s

साउदी अरबमा बहिर्गमन अनुमति पाउनै समस्या

कान्तिपुर संवाददाता

काठमाडौँ — सप्तरीका धनेष मुसहरसँग साउदी अरबको आवासीय अनुमति कार्ड (अकामा) छैन । कम्पनीले अकामाको म्याद नथपिदिँदा उनले कानुनी हैसियत गुमाएका छन् । उनी पाँच वर्षअघि साउदी अरब पुगेका थिए । 

कम्पनीले हरेक वर्ष भिसा नवीकरण गर्दै आइरहे पनि ११ महिनादेखि उनी भिसाविहीन अवस्थामा बसिरहेका छन् । ‘न कम्पनीले भिसाको म्याद थप्न सक्छ न नेपाल पठाइदिन्छ,’ मुसहरले फोनमा कान्तिपुरसँग भने, ‘पहिला टिकट पाइँदैनथ्यो, भिसा थियो । अहिले टिकट पाइन्छ, एक्जिट (बहिर्गमन) भिसा लाग्दैन ।’

रोजगारदाता कम्पनीहरूले भिसाको म्याद नवीकरण गराउन असफल भएपछि ठूलो संख्यामा नेपाली स्वदेश फिर्न पाएका छैनन् । ‘एक्जिट भिसाको अनुमति नपाउनेको संख्या बढ्यो । समस्या समाधान गर्न प्रयास गरिरहेका छौं,’ श्रम काउन्सिलर जीवन राईले भने । साउदी सरकारले प्रत्येक दिन नेपाली दूतावासका लागि १० जनाको मात्रै कोटा छुट्याएको छ । ‘भिसा सकेर एक्जिट भिसा नपाएका मध्ये दूतावासलाई सातामा ४ दिनका लागि ४० जनाको मात्रै आवेदन पेस गर्न पाइने कोटा छुट्याएको छ,’ काउन्सिलर राईले भने, ‘त्यही कोटाअनुसार हामीले एक्जिट भिसाका लागि समन्वय गरिरहेका छौं ।’ निवेदन दिएका २ हजारमध्ये १ हजार २ सय ८ जनाले एक्जिट अनुमति पाइसकेको उनले बताए ।

श्रमस्वीकृति लिएर साउदी प्रवेश गर्न तीन महिनाका लागि ‘सिंगल भिसा’ दिइएको छ । तीन महिनाभित्र आवासीय भिसा (अकामा) लगाइदिएपछि मात्रै श्रमिकले श्रम गर्ने कानुनी हैसियत प्राप्त गर्छन् । ‘कम्पनीलाई भिसाको म्याद समाप्त नहुनुअघिसम्म एक्जिट भिसा लगाइदिने अधिकार दिइएको छ । भिसाको म्याद गुज्रेपछि भने जरिवाना तिरेपछि मात्रै एक्जिट भिसा लगाइदिन पाउँछन्,’ उनले भने, ‘पछिल्लो समय जरिवाना वा भिसाको दस्तुर तिर्न नसकेर होला, श्रमिकको एक्जिट भिसा नै लगाउन छाडेका छन् ।’ एक्जिट भिसाका लागि दूतावास जान कम्पनीले श्रमिकलाई दबाब दिन थालेका छन् । कम्पनीले एक वर्षको भिसा नवीकरण गर्न साउदी सरकारलाई झन्डै १० हजार रियाल बुझाउनुपर्छ ।

Published on: 6 November 2020 | Kantipur

Link

Back to list

;