s

साउदी अरबको स्वास्थ्य परीक्षण शुल्क ३ सयले घट्यो

योगेश खतिवडा

साउदी अरब जाँदा कामदारले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्क घटाइएको छ । साउदी जाने कामदारको स्वास्थ्य परीक्षण गर्न जिम्मा पाएको गल्फ एप्रुभ मोडिकल सर्भिस एसोसिएसन (गाम्दा) ले ३ सय रुपैयाँ शुल्क कटौती गरेको हो ।

'आइतबारदेखि लागू हुने गरी हामीले स्वास्थ्य परीक्षण खर्च कटौती गरी ३ हजार ७ सय रुपैयाँ कायम गरेका छौं,' गाम्दाका अध्यक्ष रवि रौनियारले भने । गाम्दाले विगत एक महिनाअघि साउदी जाने कामदारको स्वास्थ्य परीक्षण खर्च बढाएर ४ हजार रुपैयाँ पुर्‍याएको थियो ।

एक्कासि ३० प्रतिशतभन्दा बढी शुल्क बढाएपछि वैदेशिक रोजगार व्यवसायीहरूले यसको विरोध गरेका थिए । रौनियारले विरोधको कारण शुल्क कटौती नगरेको बताए । डलरको भाउ नेपाली रुपैयाँसँग कमजोर हुँदै गएपछि शुल्क कटौती गरेको उनको भनाइ छ । 'हामीमा ४५ डलरसम्म शुल्क निर्धारण गर्ने अधिकार छ,' उनले भने, 'अहिले डलर कमजोर भएकाले शुल्क घटाएका हौं ।'

साउदी जाने कामदारले अनिवार्य रूपमा गाम्दामार्फत स्वास्थ्य परीक्षण गर्नुपर्छ । गाम्दाले नेपालमा १२ वटा मेडिकल मार्फत स्वास्थ्य उपचारको व्यवस्था गरेको छ । वैदेशिक रोजगार व्यवसायीले गाम्दाले जथाभावी काम गरेको भन्दै मंगलबार व्यवसायी भेला डाकी यसको विरोध गरेका छन् । 'गाम्दाले कुनै सल्लाहबिना एक पक्षीय रूपमा शुल्क बढाएको थियो,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुले एक कार्यक्रममा भने, 'स्वास्थ्य परीक्षण गरेका व्यक्तिहरूको रिपोर्ट पनि समयमा  आउँदैन । त्यसैले धेरैको भिसा नलागेर अड्कियो । यसले कामदार र व्यवसायी दुवै मर्कामा परेका छन् ।'

वैदेशिक रोजगार व्यवसायीहरूले गाम्दाले एक पक्षीय रूपमा जथाभावी काम गरे कानुनी उपचारको बाटोमा जानेसम्मको चेतावनी दिएका छन् । गाम्दाका अध्यक्ष रौनियारले आफूहरू नेपाल सरकारमा सूचीकृत संस्था भएको बताए । सूची अनलाइनमा नआउनुमा गाम्दाको कुनै दोष नभएको उनको दाबी छ ।

Published on: 8 February 2012 | Kantipur

Back to list

;