s

साउदी अरबको रोजगारी संकटमा

उत्तम काप्री

साउदी अरबको रोजगारी संकटमा

नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमसः गुम्दै गएको छ। साउदीमा हाल १२ प्रतिशत जनसंख्या बेरोजगारी छ।
 
सरकारले सन् २०३० भित्र देशको १२ प्रतिशत बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने भन्दै गरेको निर्णयको प्रत्यक्ष असर नेपाली कामदारमा परेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। साउदीमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले हाल विदेशी कामदार कटौती गरिरहेका छन्। साउदी सरकारले पछिल्ला दुई वर्षदेखि विकास निर्माणभन्दा बढी सिमा सुरक्षामा रकम विनियोजन गरिरहेको छ। यसका कारण साउदी अरबमा लामो समयदेखि सञ्चाल भइरहेका बहुराष्ट्रिय कम्पनी धमाधम बन्द भइरहेका छन्।
 
नेपालबाट सबैभन्दा बढी कामदार भौतिक संरचना निर्माणमै जाने गरेका छन्। साउदी सरकारले आफ्नो देशका युवाको बेरोजगारी घटाउन हरेक क्षेत्रमा अनिवार्य रूपमा १० प्रतिशत कामदार आफ्नै देशको हुनु पर्ने भन्दै लागू गरेको नियमका कारण पनि रोजगारीमा संकट आएको संघका निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन्।
 
‘मंगलबार मात्रै साउदी सरकारले १२ क्षेत्र विदेशी कामदारका लागि प्रतिबन्ध लगाएको छ’, खनालले भने, ‘साउदी सरकारको यो निर्णयले तत्कालनै असर नगरे पनि अर्को वर्ष यसको प्रत्यक्ष असर नेपाली कामदारलाई गर्छ।’ साउदीको मोबाइल फोन बेच्ने तथा मर्मत गर्ने पसलम ा नेपाली कामदारको बर्चस्व थियो। तर, अहिले यस्तो काममा साउदीका युवा प्रयोगमा ल्याउँदा नेपाली कामदारले पाउँदै आएको रोजगारी धरापमा पर्ने उनको भनाइ छ। यसैगरी महिलाले प्रयोग गर्ने भित्रि कपडा बेच्ने ठाउँमा महिला हुनैपर्ने साउदी सरकारको नयाँ व्यवस्थाले पनि कामदारको माग घट्ने निश्चित छ। साथै, सबै कम्पनीको एडमिन म्यानेजर, एचआर, एकाउन्टेन्ट र सिसेप्सनिस्ट पनि साउदीकै हुनेपर्ने अर्को नयाँ नियमले पनि नेपाली कादारले पाउँदै आएको इन डोर रोजगारी गुमिरहेको छ। यसैगरी तरकारी तथा माछा मासु बजारमा रकम लिने कामदार र मालिक साउदीकै हुनुपर्ने व्यवस्थाले पनि नेपालीको रोजगारीमा झन् संकट उत्पन्न हुने उनको भनाइ छ।
 
नेपालमै पर्याप्त रोजगारीका अवसर सिर्जना नभएको अवस्थामा सरकारले नेपाली कामदारको कोटा सुनिश्चित गर्दै दुई पक्षीय श्रम सम्झौत गर्नु पर्ने म्यानपावर व्यवसायी बताउँछन्। यसैगरी मोटर वर्कसपमा पनि साउदीकै कामदार हुनुपर्ने व्यवस्था गरिएको छ। नेपालले रोजगारदाता कम्पनीको सहमति बिनै फ्री भिसा तथा टिकटको निर्णयले पनि साउदीको रोजगारीमा संकट आएको थियो। झन् पछिल्लो सयम साउदी सरकारको एक पछि अर्को निर्णयले साउदीका रोजगारीमा संकट आउने निश्चित भएको छ। रोजगारदाता कम्पनीले बिनालगानी भारत, पाकिस्ता, श्रीलंका र बंगलादेशबाट कामदार लैजान पाएको छ। तर, नेपालबाट कामदार लैजाँदा भिसाको साथै टिकटको पैसा समेत पठाउनुपर्दा थप आर्थिक भारबाट जोगिन पनि अन्य देशबाट कामदार आपूर्ति गरिरहेको गुरुङ बताउँछन्।
 
