s

सर्त पूरा नभई बायोमेट्रिक सुरु

श्रम तथा रोजगार मन्त्रालयको ६ बुँदे र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको २ बुँदे सर्त पूरा नभई नेपालका ३९ मध्ये बहुसंख्यक मेडिकल व्यवसायीले कामदारको स्वास्थ्य परीक्षणमा विवादास्पद बायोमेट्रिक प्रणाली लागू गरिसकेको फेला परेको छ। 
 
बायोमेट्रिक परीक्षण कुन मेडिकलले गरेको हो भन्ने कामदारको मेडिकल रिपोर्टबाट खुल्दैन। तर, मेडिकल रिपोर्टमा मलेसियाको संघीय प्रशासनिक केन्द्र पुत्रजयको झन्डा र बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीको लोगो छ। बेस्टिनेट बायोमेट्रिक प्रणाली लागू गर्ने जिम्मेवारी पाएको मलेसियाको निजी कम्पनी हो। ‘८ बुँदे सर्त (मन्त्रालयको ६ बुँदा र श्रम समितिको २ बुँदा) पालना नभई एकतर्फी रूपमा बायोमेट्रिक प्रणाली लागू भयो,’ नेपाल वैदेशिक रोजगार स्वास्थ व्यवसायी संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठले भने, ‘यसमा मिलेमतो छ।’
 
श्रम समितिका सभापति प्रभु साहले मेडिकल व्यवसायी संघको प्रथम वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै बायोमेट्रिक प्रणालीले राष्ट्रियतामै गम्भीर प्रश्न उठाएको बताए। ‘कुनै देशले यो मेडिकल भन्ने त कुनैले त्यो मेडिकल भन्ने। नेपाल आफ्नो कानुनअनुसार चलिरहेको छ कि अरू देशको कानुनअनुसार चलिरहेको छ?’ उनले प्रश्न गर्दै भने, ‘हस्तक्षेप भइरहेको छ। राष्ट्रियतामा गम्भीर प्रश्न खडा भएको छ। नेपालको आफ्नो स्वाभिमान छैन?’ बायोमेट्रिकजस्तो सुरक्षाका हिसाबले संवेदनशील विषयमा श्रम समितिमा चर्को विरोध भएको थियो। समितिका सदस्य मलेसिया भ्रमण गरेर फर्किएपछि बायोमेट्रिक प्रणाली लागू गर्नु आवश्यक रहेको प्रतिवेदन दिएको थियो। भ्रमणमा लागेको खर्चको स्रोत भने हालसम्म खुल्न सकेको छैन। 
 
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले नेपालमा मात्र पाइलट प्रोजेक्टका रूपमा नभएर मलेसिया कामदार पठाउने १४ मुलुकमा एकैपटक लागू गर्नुपर्ने, सफ्टवयर तथा अनलाइन प्रणालीमा नि:शुल्क पहुँच हुनुपर्ने, कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी नि:शुल्क हुनुपर्ने, सूचीकृत सबै मेडिकलले बायोमेट्रिक प्रणाली पाउनुपर्ने, सरकारले निर्धारण गरेको स्वास्थ्य शुल्कमात्र लिन पाउने र स्वास्थ्य परीक्षणको गुणस्तरीयता सुनिश्चित हुनुपर्ने सर्त राखी गत वर्ष असारमै मलेसिया सरकारलाई पत्र पठाएका थिए। मलेसियाको नेपालस्थित दूतावासले करिब ५ महिनाअघि पत्राचार गरी सरकारको ६ बुँदे सर्त नमान्ने स्पष्ट संकेत गरेको थियो। दूतावासको पत्रमा नयाँ सूचना जारी नभएसम्म अतिरिक्त शुल्क नलिने र नेपाल सरकारले सूचीकृत गरेकै मेडिकलमध्येबाट बायोमेट्रिक प्रणाली लागू गर्ने मात्र उल्लेख छ। 
 
