s

साउदी जेलमा सात वर्ष

उत्तम काप्री

दस वर्षअगाडि रोजगारीको सिलसिलामा साउदी अरब पुग्दा यी युवकलाई अनाहकमा सात वर्ष त्यहाँको जेलमा परेर ज्यान जोगाउँदै रित्तो हात नेपाल फर्कनुपर्ला भन्ने कल्पनासम्म थिएन । साउदी जेलमा कष्टपूर्ण सात वर्ष बिताएर नेपाल फर्केका दस युवकले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्नो पीडा पोख्ने मौका पाए । रोजगारीका लागि साउदी अरबको ज्यादा सहर पुगेका यी युवाले बिनसित्ती जेलजीवन गुजार्नुपरेको थियो ।

भारतीय नागरिक हत्याको आरोपमा सन् २०१० फेबु्रअरीमा ज्यादाको सेन्टर जेल चलान भएका दस युवक २०१६ डिसेम्बर १८ मा नेपाल फिरेका थिए । उनीहरूलाई साउदी सरकारले निर्दोष साबित गरे पनि हतकडी लगाएर विमानस्थलबाट नेपाल पठाएको थियो । साउदी सरकारले उनीहरूलाई निर्दोष साबित गरे पनि सात वर्ष जेल सजायको क्षतिपूर्ति दिएको छैन ।

सँगै जेल चलान भएर एउटै आरोप भोग्न बाध्य ११ जनामध्ये एकजनाले जेलमै ज्यान गुमाउनुपरेको दुखेसो सात वर्ष जेलजीवन बिताएर नेपाल आएका भीमप्रसाद चिमरियाले प्रधानमन्त्री दाहालसँग पोखे । ‘साथी कहिले मर्‍यो, के कारण मर्‍यो हामीलाई थाहा छैन', उनले भने, ‘अहिले नेपाल आएर बुझ्दा शव पनि आएको रहेनछ ।'

जेल चलान भएको पाँच वर्षपछि मात्रै आफूहरूलाई साउदी सरकारले कारबाही सुनुवाइ गरेको उनले बताए । सात वर्ष जेलजीवन बिताएर नेपाल आएका भक्तबहादुर दर्जीले प्रधानमन्त्री दाहाललाई भने, ‘अब हामीले जस्तो दुःख अन्य नेपालीले भोग्नु नपरोस् ।' साउदी सरकारले भक्तबहादुर दर्जी, कृष्णबहादुर दमाई र सोमबहादुर तामाङलाई दुई वर्षको जेल सजाय सुनाएको चिमरियाले बताए ।

यसैगरी चक्रबहादुर गुरुङ र केसबहादुर नेपालीलाई तीन, वीरबहादुर तमाङ र रामबहादुर तामाङलाई चार वर्ष र भीमप्रसाद चिमरिया, श्रीकुमार राई र दीपेन्द्र शेर्मालाई भने पाँच वर्षको जेल सजाय सुनाइएको भए पनि सात वर्ष जेलजीवन बिताउनुपरेको श्रीकुमारले बताए । मृत्यु भइसकेका उमेश श्रेष्ठलाई भने सात वर्षको जेल सजाय सुनाइएको थियो । सजाय सुनुवाइ हुँदा उमेशको मृत्यु भइसकेको राईले बताए ।

काम गरिरहेको ठाउँबाट साउदी पुलिसले पक्राउ गर्दासमेत आफूहरू किन पक्राउ परियो भने थाहा नभएको चिमरियाले बताए । जेलमा गएपछि मात्रै भारतीय नागरिक हत्याको आरोपमा आफूहरू पक्राउ परेको थाहा पाएको उनले बताए । ‘तर कहिले र कुन भारतीय नागरिकको हत्या भएको भन्नेबारे केही थाहा थिएन', चिमरियाले भने ।

आफूहरू ११ जनाले ज्यादाको जेलमा बस्दा भोग्नुपरेको मानसिक यातना अहिले सम्झँदा पुनर्जन्म लिएको जस्तो लाग्ने सबै पीडित बताउँछन् । जेलमा रहँदा पशुजस्तो व्यवहार गर्ने, करेन्ट लगाउने, अचेत हुने गरी कुट्ने गरेको भन्दै पीडित १० जनाले दाहालसमक्ष दुःख पोखेका थिए । केही कमाइ गरी परिवारलाई सुख दिने अभिलाशा बोकेर त्यहाँ पुगेका उनीहरूले निर्दोष साबित भएर नेपाल आउँदा पनि केही क्षतिपूर्ति नपाएको बताए । उनीहरूले केही भए पनि राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरे ।

सात वर्षको जेलजीवन बिताएर नेपाल फर्केका युवाहरू २०६३ देखि २०६५ सम्ममा करिब एक लाख रुपैयाँ खर्च गर्दै नेपालका टप म्यानपावर कम्पनी एसोएस, स्काई, मनासलु, मिडलिस्टलगायत कम्पनीबाट साउदी पुगेका थिए ।

नेपालबाट जाँदा भनेको जति तलब र काम नपाएपछि कम्पनी छोडेर बाहिर काम गर्दै गर्दा साउदी सरकारले आफूहरूलाई बिनाकारण हत्या आरोपमा पक्राउ गरेर जेल हालेको दुखेसो उनीहरूले प्रधानमन्त्रीलाई पोखे ।अनाहकमा जेल परेका ११ नेपाली युवकलाई साउदी सरकारले निर्दोष सावित गरे पनि क्षतिपूर्ति दिएको छैन् । 

जेलमा राख्दा करेन्ट लगाउने, अचेत हुने गरी कुट्ने, मानसिक तनाव दिने, काट्छु भन्ने, कसरी मर्ने इच्छा छ भन्दै शारीरिक तनाव दिने गरेको चिमरियाले बताए । जेलमा बस्दा बिहान एउटा रोटी, दिउँसो एक डाडु भात र बेलुका एउटा रोटीको भरमा सात वर्ष बिताएको भन्दै उनीहरूले दाहालसँग दुःख पोखे । अन्त्यमा फिंगर प्रिन्ट नमिलेपछि उनीहरूलाई साउदीको कोब्रा अदालतले निर्दोष साबित गरेर हतकडी लगाई विमानस्थलबाट नेपाल पठाएको थियो ।

नेपाल सरकार र त्यहाँस्थित दूतावासको सहयोग भएको भए आफूहरूले एकदुई महिनामै जेलजीवनबाट छुटकारा पाउनसक्ने अवस्था रहेको उनीहरूले बताए । दूतावासका कर्मचारीको अपमान र नेपाल सरकारको कुनै पहल नहुँदा आफूहरू बिनाकारण सात वर्ष जेलजीवन बिताउन बाध्य भएको उनीहरूले बताए । पछिल्लो समयमा भने दूतावासको सहयोगमा नेपाल आउन पाएको उनीहरूले प्रधानमन्त्री दाहाललाई बताए ।

प्रधानमन्त्री दाहालले १० जना पीडितलाई अब नेपालमै रोजगारी सिर्जना गर्ने गरी काम गर्न सुझाव दिएका छन् । सरकारका तर्फबाट केही भए पनि मलमपट्टी लगाउन मिल्ने गरी राहतसमेत मिलाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । विदेशका नेपाली कामदार मर्कामा पर्दा असहयोग गर्नेहरूलाई अनुसन्धान गरेर कारबाही गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री दाहालले दिए ।

Published on: 1 February 2017 | Annapurna Post

Back to list

;