s

सक्सेस मेनपावरमा पासपोर्ट बुझाएका तीन दर्जन नेपाली यता न उता

भिसा नआउँदै जनहीँ पचास हजार उठाएर ‘ठगी’

खिलानाथ ढकाल  

मोरङ सुन्दर-हरैंचा ७ नम्बर चुणामणि कट्टेल वैदेशिक रोजगारीका लागि दुबईको प्रक्रिया थाल्ने सिलसिलामा सामाखुसी काठमाडौंस्थित सक्सेस डेभलपमेन्ट प्रा.लि.को सम्पर्कमा पुगेका थिए। तेह्रथुम जिल्लाबाट नागरिक लिएका उनी दुई महिनादेखि मेनपावर कम्पनी धाइरहेका छन् । उनका अनुसार मेनपावर कम्पनीले दुबईस्थित सेराटन होटलमा पठाइदिने भनी पचास हजार अग्रिम भुक्तानी लिएको थियो। जम्मा अढाइ लाख तिर्नुपर्ने ‘मौखिक सर्त’मा कट्टेलसँग गत माघ २६ गते मेनपावरले पचास हजार रुपैयाँ बुझ्यो। तर, पैसा बुझेको कागजात दिएन। कट्टेलका अनुसार अग्रिम लिएको दिन मेनपावरले २२ दिनभित्र दुबई उडाइदिने भनेको थियो। तर, फागुन अन्तिमसम्म उडाएन।

दुबई पुगेपछि हाउस किपिङ वा क्लिनरमध्ये एउटा काममा लगाइदिने मेनपावरले भनेको थियो। ‘भिसा आउनै लाग्यो, अब तालिम गर्नुपर्छ’ भनी मेनपावरले गत फागुनमा महिनामा कट्टेलसहितका तीन दर्जन सर्वसाधारणलाई काठमाडौं बोलायो। महानराजगञ्जको खुम्जुङ होटलमा पन्ध्र दिन तालिम भयो। फागनु २२ देखि चैत ५ गतेसम्म तालिम चल्यो। यसको छुट्टै १५ हजारका दरले पैसा मेनपावरले बुझ्यो। सर्टिफिकेट दियो। तर, सर्टिफिकेट भने एक वर्षअगाडिको मितिको थियो।

गत फागनु २२ देखि चैत ५ गतेसम्म तालिम लिएपछि उनलाई एक वर्षअघिको मितिमा दिइएको प्रमाणपत्र यही मितिले कट्टेल झस्केका थिए- कतै मेनपावरले ठग्न खोजेको त हैन? प्रमाण–पत्र पाएयता घटनाक्रम उनले शंका गरेजस्तै चलिरहेको छ। ‘तैपनि तालिम पनि लिइसकेपछि विदेश पुगिन्छ होला भन्ने आशमा हामीले केही भनेनौं,’ कट्टेलले भने, ‘चैत बित्यो, वैशाख बित्न लाग्यो, भिसा आउने लक्षण छैन।’ यो बीचमा उनले मेनपावर कम्पनीमा ताकेता गरे। पैसा र पासपोर्ट मागे। ‘हैन, हैन, भिसा आउँदैछ’ भनी मेनपावरले रोक्न खोज्यो।

एक हप्ता, पन्ध्र दिन भन्दै मेनपावरले झुलाइरहेपछि उनले ताकेता गरे। ‘धेरै नै गलफत्ती गरेपछि पासपोर्ट चाहिँ मेनपावरले फिर्ता दियो, पैसा फिर्ता दिँदैन,’ उनी भन्छन्, ‘पैसाको कुरा गर्दा प्रमाण खोज्छ। ऋण काढेर मेनपावरलाई बुझाएको थिएँ, पैसा डुब्यो।’ यो मेनपावरको आश्वासनमा फसेका कट्टेल एक्ला भने हैनन्। उनीसँगै तीन दर्जन बढी सर्वसाधारणलाई उक्त मेनपावरले दुबई उडाउने बहानामा अल्मल्याइरहेको छ। मेनपावरबाट पीडित व्यक्तिहरूमध्ये केही सेतोपाटीको सम्पर्कमा आएका छन्। गुल्मी दरबार गाउँपालिका वडा नम्बर २ का कमल सारुमगरलाई पनि उक्त मेनपावरले कट्टेललाई जसरी नै अल्मल्याइरहेको छ। उनले पनि मेनपावरमा अग्रिम पचास हजार रुपैयाँ बुझाएका थिए। ‘मेनवापरमा फोन गरिरहन्छु, नआत्तिनु भन्छ। न भिसा न पैसा फिर्ताको टुंगो, साह्रै अप्ठेरोमा परियो,’ सारुमगरले भने।

