s

साउदी अरबमा तीन नेपाली अलपत्र

दमन राई

सम्झौता अनुसारको काम र दाम नपाउँदा साउदीअरबमा तीन नेपाली अलपत्र परेका छन्। कार्यरत कम्पनीले तोकिए अनुशारको काम, तलव लगायतका सेवा सुबिधाबाट बञ्चित गराएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कट्वाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल माटिकोरेका गोपाल खत्री र भोजपुर छिनामखुका मानबहादुर बिष्ट अलपत्र परेका हुन्।

सम्पत्ती कमाउने सपना बोकेर साउदीअरब पुगेका तीन युवा उल्टै अलपत्र परेपछि उद्धारका लागि परिवारको निबेदन परेको बैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमुक बनाउने क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रले जनाएको छ। पैसाको सपना बोकेर ३ वर्षअघि साउदीअरब पुगेका कट्वाल डेढ वर्षदेखि काम र दाम पाउनबाट बञ्चित बनेको सूचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताइन्।
 
नेपाल फर्काउन आग्रह गर्दा कार्यरत रकान आरसिसिसि कम्पनीले लगानी डुबेको भन्दै दुई वर्षदेखि कट्वालको अकामा (परिचयपत्र) नविकरण गरिदिएको छैन। परदेशमा काम र दाम बिहिन बनेपछि खाना खान समेत समस्या भइरहेको उनको परिवारको गुनासो छ।
 
आम्दानी नहुँदा कट्वालले नेपाली साथीभाईको सहयोगमा घरमा फोन सम्पर्क गर्ने गरेका छन्। जीतबहादुरको बाटो हेरेर घरमा बसिरहेकी उनकी श्रीमती टिकामायाँ र छोरा बिरामी छन्। पाठेघरको अप्रेशन गर्दा टिकामायाँको शारीरिक समस्या थप चर्किएको छ। छोरा हर्नियाबाट पिडित छन्। ९ वर्ष साउदी बसिसकेका जीतबहादुर ३ वर्षअघि पुःन साउदी पुगेका थिए।
 
यस्तै, १८ महिनाअघि साउदी पुगेका माटिकोरेका गोपाल ५ महिनादेखि अलपत्र छन्। कार्यरत कम्पनी घाटामा गएको भन्दै काम नदिएपछि उनी अवैध बनेर साउदीमा दिन बिताइरहेका छन्। कम्पनीले अन्यत्र गएर काम गर्न भने पनि रिलिज पेपर नदिँदा अवैध बनेर लुकीछिपी काम गर्न बाध्य बनेको उनको भनाई छ। कम्पनीले गोपालको अकामा (परिचयपत्र) पनि रिन्यू गरिदिएको छैन।
 
भोजपुर छिनामखुका बिष्ट भने गत फागुन ७ गते घर फर्कनेक्रममा बिमानस्थलबाटै रोकिएका हुन्। अलमाजल अलअरबिक ग्रुपमा क्याट्रिनको काम गरेको केही समयपछि बीना दर्ताको बगला (पसल) मा काम गरेको भन्दै उनी बिमानस्थलबाटै रोकिएका हुन्। सुरक्षाकर्मीले बिमानस्थलमा रोकेपछि मात्र उनले आफु बीना दर्ताको पसलमा काम गरेको थाहा पाएका थिए। एयरपोर्टबाट फर्काइएका बिष्टलाई कम्पनीले बस्ने ठाउँ दिएपनि खाना खान समस्या छ। ‘घर फर्कनका लागि कम्पनीले अनुमती दियो । तर, मानबहादुरलाई एयरपोर्टमा रोकेको रहेछ,’ परामर्शकर्ता दाहालले भनिन्, ‘खासमा दर्ता नगरिएको पसलमा काम गरेको आधारमा रोकेको रहेछ।’
 
प्रहरी सामु पसल मालिकको उपस्थिति भए मात्र बिष्टका लागि घर फर्कने वाताबरण बन्ने बताइएको छ। पसल मालिक हालसम्म सम्पर्क बिहिन छन्। बिना दर्ताका बगलालाई सिस्टममा लैजाने काम अन्तिम चरणमा पुगेकाले ‘चाँडै घर फर्कन पाउँछौं’ भनेको समेत ३ महिना बितिसकेको बिष्टको भनाई छ। कमाउन परदेसिएका अभिभाबक बिदेशमा अलपत्र पर्दा घरमा परिवारको बिचल्नी भएको छ। उनीहरूका परिवारले उनीहरूकाे उद्धारका लागि अग्रह गरेका छन्।
 
Published on: 8 July 2018 | Nagarik

Back to list

;