s

साउदी अरबमा तीन सय नेपाली अलपत्र

रोजगारीका लागि साउदी अरब पुगेका तीन सय युवा काम गर्ने कम्पनीले तलब नदिएपछि अलपत्र परेका छन्। अलपत्र पर्नेमा साउदीको हाप्को कम्पनीमा कार्यरत कामदार छन्। 

कम्पनीले राहदानीसहित परिचयपत्रसमेत जफत गरेपछि आफूहरू अलपत्र परेको त्यहाँ कार्यरत नेपालीले गुनासो गरेका छन्। झन्डै तीन सय नेपाली युवालाई कम्पनीले एकै ठाउँमा राखेर बाहिर निस्किनसमेत नदिएको जानकारी साउदीमा रहेका गोपाल पुर्जाले टेलिफोनबाट दिए। 

'राहदानी र अकमा आईडी (परिचयपत्र) पनि कम्पनीले खोसेर राखेको छ', पुर्जाले भने, 'न तलब दिन्छ, न त राहदानी दिएर नेपाल पठाउँछ। हामी अलपत्र पर्‍यौं।' 

उनले कम्पनीले बाहिर निस्कन नदिँदा समयमा खानसमेत नपाएको गुनासो गरे। म्याग्दीको दोवाका उनले जनाएअनुसार पर्वत, बागलुङ, म्याग्दीसहित विभिन्न जिल्लाका युवा समस्यामा परेका छन्। 

साउदी अरबस्थित नेपाली दूतावासमा नेपालीका समस्याका बारेमा जानकारी गराए पनि बेवास्ता गरिएको पुर्जाको भनाइ छ। 

'एकपटक कम्पनीमा दूतावासको टोली आएर सोधपुछ गरेको थियो। त्यसपछि कोही पनि फर्केर आएका छैनन्', उनले भने, 'काम गरेर तलब नपाउने भए हामीलाई नेपाल फर्कने वातावरण बनाइदिए हुने थियो।' 

पुर्जा २९ महिनाअघि वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका थिए। काम लगाएर तलब पनि नदिने र नेपाल पनि नफर्काउने गरेपछि कम्पनीमा कार्यरत नेपाली आन्दोलित भएका छन्। 

Published on: 2 February 2015 | Annapurna Post

Back to list

;