्यमासहयोग गरिदिन विक्रमका बुबा जगन्नाथ पंगेनीले सम्बन्धित निकायसँग अपिल गरेका छन् ।

करिब १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए ।

फ्लाई दुवईमार्फत २२ डिसेम्बर २०२३ -पुस ६ गते) ००ः४५ मा काठमाडौंबाट उडेर दुवई हुँदै ९ः०० बजे रियाद पुग्ने जहाजको टिकट काटेको विक्रमका दाजु सागर पंगेनीले बताए ।

शुक्रबार साँझ त्रिभुवन विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराएको भनी फोन गरेका विक्रम त्यसपछि भने सम्पर्कमा नआएको सागरले बताए ।

विक्रमले चलाउने मोबाइल नम्बरमा पठाएका कुनै पनि म्यासेजको जवाफ नआएको सागरले बताए ।

भाइ विक्रमको खोजी गरिदिन सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको तर अहिलेसम्म कुनै प्रगति नदेखिएको सागरले बताए ।

आफन्तमार्फत फ्लाई दुवईको काठमाडौंस्थित काउन्टरमा बुझ्दा २२ डिसेम्बर ००ः४५ मा विक्रम दुवई गएको नदेखिएको जनाएपछि परिवारजन झनै चिन्तामा रहेको विक्रमका ठूलोबुबा ठाकुर पंगेनीले बताए ।

फ्लाई दुवईको जहाज छुटिसकेपछि विक्रम विमानस्थलबाट शुक्रबार राति नै बाहिर निस्केको आशंका गरिएको छ ।

‘विमानस्थलको सिसिटिभी फुटेज हेर्दा राति साढे ११ बजेतिर विक्रम बाहिर निस्केर प्रतीक्षालयसम्म पुगेको र त्यहाँ एक जना मानिससँग कुरा गरेकोजस्तो देखिएको तर त्यसपछि उनी कहाँ गए भन्ने पत्ता लागेको छैन,’ विक्रमका ठूलो बुबा ठाकुर पंगेनीले बताए ।

विक्रमको खोजीका लागि परिवारजन मंगलबारदेखि काठमाडौंमा रहेका छन् । विक्रमको खोजीमा सहयोग गर्न परिवारजनले सम्बन्धित निकायसँगअनुरोध गरेका छन् ।

Published on: 2 January 2024 | Onlinekhabar

Link

Back to list

;