उनीसँगै गुल्मीका प्रदीप राशकोटीले पनि मेनपावरमा पैसा बुझाएका थिए। उनी पनि न भिसा न पासपोर्ट फिर्ता भएर बसेका छन्। सक्सेस मेनपावरमा पैसा पासपोर्ट बुझाएर भिसा कुरिरहेका मोरङ पथरी–शनिश्चरे नगरपालिका–१ का लक्ष्मी लिम्बू भन्छन्, ‘मे ५ तारिखसम्म पर्खिनु भनेका छन्।’ मेनपावर सञ्चालक गणेश मल्लसँग घरिघरि फोन सम्पर्क हुने गरेको उनले बताए। ‘मल्ल सर राम्रोसँग बोल्नुहुन्न, एक दुई बचन कुरा गरेर राखिदिनुहुन्छ,’ लिम्बूले भने, ‘के गरेको हो, अचम्म लागिरहेको छ।’ उनीसहित सोही वडाका गंगाबहादुर तामाङ, अग्नि खजुङ र सन्तकुमार लिम्बू पनि भिसा कुरिरहेका छन्। ‘माघमा जनहीँ पचास हजार माग्यो, हामीले दियौं, तर न भिसा, न पैसा फिर्ता न पासपोर्ट भएको छ,’ लिम्बूले भनिन्।

सुनसरी बराहक्षेत्र नगरपालिका–३ का विष्णु धामी पनि मेनपावर कम्पनी धाइरहेका छन्। तिरेको पैसा र पासपोर्ट फिर्ता मागिरहेका छन्। उनीसहित रुपक धामी र अनुज धामी पैसा फिर्ता पाउने आशले मंगलबार काठमाडौं आएका छन्। उनीहरूका अनुसार मेनपावर कम्पनीले मंगलबार पैसा दिने भनेको थियो। ‘मेनपावर दिनहुँ गइरहेका छौं, शुक्रबारसम्ममा पैसा दिने कुरा छ। पैसाबिना पासपोर्ट फिर्ता लिने कुरा पनि भएन,’ विष्णुले भने। सेतोपाटीसँग सम्पर्कमा आएकाले आफूहरू ठगिएको शंका गरेका छन्। मेनपावरमा बिना कागज जनहीँ पचास हजार बुझाएका उनीहरूले आफूहरूजस्ता ६० जनाभन्दा बढी व्यक्तिहरू त्यो मेनपावरमा अल्झिरहेको बताएका छन्। मेनपावर कम्पनीको गतिविधि उनीहरूले शंका गरेजस्तै देखिन्छ।

रितपूर्वक दर्ता भएका मेनपावर कम्पनीहरूले श्रममा नेपालीहरूलाई विदेश पठाउने गर्छन्। वैदेशिक रोजगार विभागका अनुसार विदेश पठाउने पहिलो आधार ‘डिमान्ड लेटर’ हो। जब कम्पनीले ‘डिमाण्ड लेटर’ पठाउँछ त्यसपछि श्रमको प्रक्रिया सुरू हुन्छ। श्रम विभागबाट पूर्वस्वीकृति लिएपछि मात्र मेनपावरले अन्तर्वार्ता र कामदार छनोट प्रक्रिया थाल्न पाउँछन्। सक्सेस यो प्रक्रियामा गएको देखिँदैन। सम्बन्धित काममा दक्ष कामदारले मेनपावर कम्पनीमा डिमाण्ड लेटर आइसकेपछि कम्पनीकै प्रतिनिधिबाट नेपालमा हुने अन्तर्वार्तामा सामेल भएर युएई जाने प्रक्रिया थालनी गर्छन्। सिपको कामको लागि कम्पनीका प्रतिनिधिले सिप परीक्षण र अन्य योग्यताको समेत जाँच गर्छन्।

कतिपय बिना योग्यताका काममा बायोडाटा र शैक्षिक योग्यताको प्रमाण–पत्रका आधारमा बिना अन्तर्वार्ता भिसा उपलब्ध हुनसक्छ। फ्याक्ट्री वर्कर, हेल्पर, लेवर, क्लिनिङ्ग लगायतका काममा यस्तो हुन्छ। वैदेशिक रोजगार विभागका अनुसार भिसाको प्रकृतिअनुसार त्यसको शुल्क विदेश जाने टुंगो भएपछि मात्र मेनपावरले बुझ्न पाउँछन्। कम्पनीको शुल्क कति हो त्यो समेत खुलाएर कसबाट कति पैसा लिएको मेनपावरले कागजात सम्बन्धित व्यक्तिलाई दिनुपर्ने नियम छ। सो शुल्कबाहेक हवाई टिकट विदेश जाने स्वयंले व्यहोर्नुपर्छ। विभागका महानिर्देशक भीष्मकुमार भुसालले यस प्रकरणमा तुरुन्तै कारबाही आवश्यक रहेको बताए। ‘दुबई जाने विभिन्न प्रक्रियाहरू छन्, तर भिसा प्रक्रिया सुरू नहुँदै पैसा उठाएको र कागजात नदिएको भन्ने विषय गम्भीर छ, गुनासो आए तुरुन्त कारबाही चलाउन सकिन्छ,’ उनले भने।

सेक्सेस मेनपावर सञ्चालक गणेश मल्लले भने भिसा प्रक्रियाका लागि समय लाग्ने बताउँदै मेनपावर कम्पनीले कुनै पनि बदनियत नराखेको बताए। उनले भिसा प्रक्रिया सबै पूरा गरेर नै आफूले काम अगाडि बढाएको र कसैसँग पनि अग्रिम पैसा नलिएको बताए। ‘यहाँ आएर बुझ्न सक्नुहुन्छ, व्यक्तिहरूले आफ्ना कुराहरू फरक–फरक तरिकाले राखिरहेका हुन्छन्,’ उनले भने, ‘अगाडि नै पैसा लिएको भन्ने के प्रमाण छ?’

Published on: 2 May 2019 | Setopati

Back to list

;