s

साउदी जेलबाट ८ वर्षपछि उद्धार

होम कार्की

काठमाडौँ — साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयले औषधि चोरी मुद्दामा ८ वर्षदेखि जेल परेका रोल्पाका गणेश वली र रमेशकुमार गुरुङलाई उद्धार गरी स्वदेश पठाएको छ । स्थानीय अदालतले औषधि चोरी मुद्दामा उनीहरूलाई दुई वर्ष ६ महिनाको जेल र चार सय कोर्रा दिने सजाय सुनाएको थियो ।

५ लाख ९५ हजार साउदी रियाल (करिब १ करोड ८८ लाख रुपैयाँ) कम्पनीलाई भुक्तानी गर्नुपर्ने फैसलासमेत गरिएको थियो । कैद भुक्तान र कोर्रा खाए पनि तोकिएको रकम तिर्न नसकेपछि छुटेका थिएनन् ।

‘अदालतको फैसलाअनुसार कि उनीहरूलाई काम गर्नुपर्ने कम्पनीले माफी दिनुपर्ने थियो कि त उनीहरूले तोकिएको रकम तिर्नुपर्ने हुन्थ्यो,’ कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेलले कान्तिपुरसँग भने, ‘यसमा श्रमिक पठाउने र लिने कम्पनीबीच विवाद थियो । दुवै कम्पनीसँग मध्यस्थताको भूमिका खेलेपछि उनीहरूले जरिवाना तिर्नुपरेन ।’

वली र गुरुङलाई इनिसियल वर्कफोर्स साउदी फर इजटिक्डमले औषधि भण्डार रहेको अब्दुल रहमान अल गसैबी कम्पनीमा पठाएको थियो । त्यहाँबाट महँगा औषधि हराएपछि उनीहरूलाई चोरी मुद्दा लगाइएको थियो । गसैबीले आफ्नो कम्पनीले बेहोरेको क्षति श्रमिक पठाउने इनिसियलले नै तिर्नुपर्ने अडान राख्दै आएको थियो । तर, इनिसियलले जरिवाना तिर्न अस्वीकार गर्दै आएको थियो । दूतावासले ८ महिनासम्म निरन्तर संवाद गरेपछि दुवै कम्पनी सहमत भएका हुन् ।

‘हामीले जरिवाना रकमको एक तिहाइ (१ लाख ९६ हजार ३ सय ५० रियाल) छुट दिन गसैबीलाई प्रस्ताव राख्यौं । त्यसमध्ये उसले १ लाख ९५ हजार छुट दिन सहमत जनायो,’ पोखरेलले भने, ‘इनिसियललाई भने जरिवानाको दुई तिहाइ (३ लाख ९८ हजार ६ सय ५० रियाल) तिर्न प्रस्ताव राख्यौं । त्यसमा इनिसियल तयार भयो । नपुग १ हजार ३ सय ५० रियाल भने महावाणिज्यको कार्यालयबाटै निकासा गरिदियौं ।’

रकम पाएपछि गसैबीले मुद्दा फिर्ता लियो । वली र गुरुङ आठ वर्षपछि जेलमुक्त भए । ‘हामी हरेक दिन भगवान्सँग प्रार्थना गर्दै बसिरह्यौं । यसरी जेलबाट बाहिर निस्कन पाइएला भन्ने आशा नै मारिसकेका थियौं,’ वलीले भने, ‘उहाँहरूलाई आत्मादेखि नै धेरै धन्यवाद छ ।’ २०१२ जनवरी १ मा साउदीको जेद्दा पुगेका वली र गुरुङ गसैबी कम्पनीको औषधि भण्डारमा लोड–अनलोडको काम गर्थे । ‘कम्पनीमा काम गरेको २२ महिना पुगेको थियो । बिभिन्न सेक्सनमध्ये एउटामा हामी दुई जना थियौं । तर एक पैसाको औषधि चोरेका थिएनौं,’ वलीले भने, ‘भण्डारमा जति सामान अपुग देखियो, त्यसको सबै दोष हामीमाथि आइलाग्यो । ड्राइभरले भित्रभित्रै सामन बेच्दो रहेछ । त्यसको भेउ हामीले कहिल्यै पाएनौं ।’

उनीहरूले चोरेको प्रमाण नभेटेपछि अदालतले पनि पटकपटक कम्पनीलाई चोरी प्रमाणित गर्न मौका दिएको थियो । ‘कम्पनीले रियादमा बस्ने एकाउन्टेन्टलाई लिएर आयो । उसले मैले चोर्ने मान्छेलाई देखेको होइन तर औषधि हराएको साँचो हो भनेर कुरानलाई छोएर कसम खायो । झूटो भए मलाई पाप लाग्छ भने लागोस् भन्यो,’ वलीले भने, ‘यही आधारमा ड्राइभरसहित हामी दुई जनालाई सजाय सुनायो । हराएको औषधिको पैसा हाम्रो टाउकोमाथि हालिदियो ।’

कम्पनीमा साउदी, यमनी र भारतीय श्रमिकहरू पनि थिए । सजाय सुनाउँदा कम्पनीले जिम्मा लिई जेलबाट छुटाएर लैजान सक्ने आदेश पनि दिएको थियो । तर कम्पनी आफू त्यत्रो पैसा तिर्न नसक्ने भन्दै पन्छियो । ‘हामीसँग दूतावासलाई सम्पर्क गर्ने नम्बर थिएन । गाउँमा भएका बुबाआमा काठमाडौं आएर निवेदन दिन सक्ने खालका थिएनन्,’ ओलीले सुनाए ।

कार्यवाहक महावाणिज्यदूत पोखरेल र कन्सुलर भुवन पौडेलले जेल भ्रमण गर्ने क्रममा सुमेसी जेलमा उनीहरूलाई भेटेका थिए । त्यसपछि मात्रै सोधीखोजी अगाडि बढेको हो । ‘प्रहरीले पक्राउ गरेर ८ दिनसम्म थुनामै राख्यो । सोधपुछमा हामीले अंग्रेजीमा ‘नो–नो’ र अरबीमा माफी मालुम (थाहा छैन) मात्रै भनिरह्यौं,’ वलीले भने, ‘जेलमा लगेको आठ महिनापछि बल्ल हामीलाई अदालतमा लिएर गए । जेलमा एकअर्काबीच मुखामुख गरेर मात्रै बितायौं । जतिखेर पनि कोठाभित्र लाइट हुन्थ्यो, कुखुरा बसेको जस्तै भयो ।’

उनका अनुसार जेलमा प्रहरीले सातामा ५० कोर्रा हान्थे । ‘जम्मा ४ सय कोर्रा भने खाइयो,’ उनले सुनाए, ‘धन्न हाम्रो भाग्य बलियो रहेछ । संसार देख्न पाइयो ।’

Published on: 23 February 2022 | Kantipur

Link

Back to list

;