s

साउदी जेलमा कैदी कोचाकोच

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरबका जेलमा नेपालीसहित आप्रवासी श्रमिकहरूलाई कोचेर राखिएको छ । उनीहरूलाई साउदीबाट डिपोट गर्ने भन्दै जेलमा राखिएको हो । साउदी प्रहरीले आवासीय भिसाको म्याद सकिएका श्रमिकलाई धमाधम पक्राउ गर्न थालेपछि डिपोटेसन सेन्टरमा क्षमताभन्दा बढी कैदी राखिएका छन् ।

‘यहाँ एउटा कोठामा दुई सयजना अट्छन् । तर ६ सय जनालाई राखिएको छ,’ साउदीको पूर्वी क्षेत्रस्थित खोवरको तुक्वा जेलबाट सम्पर्कमा आएका नरेश श्रेष्ठले भने, ‘सुत्न पाइँदैन । उभिएर नै दिनरात कटाउनुपर्छ ।’ कोभिड–१९ को संक्रमण सामान्य बन्दै जान थालेपछि साउदी प्रशासनले गैरकानुनी हैसियतमा रहेका श्रमिकलाई पक्राउ गर्दै पठाउन थालेको हो । साउदीले नोभेम्बर १५ सम्म भिसाको अवधि समाप्त भएकालाई पक्राउ गरेको थिएन । त्यसबेला डिपोटेसन सेन्टरहरू झन्डै खालीजस्तै थिए । ‘जेलमा भारतीय, बंगाली र पाकिस्तानीहरू हजारभन्दा बढी छन्,’ श्रेष्ठले भने, ‘तुलनात्मक रूपमा नेपालीहरू कम भेटिन्छन् ।’

पूर्वी क्षेत्रमा पक्राउ परेका नेपालीलाई खोवरको जेलमा र राजधानी रियाद आसपासका क्षेत्रमा पक्राउ परेकालाई रियाद डिपोटेसन सेन्टरमा राखिएको छ । ‘एकातिर कम्पनीले भिसा नलगाइदिएर गैरकानुनी हैसियत बनाइदिएको छ । अर्कातिर बाटामा हिँडडुल गर्न नै डरमर्दो छ । प्रहरीले चल्लालाई छोपेझैं छोपेर लिएर जान्छ,’ रियाद जेलमा रहेका सिन्धुलीका मदन रिमालले भने, ‘प्रहरीले त हाम्रो कुरा नै सुन्दैन ।’

साउदीका संकटमा गएका कम्पनीहरूले श्रमिकको आवासीय भिसा नवीकरण गर्न सकेका छैनन् । भिसा नवीकरण नहुँदा एक्जिट भिसा नपाएकामध्ये झन्डै १५ सय जना दूतावासको सम्पर्कमा छन् । रियादस्थित नेपाली दूतावासले पक्राउ परी खोवरको डिपोटेसन सेन्टरभित्र रहेकामध्ये १३९ लाई आफ्नो जिम्मेवारीमा बाहिर निकालेको जनाएको छ । ‘डिपोटेसन सेन्टरभित्र रहेकाहरूको स्वदेश फिर्ने कानुनी प्रक्रिया समाप्त भइसकेपछि दूतावासको जिम्मेवारीमा बाहिर निकालेका छौं । त्यसमध्ये ११९ जनालाई नेपाल पठाइसकिएको छ । बाँक्री पठाउने प्रक्रियामा छ,’ दूतावासका एक अधिकारीले भने, ‘पछिल्लो साता फेरि जेलमा नेपाली थपिएको हुन सक्छ ।’

जेलका अधिकारीहरूले अध्यागमन प्रक्रिया पूरा गरेपछि १५ दिनभित्र पठाइदिने सर्तमा दूतावासको जिम्मेवारीमा बाहिर पठाउने सर्त राखेको छ । ‘साउदी एयरलाइन्स भइदिएको भए डिपोर्टमा जाने नेपालीले टिकट जुटाउनुपर्दैनथ्यो । नेपालमा साउदी एयरलाइन्स छैन । त्यसकारण जसले टिकट जुटाउन सक्छ, उनीहरू छिट्टै स्वदेश फिर्न सक्छन् ।

टिकट नहुनेहरू भने प्रतीक्षा गर्नुपर्छ,’ ती अधिकारीले भने । एक्जिट भिसा लागेको श्रमिक मात्रै डिपोटेसनबाट बाहिर निस्कन पाएका छन् । कतिपय कम्पनीले संकटमा परेर आफ्ना श्रमिकलाई स्वदेश पठाउन सकेका छैनन् । अप्रिल अगाडिसम्म एक्जिट भिसा लागेर पनि जान नपाएका झन्डै १० हजार नेपालीलाई पठाइसकिएको छ तर पछिल्लो समय भने श्रमिकले एक्जिट भिसा नै पाउन कठिन भइरहेको छ ।

Published on: 15 December 2020 | Kantipur

Link

Back to list

;