s

साउदी जेलबाट कुमार रानाको उद्धार गर्न बाबुरामले दिए एक लाख

साउदी अरबमा जेलमा रहेका गोरखाका कुमार राना मगरको उद्धारका लागि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

रानाको उद्धारका लागि तिर्नुपर्ने करिब ८३ लाख रुपैयाँ जुटाउन सञ्चालित अभियानमा गोरखाबाट निर्वाचित भट्टराईले व्यक्तिगत रुपमा १ लाख दिएका हुन् । उक्त रकम भट्टराईले मंगलबार कुमार रानामगर उद्धार अभियानका संयोजक कृष्णप्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् ।

अभियान सञ्चालन भएपछि एक लाख रुपैयाँ दिने घोषणा गरेका भट्टराईले मंगलबार रकम हस्तान्तरण गरेका हुन् ।

साउदी अरबमा ड्राइभर काम गर्ने कुमारले चलाउने गाडीले ठक्कर दिँदा साउदी नागरिक घाइते भएपछि उसले २ लाख ९० हजार साउदी रियाल माग गरेका थिए । तर उक्त रकम तिर्न नसकेपछि कुमार एक वर्षदेखि साउदी अरबको जेलमा रहेका छन् ।

कुमारको उद्धारका लागि अभियान सञ्चालन भइरहेका बेला घाइते साउदी नागरिकले ४० हजार साउदी रियाल छुट गरिदिने भनी नेपाली दूतावाससँग प्रतिवद्धता जनाइसकेका छन् ।

कुमार कार्यरत कम्पनीले भने ५० हजार साउदी रकम ब्यहोर्ने मौखिक आश्वासन दिए पनि लिखित प्रतिवद्धता नजनाएको कारण उसले रकम ब्यहोर्ने वा नब्यहोर्ने निश्चित नभइसकेको कुमार राना उद्धार अभियानमा संयोजक कृष्णप्रसाद ढकालले जनाए ।

Published On: 11 September 2018 | Online khabar

Back to list

;