s

साउदी गएका पतिको बाँकेमा घरजम

रुपा गहतराज 

नेपालगन्ज — सिन्दूर–पोते अनि चुरा पहिरन छाडिनन् । वैदेशिक रोजगारीका लागि हिँडेका एक दिन पति फर्केर आउने विश्वासमा प्रतीक्षामा बसिन् । दिन, महिना र वर्ष बिते । पति फर्किएनन् तर उनले आशा मारिनन् । एक्ली महिलालाई समाजले हेयको दृष्टि राख्थ्यो । खबर आएन, १८ वर्ष बिते । आफन्त र परिवारले भर मान्न छाडे । उनको आशाको दियो भने निभेको थिएन । एक दिन उनले अपेक्षित खबर पाइन् । 

घरबाट निस्केर रूपन्देहीको देवदहकी ३८ वर्षीया देवी अर्याल आइतबार नेपालगन्ज आइपुगेकी छन् । यहाँ आउँदा उनका पतिले नयाँ संसार बसाएको देखिन् । ‘मरेको मान्छेको यादले त सताउँछ भने जिउँदो मान्छेलाई कसरी भुल्न सकिन्छ र !’ उनले भनिन्, ‘समयको मात्र के कुरा, मेरो जिन्दगीमाथि नै खेलबाड भयो ।’

देवीको १८ वर्षअघि नवलपरासीका डिल्लीराज अर्यालसँग प्रेमविवाह भएको थियो । परिवारको सल्लाहमा उनीहरूले विवाह गरेका थिए । बिहे भएको दुई वर्षमै डिल्लीराज वैदेशिक रोजगारीका लागि साउदी उडेका थिए । पति विदेश उड्दा देवी चार महिनाकी गर्भवती थिइन् । दुई–चार महिना फोन सम्पर्क भयो । बिस्तारै फोन आउन छाड्यो । उनले छोरालाई जन्म दिइन् । पति नभए पनि ८ वर्षसम्म सासू–ससुरालाई हेरेर उनले घर सम्हालिन् । त्यसपछि छोरा हुर्कंदै गएपछि काम खोज्न थालिन् । ८ वर्षपछि माइतीको नजिकै रूपन्देहीको देवदहमा ज्याला मजदुरी गर्दै जीविका चलाउन थालिन् ।

आफ्ना पतिले वैदेशिक रोजगारीबाट फर्केर बाँकेको बैजनाथ–६ सम्झना चोकमा विवाह गरी घरजम गरी बसेको देखेपछि देवीका आशाहरू सबै निराशामा परिणत भएका छन् । उनका पतिले छोरा र पत्नीलाई स्वीकार गर्न नसक्ने भनेपछि अहिले उनी न्यायको खोजीमा भौंतारिइरहेकी छन् । कहिले प्रहरी, कहिले वकिलसँग हारगुहार मागेकी छन् । ‘१८ वर्षसम्म कुनै सम्पर्कमा नभएको मान्छेलाई एक्कासि घरजम गरी बसेको भेट्टाएँ,’ उनले भनिन्, ‘१८ वर्षसम्मको मेरो त्याग र पर्खाइको कुनै मूल्य रहेन ।’ देवीका छोरा अहिले १७ वर्षका भइसकेका छन् । कक्षा १२ मा पढ्छन् । ‘छोराले बाबु हुँदा पनि बाबुको माया पाएन,’ उनले भनिन्, ‘पति हुँदा पनि मैले पतिको सहारा पाइनँ । ममाथि अन्याय भयो ।’

डिल्लीराज अहिले विवाह गरी बैजनाथ गाउँपालिका बसेका छन् । उनका एक छोरा र छोरी छन् । अधिवक्ता देवीमाया खत्रीले पुरुषका गल्तीका कारण महिलाहरू नै मर्कामा परेको बताइन् । ‘बहुविवाहका अधिकांश घटनामा पुरुषकै गल्तीका कारण दुई महिलाहरू अन्यायमा परिरहेका छन्,’ उनले भनिन्, ‘बहुविवाहको मारमा पर्ने महिलाहरूको संख्या बढ्दो छ ।’ बैजनाथ–६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतले वडासम्म छलफलमा नआएकाले देवी र डिल्लीराजबारे आफूलाई जानकारी नभएको बताए ।

Published on: 9 February 2022 | Kantipur

Link

Back to list

;