६ बुँदे सर्तका अतिरिक्त समितिले मलेसिया पुगेका कामदारको त्यहाँ स्वास्थ्य परीक्षण गर्दा खराबी देखिए र त्यस्तो मेडिकल रिपोर्टमा चित्त नबुझे अन्य सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने सर्त आफ्नो प्रतिवेदनमा थपेको छ। त्यस्तै बायोमेट्रिक प्रणालीको सम्पूर्ण डाटाबेसमा सरकारको पहुँच हुनुपर्ने सर्त पनि उपसमितिको प्रतिवेदनमा छ। मन्त्रालयले गत असार २५ मा समितिको प्रतिवेदन समेत थपेर ८ बुँदे सर्त राखी ६ महिनाका लागि बायोमेट्रिक प्रणाली परीक्षण गर्न स्वीकृति दिँदै मलेसिया पत्राचार गरिसकेको छ। तर, त्यस विषयमा मलेसिया सरकारको जवाफ नआउँदै व्यवसायीले भने बायोमेट्रिक प्रणाली लागू गरिसकेका छन्। तर, राज्यमन्त्री गुरुङका सल्लाहकार रमेश कोइरालाले बायोमेट्रिक प्रणाली लागू भएको विषयमा मन्त्रालयलाई जानकारी नभएको बताए। ‘हामीले ६ महिना परीक्षणकाल तोकेर सर्तसहित बायोमेट्रिक प्रणाली लागू गर्न सक्ने जानकारी मलेसिया सरकारलाई पठाएका थियौं,’ उनले भने, ‘त्यसको जवाफ नै नआई बायोमेट्रिक प्रणाली लागू हुँदैन।’ राज्यमन्त्री गुरुङले मलेसियाबाट जवाफ आएपछि बायोमेट्रिक प्रणाली परीक्षणकालका रूपमा लागू हुने बताए। ‘कसैले लुकीचोरी लागू गरेको भए अर्को कुरा हो, औपचारिक रूपमा लागू भएको छैन,’ उनले भने। 
 
स्वास्थ व्यवसायी महासंघको अगुवाइमा बायोमेट्रिक प्रणाली नेपाल भित्रिएको हो। तर, पछिल्लो समयमा महासंघले बायोमेट्रिक प्रणालीको छाडिसकेको दाबी गर्दै आएको छ। बायामेट्रिक प्रणाली लागू गर्ने ‘सेटिङ’ मिलाउन ३९ मेडिकलसँग करिब ५० लाख रुपैयाँका दरले पैसा उठाइएको छ। त्यसमध्ये अधिकांश मेडिकलले पूरै पैसा तिरिसकेको र अधिकांशले आंशिकमात्र पैसा बुझाएको व्यवसायीहरूको भनाइ छ। हाल ३९ वटा मेडिकलमा बायोमेट्रिक प्रणाली जडान गरिएको छ। बायोमेट्रिक प्रणालीका लागि हरेक मेडिकलले ८ लाख रुपैयाँ तिरेका छन्। नेपालमा हाल कामदारको स्वास्थ्य परीक्षण गर्ने करिब ३ सय मेडिकल सञ्चालनमा छन्। बायोमेट्रिक प्रणाली लागू भए करिब २ सय ६० मेडिकल बन्द हुने अवस्थामा पुग्नेछन्। 
 
व्यवसायीहरूका अनुसार बायोमेट्रिक प्रणालीका लागि उक्त कम्पनीले प्रतिकामदार १ हजार ५ सय रुपैयाँ असुल्ने योजना छ। त्यस हिसाबले नेपाली कामदारबाट उक्त कम्पनीले वार्षिक करिब १६ करोड रुपैयाँ असुल्नेछ। नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष समशेर नेपालीले बायोमेट्रिक प्रणाली राखी कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकल सरकारप्रति नभएर मलेसिया सरकारप्रति जिम्मेवार भएको बताए। 
 
Published on: 9 August 2015 | Kantipur
 

Back to list

;