s

साउदी जेलमा पूर्व लडाकु, 'ब्लड मनी' खोज्दै श्रीमती

दिनेश सुवेदी

सय कडा तीन का दरले एक लाख ४५ हजार ऋण गरेर साउदी गएका रोल्पा नगरपालिका १० धवाङ पेवाका तीस वर्षिय दिलबहादुर घर्ती दुई बर्ष साउदी जेलमा छन्। उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाई मृतकका परिवारलाई ‘ब्लड मनि’का रुपमा २ लाख २५ हजार रियाल‐ करिब ६५ लाख रुपैयाँ) क्षतिपूर्ति दिन फैसला गरेको छ। साउदी स्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा पनि अदालतले पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो।

श्रीमान बचाउन अदालतले दिएको आदेशले आत्तिएकी दिबहादुरकि श्रीमती मनिका बुढामगर हिजो आज दुई बच्चा काखमा च्यापेर आर्थिक जोहोका लागि यता उति भौतारि रहेकि छिन्। २०६६ सालमा बिहे गरे पछि पूर्व माओवादी लडाकु समेत रहेका श्रीमान घरायसी समस्याले ब्यारेक छोडेर आए। २०६७ मा पनि रोजगारीका विदेश गएका उनी २४ महिनामा ऋण सम्म तिर्ने भएर घर फर्केका थिए। आर्थिक स्थीति कमजोर र गाउँमा रोजगारीको कुनै सम्भावना नभएपछि दिलबहादुर दोश्रो पटक विदेशिएका हुन्।
 
एक छोरी र एक छोराका बुवा दिलबहादुर विदेशको जेलमा परेपछि श्रीमती मनिकाले झेल्नु सम्म दुख झेलेकि छिन। ‘एउटा हातमा कागज र अर्को हातमा छोरा बोकेर सहयोगका लागि प्रचण्ड,  कृष्णबहादुर महरा, ओनसरि घर्ती , बर्षमान पुन सबैलाई भेटे। हुन्छ हेरौला बाहेक अरु भएन। पछि सहयोगी मनका साथीहरुले सहयोग उठाईदिन सुरु गर्नु भो।’ अहिलेसम्म कति रकम जम्मा भयो भन्ने एकिन नभएपनि करिब ४० लाखको हाराहारीमा रकम जम्मा भएको छ। गाउँमा सिलाईकटाई गरेर घर चलाएकी मनिका र उनको परिवार अहिले संकटमा छ। ‘छोरो सानो छ। उसले केहि बुझ्दैन तर छोरीले पिर गरिरहन्छे। ६५ लाख नपुगे बुवालाई मारिन्छ भन्ने बुझेकि छ।’
 
दिलबहादुरको जीवन रक्षाका लागि मूल समिति बनाएर सोहि समितिको नाममा खोलिएको खातामा २७ लाख भन्दा बढी रकम जम्मा भएको छ। ‘दिलबहादुरको जीवन रक्षाका लागि झण्डै ६५ लाख चाहिन्छ। आजसम्म हाम्रो मूल समितिको खातामा करिब २७ लाख जम्मा भएको छ,’ मूल समितिका संयोजक तथा उपराष्ट्रपति पुत्र दिपेश पुनले भने, ‘हाम्रो अभियान जारी छ। सहयोगी मनहरुको साथ र सहयोग छ। विदेशमा रहेका नेपाली र नेपाल भित्रबाट पनि सहयोग उठिरहेको छ।’ उनका अनुसार ‘वाईसिएल रोल्पाले झण्डै पाँच लाख उठाएको तर मूल समितिको खातामा नआएको, रोल्पा नगरपालिकाले १ लाख, सुनिल स्मृति गाउँपालिकाले ५० हजार, सुनछहरी गाउँपालिकाले ३० हजार दिने भएका छन्।’
 
साउदी अरब, मलेसिया, जापान, कोरिया लगायतको देशबाट नेपालीहरुले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग संकलन उठाई रहेका छन्। जिल्लामा उद्योग बाणिज्य संघले पनि रकम संकलन गरिरहेको छ। दिलबहादुरको जीवन रक्षाका लागि सहयोग रकम जम्मा गर्न अभियानका मूल समिति संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढामगरको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंक, बालाजु शाखामा ११९००२८६०७१० नं. को खाता खोलिएको छ।
 
Published on: 17 June 2018 | Nagarik

Back to list

;