s

साउदी अरबको कम्पनीमा ५० नेपाली बन्धक

साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितले गुनासो गरेका छन्। आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ। ती नेपाली
कामदारले उद्धारमा कहीँकतैबाट पहल नभएको बताएका छन्।
 
पीडितले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक आग्रह गरे पनि दूतावासले सुनुवाइ नगरेको बताए। साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी)मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो। रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा ती कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका हुन्।
 
उद्धारका लागि पटकपटक दूतावासलाई आग्रह गरे पनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन बिताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गरे। 'दूतावासमा सर्म्पक गर्दा हप्ता दिनमा भइहाल्छ भन्छन्, तर हप्ता दिन भन्दाभन्दै महिनौं बितिसक्यो, हाम्रो उद्धार हुन सकेको छैन,' पौडेलले भने।
 
दूतावासले हामीलाई यहाँबाट स्वदेश फर्कने कानुनी व्यवस्था मात्र मिलाइदिए हुन्छ, सरसापट गरेर भए पनि टिकटको व्यवस्था हामी आफैं गर्छौं।' पौडेलका अनुसार हालसम्म दूतावासको पहलमा तीनजना नेपालीलाई मात्र उद्धार गरी स्वदेश पठाइएको छ।
 
बन्दी जीवन बिताइरहेका नेपालीबारे राससले डेढ महिनाअघि समाचार सार्वजनिक गरेपछि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा उक्त कम्पनीमा पुगेर एक महिनाभित्रै उद्धार गर्ने आश्वासन दिए पनि हालसम्म काम हुन नसकेको पीडितको गुनासो छ।
 
बन्धक बनाइएका नेपालीले १२ महिनाको तलबसमेत नपाएको बताएका छन्। आवास अनुमतिपत्र अकमाको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ। गैरकानुनी तबरबाट बसेका आप्रवासी कामदारलाई यहाँको प्रहरीले जुनसुकै बेला पक्राउ गरी सिधै जेल चलान गर्ने नियम छ।
 
काम गरेको तलबसमेत नदिएर लामो समयदेखि कम्पनीले यसरी बन्धक बनाएर राख्दा पनि दूतावासले उद्धार गर्न पहल नगरेको झापाका प्रेमबहादुर तामाङले बताए। 'तलब नपाएको पीडाभन्दा बन्धक भएर बस्नुपरेकामा बढी पीडित छौं,' तामाङले भने, 'जसरी भए पनि हामीलाई घर फर्कने व्यवस्था मिलाई दिनुपर्योढ।'
 
यता कार्यवाहक राजदूत शर्माले भने बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा दूतावासले पहल गरिरहे पनि रोजगारदाता कम्पनीकै गलत नियतका कारण उद्धारमा ढिलाइ भएको बताए।
 
'बन्धक बनाइएका नेपालीको उद्धारका लागि हामी निरन्तर लागिरहेका छौं,' कार्यबाहक राजदूत शर्माले रासससँग भने, 'उनीहरुको उद्धार र स्वदेश फिर्तीका लागि पटकपटक रोजगारदातासँग आग्रह गरेका हौं। तर धेरै ढिलो भइसकेकाले श्रम अदालत र यहाँको प्रहरी प्रशासनको सहयोगमा जतिसक्दो छिटो उद्धार गर्छौं।'
 
Published on: 24 December 2015 | Nagarik
 

Back to list

;