s

साथीलाई युगान्डाबाट काठमाडौं बोलाएर यौन व्यवसायमा लगाएको आरोपमा महिला पक्राउ

अफ्रिकी मुलुक युगान्डाकी महिलालाई काठमाडौं ल्याएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले यौन व्यवसायमा लगाएको आरोपमा युगान्डाकै अर्की महिलालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

नताशा भनिने एमाकुलेट नाबासुम्बालाई ब्युरोले पक्राउ गरेको हो।

एसपी पंगेनीका अनुसार उनले एक जना युगान्डाकी महिलालाई पर्यटक भिसामा नेपाल बोलाएकी थिइन्। उनीहरू पुराना साथी हुन्।

नेपालमा क्लिनर, वेट्रेस लगायतको काम गर्दा ५०० अमेरिकी डलर कमाइ हुने, हवाई टिकट, भिसा लगायतको खर्चसमेत कमाएर तिर्न सक्ने भनेर उनले ती महिलालाई काठमाडौं बोलाइन्।

‘उनीहरू युगान्डाका पुरानै साथी हुन्। नजिककै साथीलाई नेपाल बोलाउन सजिलो हुने भएर उनलाई बोलाइएको थियो,’ एसपी पंगेनीले भने।

नताशाले फकाएपछि पीडित महिला गत जनवरी २८ मा नेपाल आइपुगेकी थिइन्। नताशा भने २०२२ डिसेम्बर ८ मै आएर ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्न थालेकी थिइन्।

नेपालमा झिकाएर उनले पीडितलाई आफू बस्दै गरेको होटलमा ल्याएर नेपाली तथा भारतीय मुलका व्यक्तिसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको एसपी पंगेनीले बताए।

उक्त काम नगरे परिवारलाई नै मार्ने धम्कीसमेत दिएको प्रहरीले जनाएको छ। यसरी दिनकै ५-७ जनासँग शारिरिक सम्पर्क गर्न लगाउने गरेको आरोप उनीमाथि छ। यसरी यौन व्यवसायमा लगाएपछि एक हप्तापछि पीडित बिरामी परेकी थिइन्।

बिरामी परेपछि उनी होटलबाट निस्केर युगान्डा फर्किन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पुगिन्। तर नताशाले उनको हवाई टिकट रद्द गरिदिइन्।

टिकट रद्द गरेपछि पीडित मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेकी थिइन्। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्म कारबाही गरी पाउँ भन्दै जाहेरी दिएकी थिइन्।

जाहेरी परेकै दिन प्रहरीले नताशालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। उनीमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आरोपी व्यक्ति आफैं पनि यौन व्यवसायमा संलग्न रहेको र ग्राहकको व्यवस्था पनि आफैंले गर्दै आएको देखिएको छ। ग्राहक सम्पर्कमा नआएका बेला ठमेलका विभिन्न नाइट क्लबबाट ग्राहक खोजी गर्ने गरेको पाइएको एसपी पंगेनीले बताए।

एक जना पीडितमात्रै प्रहरीको सम्पर्कमा आएको हुँदा अन्य महिलालाई पनि नेपाल झिकाएर यस व्यवसायमा लगाएको हुनसक्ने प्रहरीको अनुमान छ।

पीडितलाई यौन व्यवसायमा लगाएर पाउने गरेको रकम पनि उनी आफैंले लिने गरेको पनि अनुसन्धानबाट देखिएको छ। उनले प्रतिव्यक्ति ४ देखि ५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।

यसमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। होटलकै सञ्चालकको समेत संलग्नता छ/छैन भन्नेबारे अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

Published on: 3 March 2023 | Setopati

Link

Back to list

;