दोस्रोबाट चौथो गन्तव्य
 
नेपालीका कामदारका लागि लामो समयदेखि साउदी अरब दोस्रो गन्तव्यको रूपमा थियो। तर, सन् २०१७ देखि भने यो चाथौ गन्तव्य बनेको छ। साउदी अरबमा आम्दानी गरेको रकम नेपाली कामदारले मलेसिया तथा दुबईमा जस्तो अनावश्यक खर्च गर्न पाउँदैन्। साउदी जाने कामदारको संख्या घटेपछि रेमिटेन्सको वृद्धिदरमा पनि गिरावट आएको छ। चालू आवको ६ महिनामा नयाँ काममा लागि विदेसिएका एक लाख ७० हजार युवामध्ये साउदी जाने कामदारको संख्या २२ हजार तीन सय ४५ मात्रै छ। मलेसिया जानेको हिस्सा ३४ प्रतिशत रहँदै गर्दा साउदी जानेको हिसा १३ प्रतिशतमा झरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।
 
यसैगरी चालू आवको पहिलो ६ महिनामा नयाँ कामका लागि विदेश गएका कामदारमध्ये २७ प्रतिशत कतार, १६ प्रतिशत दुबई, ४ प्रतिशत कुवेत र अन्य देश जानेको संख्या ६ प्रतिशत छ। विभागका अनुसार ६ महिनामा नयाँ कामका लागि म्यानपावरमार्फत कतार ४५ हजार ६५, दुबई २६ हजार आठ सय १८, साउदी २२ हजार तीन सय ४५ र कुवेत ६६ सय ७३ जना बिदेसिएका छन्।
 
तर, नेपालबाट सबैभन्दा बढी आव २०७२/०७३ मा नयाँ कामको खोजीका युवा साउदी अरब पुगेको थिए। त्यो वर्ष नेपालबाट साउदी जाने कामदारको संख्या एक लाख ३४ हजार आठ सय ३४ जना थिए। सोही वर्ष नेपाल बाट रोजगारीका लागि बिदेसिएका कामदार मध्ये ३२ प्रतिशत युवा साउदी पुगेका थिए। त्यस वर्ष नेपालबाट विश्वका विभिन्न देशमा म्यानपावरमार्फत विदेश जानेको संख्या चार लाख १२ हजार आठ सय ८७ थियो। साउदी जाने कामदारको संख्यामा आव २०६५/०६६ देखि आव २०७२/०७३ सम्म निरन्तर बढिरहेको थियो। तर, साउदीको आन्तरिक समस्या र नेपाल सरकारको फ्री भिसा तथा टिकटको निर्णयपछि ओरालो लाग्न थालेको व्यवसायी बताउँछन्।
 
नेपालबाट आव २०६६/०६७ मा ६३ हजार चार सय, आव २०६७/०६८ मा ७१ हजार एक सय १६, आव २०६८/६९ मा ८० हजार चार सय ५५ र आव २०६९/०७० मा ८६ हजार दुई सय १७ कामदार नयाँ काममा लागि साउदी अरब बिदेसिएका थिए। यसैगरी आव २०७०/ ०७१ मा ७५ हजार नौ सय १६ र आव २०७१/०७२ मा ९१ हजार तीन ७३ युवाको रोजाइमा साउदी परेको थियो। तर, आव २०७३/०४ मा भने आव २०७२/०७२ को तुलनामा झन्दै ५० प्रतिशतले कमी आएको थियो। आव २०७३/०४ मा नेपालबाट नयाँ रोजगारीका लागि साउदी जाने कामदारको सख्ंया अघिल्लो वर्षको एक लाख एक लाख ३४ हजार आठ सय ३४ बाट घटेर ७४ हजार आठ सय ७९ मा झरेको छ। यसैगरी चालू आवको ६ महिनामा भने यो संख्या घटेर २२ हजार तीन सय ३५ मा झरेको विभागको तथ्यांकले देखाउँछ।
 
Published on: 1 February 2018 | Annapurna Post

Back to list

;