s

सशक्तीकरणको माध्यमबाट मानव बेचबिखन अन्त्य

काठमाडौँ, भदौ २१ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आर्थिक, सामाजिक सशक्तीकरणको माध्यमबाट मानव बेचबिखन अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

सो मन्त्रालयद्वारा मानव बेचबिखनविरुद्धको सोह्रौँ राष्ट्रिय दिवसको सन्दर्भमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो।

मानव बेचबिखनमा पर्ने विशेष कारणमा रोजगारीको कमीले आर्थिक उपार्जनका लागि भारतको बाटो हुँदै विदेशमा जाने प्रवृत्तिले मानव बेचबिखनको जोखिम बढेको उहाँले बताउनुभयो।

मन्त्री रेग्मीले विदेश तथा स्वदेशमै पनि रोजगारीको खोजीमा मनोरञ्जनको क्षेत्रमा काम गर्दा प्रभावित भएकालाई मन्त्रालयले उद्धार गरिरहेको बताउँदै राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय स्तरमै उद्यमको विकास गर्ने अभियान चलिरहेको बताउनुभयो।

मन्त्रालयले स्थानीय तहलाई उद्यम तथा विविध कार्यक्रमका लागि पठाएको १६ करोड रुपियाँ फ्रिज भएको उहाँले बताउनुभयो।

उहाँले स्थानीय तहले काम गरून् भनेर पठाएको बजेट सदुपयोग नहुँदा सामाजिक विकासमा अवरोध पुगेको बताउँदै बजेट सदुपयोग नहुँदा विशेषगरी महिला र बालबालिका बढी प्रभावित भएको धारणा व्यक्त गर्नुभयो।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले मानव बेचबिखनजस्तो अपराध अन्त्यका लागि मन्त्रालयले नागरिक समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो।

राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले संविधानले मानव बेचबिखन गर्ने, बन्दी बनाउन नपाउने कुरा मौलिक हकमै उल्लेख भएको बताउँदै मानव बेचबिखन अपराध भएकाले यसलाई रोक्न बृहत् प्रयासको आवश्यकता रहेको बताउनुभयो।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले आयोगले विदेशमा बेचबिखनको समस्यामा परेका महिला र बालबालिकाबारे अध्ययन र अनुगमन थालेको जानकारी दिनुभयो।

कार्यक्रममा माइती नेपालका संस्थापक अनुराधा कोइरालाले नेपाली विदेशमा बेचिएरमात्र दुःख नपाएका बताउँदै स्वदेशमै पनि मनोरञ्जनको क्षेत्रमा साना बालबालिकालाई काममा लगाउने र विविध शोषण गरिँदै आएको विचार व्यक्त गर्नुभयो।

सो अवसरमा मानव बेचबिखनविरुद्ध विभिन्न माध्यमबाट योगदान पु-याउने रसना ढकाल, सुशीला पाठक, पुनम थापा, मानव बेचबिखनविरुद्ध अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय बाँके, नेपाल समाचारपत्र, रामारोशन एफएम र सोकेश दैलेखलाई पुरस्कृत तथा सम्मान गरिएको थियो।

Published on: 6 September 2022 | Gorkhapatra

Link

Back to list

;