s

साउदी जेलबाट कुमार रानालाई फिर्ता ल्याउन क्षतिपूर्ति रकम बुझाइयो

साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई उद्धार गरी नेपाल फर्काउन ‘गोरखा कुमार राना उद्धार अभियान’ मूल समितिले परराष्ट्र मन्त्रालयमा रकम बुझाएको छ ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति रकममध्ये मूल समितिले परराष्ट्र मन्त्रालयमा २ लाख साउदी रियाल (६२ लाख ७४ हजार  रुपैयाँ ) बुझाएको हो । बाँकी रकममध्ये ४४ हजार घाइतेले छुट गरेको र ५० हजार कुमार राना मगर कार्यरत कम्पनीले ब्यहोरेकाले मूल समितिले २ लाख रियाल पठाएको हो । उक्त रकम बिहीबार मूल समिति संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी पत्नी अम्बिका रानामगरले परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्णप्रसाद ढकाललाई बुझाएका हुन् । रकम बिहीबार नै साउदीस्थित नेपाली दूतावास पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुमार राना मगरको उद्धारका लागि नेपाल,  साउदी अरबलगायत विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले रकम संकलन गरेका थिए । कुमार राना उद्धारका लागि सञ्चालित अभियानबाट संकलित रकम प्रभु बैंक कलंकी शाखामा जम्मा गरिएको छ । अभियानबाट करिब ७८ लाख रुपैयाँ संकलन भएको छ ।

कुमार रानाको उद्धारका लागि आवश्यक रकम संकलन भएकाले सहयोग संकलन अभियान बन्द गरिएको मूल समितिले जनाएको छ । कुमार रानाको उद्धारपछि बचत भएको रकम उनीजस्तै समस्यामा पर्ने अन्य व्यक्तिलाई सहयोग गर्ने मूल समितिको निर्णय छ ।

२०७१ सालमा साउदी अरबको खलिद एस अल कम्पनीमा काम गर्न गएका कुमारले चलाउने गाडीको ठक्करबाट २०७३ वैशाख १२ गते साउदी नागरिक खलिद विन फहाद विन सदर घाइते भएका थिए ।

घाइतेको माग अनुसार अफिफ जनरल कोर्टले २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त रकम तिर्न नसकेपछि कुमार २०७४ असोजदेखि साउदी अरबको जेलमा रहेका छन् ।

Published on: 4 October 2018 | Onlinekhabar

Back to list

;