s

साउदी जेलका युवा बचाउन रकम संकलन

खेमबहादुर बुढा

साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीलाई जेलमुक्त गर्न मलेसियमा रहेका रोल्पाली युवाले ‘ब्लड मनी’ तिर्न रकम संकलन अभियान सम्पन्न गरेका छन् । मलेसियामा रोजगाररत नेपाली युवाले ‘दिलबहादुर बचाऊ अभियान’ नै चलाएर ६ लाख ७५ हजार ९ सय ६३ रकम जम्मा गरेका हुन् ।

रोल्पा नगरपालिका–१० धबाङ पेवागाउँका ३१ बर्से दिलबहादुर दुई वर्षदेखि साउदी जेलमा छन् । काठमाडौंको डेस्टिनी ओभरसिज प्रालिमार्पmत दिलबहादुर साउदी पुगेका थिए । स्काभेटर चालकको भिसामा साउदी पुगेका दिलबहादुरलाई ‘माजिद अल दियावाही कन्सट्रक्सन इस्ट रियाद’ ले ट्रक चलाउन लगाएको थियो । वर्क परमिट र ट्रक चलाउने अनुमतिपत्रबिनै उनी काम गर्न बाध्य भए । मेनपावरलाई १ लाख ४५ हजार रुपैयाँ बुझाएर साउदी पुगेका दिलबहादुरले चलाएको ट्रकले साउदी नागरिक ओतिन विन दिगफाको मृत्यु भएको थियो । ०७३ जेठ ३१ गते उक्त दुर्घटना भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
 
उक्त घटनापश्चात् दिलबहादुरलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो । रियादस्थित अदालतले दुर्घटनामा ७५ प्रतिशत उनको गल्तीले साउदी नागरिकको ज्यान गएको पैmसला सुनाएको थियो । पीडित परिवारलाई २ लाख २५ हजार साउदी रियाल (नेपाली करिब ६५ लाख) ब्लड मनी दिए जेलमुक्त हुने बताएको छ । घर्तीका मनिका र नाबालक छोराछोरी गरी चार जना छन् । विपन्न आर्थिक अवस्थाका उनीहरूको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि ब्लड मनी संकलन गर्ने मनकारी समूह र व्यक्ति सक्रिय भएका हुन् ।
 
नेपालमा उपराष्ट्रपतिपुत्र दिपेश पुनको संयोजकत्वमा दिलबहादुर बचाउ मुल समिति नै बनेको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, वाईसीयललगायत वैदेशिक रोजगारमा गएका रोल्पाली युवाहरूले रकम संकलन गरिरहेका छन् । आफूजस्तै कमाउन साउदी पुगेका युवा ब्लड मनी तिर्न नसकेर जेलमै बस्नुपरेको खबरले मलेसियामा रहेका युवा स्तब्ध बनेका मलेसियामै रहेका कोर्चाबाङ बजबाङका युवा रामप्रसाद पुन बताउँछन् । ‘ब्लड मनी तिर्न सघाउ पुगोस् भनेर हामीले पनि मलेसियमा रकम संकलन अभियान चलायौं’, युवा पुनले बताए ।
 
जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष पे्रम पाण्डे र नेपाल मगर संघ मलेसियाको रोहबरमा अभियान सम्पन्न भएको घोषणा गरिएको छ । रकम संकलन अभियानका सदस्य रूपधन घर्तीमगरले ब्लड मनीका लागि विभिन्न देशमा रकम संकलन हुनु सराहनीय भएको बताए । ब्लड मनी संकलन अभियानमा सक्रिय पुनमगरका अनुसार रोल्पाबाट र नेपालका अन्य जिल्लाबाट रोजगारीका लागि मलेसिया रहेका युवाले मलेसिया मुद्रा दिएका हुन् ।
 
Published on: 1 August 2018 | Annapurna Post

Back to list

;