s

साउदी अरबमा अलपत्र जुम्लाका ९ युवकको उद्धार

डीबी बुढा

जुम्ला — वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिकाका ९ युवकहरूको उद्धार गरिएको छ । गुठीचौर गाउँपालिका १ का ९ जनाको उद्धार गरिएको हो ।

एक महिनादेखि उद्धारका लागि हारगुहार गरिरहेका उनीहरूको उद्धार गरिएको गुठीचौर १ का अध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिए ।

साउदीमा अलपत्र पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका १ का निराजन थापा, डिलबहादुर रोकाया, शान्तबहादुर रोकाया, खडग रोकाया, लक्ष्मीबहादुर रोकाया, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाया र जनक बुढा रहेका छन् ।

'उनीहरूलाई नेपालबाट ब्लु ग्यालेक्सी नामक कम्पनीले राम्रो तलब दिने स्वार्थमा साउदीस्थित क्यु सीएम कम्पनीमा पठाएको थियो । तलब राम्रो दिन्छौं । कुनै गडबडी हुँदैन भनेर साउदी पठायो,' अलपत्र परेको जुम्ली युवाको भनाइ उदृध गर्दै वडाध्यक्ष महताराले भने,‘न राम्रो काम पायौं । नेपालबाट जुन काम र तलब दिने भनिएको थियो । त्यो भएन । अर्कै काममा लगाएर तलब पाइएन । हामी अलपत्र पर्यौं ।’

नेपालदेखि उनीहरूलाई बैंक र अस्पताल क्लिनरको रुपमा पठाइएको थियो । तर साउदीमा आर्मी ब्यारेकमा लगाइदियो । एक हजार साउदी रुपैयाँ पारिश्रमिक दिने भनिएकोमा ८ सय मात्रै दिने भनियो । त्यो पनि महिना पुगेपछि नदिएपछि अलपत्र परेको उनीहरूले बताएका छन् । उनीहरूले आठ महिना काम गरेकोमा ६ महिनाको मात्र पारिश्रमिक पाएको बताएका छन ।

उनीहरू सबै जना ११ सेप्टेम्बरमा अर्थात आइतबार नेपाल आइपुग्दैछन् । नेपाल आइसकेपछि ‘ब्लु ग्यालेक्सी’मेनपावर कम्पनी विरुद्ध वडाअध्यक्ष महताराको नेतृत्वमा उजुरी दिने तयारी भइरहेको छ ।

एक महिना अलपत्र परेका जुम्ली युवाहरू नेपाल आउने भएपछि निकै उत्साही भएका छन् । उनीहरूले जुम्लामै माटोमा केही इलम गरेर बस्ने बताए । गुठीचौर १ का वडाध्यक्ष महतरा लगायतका अगुवाहरूको पहलमा उनीहरूको उद्धार गरिएको बताइएको छ ।

वडाध्यक्ष महताराले झुटो धन्दा गरी युवाहरूलाई साउदीमा अलपत्र पार्ने मेनपावर कम्पनी र कम्पनीका 'दलाल'हरूलाई कारबाहीका लागि पहल गर्ने बताए । यस क्रममा वैदेशिक रोजगार विभागले तीन दिनभित्र लिखित जवाफसहित उपस्थित हुन मेनपावर कम्पनीलाई निर्देशन दिइसकेको छ ।

Published on: 12 September 2022 | Kantipur

Link

Back to list

;