s

‘शरणार्थी भेष’ मा बढ्दै छ घुसपैठ

मातृका दाहाल, लिला श्रेष्ठ

काठमाडौँ — रूपन्देहीको बेलहिया नाकाबाट कात्तिक ३ मा भित्रिएका एकै परिवारका ५ अफगान नागरिक कात्तिक ८ मा काठमाडौंको सिनामंगलबाट पक्राउ परे । सरकारलाई सुइँकोसम्म नदिई संयुक्त राष्ट्रसंघको नेपालस्थित उच्च आयुक्त (यूएनएचसीआर) कार्यालयले उनीहरूलाई अस्थायी कागजात बनाउन प्रक्रिया अघि बढाएको खुल्यो । थप ६ अफगान नागरिक असोज १२ मै बेलहिया नाकाबाट भित्रिएर यूएनएचसीआरको संरक्षणमा बसेको प्रहरी अनुसन्धानले पत्ता लगायो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा पठाउने प्रलोभनमा मानव तस्करले पाकिस्तानी नागरिक फिजान अहमदलाई असोज १८ मा साउदी अरबबाट काठमाडौंमा ल्याएर छाडिदियो । उनलाई विमानस्थलमा दुई पाकिस्तानी जिसान मुहम्मद र ताज रिजवानले रिसिभ गरेर ललितपुरको सिभिल होम पुर्‍याए । त्यहीं बन्धक बनाएर पाकिस्तानमा रहेका फजानका परिवारसँग २५ हजार अमेरिकी डलर मागेपछि शौचालय जाने निहुँमा भागेर उनी ललितपुर प्रहरीमा पुगे । उनको उजुरीपछि बन्धक बनाउने दुवै पाकिस्तानीलाई प्रहरीले ठमेल क्षेत्रबाट पक्राउ गर्‍यो ।

म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीमध्येका १४ जनालाई मानव तस्करले झापाको काँकडभिट्टा हुँदै गुपचुप काठमाडौंको कपनमा ल्याएर छाडिदिए । नेपालबाट युरोप–अमेरिकालगायत देश जान सहज हुन्छ भन्दै पैसा असुलेर रोहिंग्यालाई समूहगत रूपमा काठमाडौंसम्म ल्याएको खुल्यो । प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा सहजै पार गरेर तस्करले रोहिंग्यालाई समूहगत रूपमा काठमाडौंसम्म ल्याउँदा सुरक्षा संयन्त्रले सुइँकोसम्म पाएन । पछिल्लो पटक कात्तिक पहिलो साता नै रूपन्देहीको बेलहिया नाकाबाटै थप १० अफगान नागरिक नाका छलेर काठमाडौंसम्म आएको सूचना सुरक्षा संयन्त्रलाई आएको छ । तर अफगान नागरिक लुकीछिपी बसेको स्थान अझै खुल्न सकेको छैन ।

द्वन्द्वग्रस्त देशबाट स्थल नाका हुँदै विदेशी नागरिक कसरी सहजै नेपाल आएर सेल्टर लिइरहेका छन् भन्ने यी तथ्यले प्रस्ट पार्छन् । जसले सीमा निगरानी र आन्तरिक सुरक्षा कतिसम्म लापरबाह छ भन्ने देखाउँछ । सीमा सुरक्षाका लागि अग्रभागमा सशस्त्र प्रहरी र त्यसपछि नेपाल प्रहरी खटिन्छन् । चीनसँग नाका बन्द भएका कारण सहजै आउजाउ कठिन छ । तर, भारतसँगको करिब १ हजार ८ सय ८० किमि लम्बाइको खुला स्थल नाकाबाट सहजै आवागमन गर्न सकिन्छ । त्यसलाई मध्यनजर गर्दै सीमा सुरक्षा र सीमापार अपराध रोकथाम तथा नियन्त्रण गर्न सशस्त्रका २ सय २० स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) तैनाथ छन् । करिब १ सय सीमा क्षेत्रमा नेपाल प्रहरीको सीमा प्रहरी चौकीमार्फत सुरक्षा संयन्त्र तैनाथ गरिएको छ । राष्ट्रिय अनुसन्धान विभाग पनि सीमापार अपराध रोकथाम तथा नियन्त्रणकै लागि सूचना संकलनमा खटिँदै आएको छ ।

अध्यागमन र सीमा प्रशासन कार्यालय पनि सीमा क्षेत्र सुरक्षा एवं विदेशी नागरिकको नियमनमा तैनाथ गृहका संयन्त्र हुन् । तर, यी सुरक्षा घेरा सहजै पार गरी कसरी तेस्रो देशका नागरिक घुसपैठ गरी सहजै प्रवेश गर्छन् भन्ने प्रश्न सुरक्षा संयन्त्रमाथि तेर्सिएको छ । तेस्रो देशबाट भित्रिएका नागरिक ‘शरणार्थी’ भेषमा बस्न थालेपछि त्यसले दीर्घकालीन रूपमा असर पर्न सक्ने सरकारको ठम्याइ छ । तर, यसलाई बेलैमा नियन्त्रण गर्न भने सरकारबाट ठोस कदम चालिएको छैन ।

अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौं आइपुगेपछि प्रहरीले नियन्त्रणमा लिएका अफगान नागरिकबाट बरामद भारतीय आधार कार्ड ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अन्तर्राष्ट्रिय सीमाबाट घुसपैठ गरी तेस्रो देशका नागरिक भित्रिएको विषयलाई गम्भीर रूपमा लिइएको बताए । त्यसलाई नै मध्यनजर गरेर भारतीय नागरिक नेपाल आउँदा परिचयपत्र अनिवार्य गर्नुका साथै सीमामा स्थानीय र प्रदेश सरकारसँग समेत समन्वय गरेर सीसीटीभीलगायतका प्रविधिबाट नियमन/निगरानी बढाउन निर्देशन दिइएको उनको भनाइ छ । ‘सीमाबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ रोक्न प्रवेश बिन्दुमै सुरक्षा जाँचमा कडाइ गर्ने र भित्रिएकालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनेबाहेक अर्को विकल्प छैन, त्यसअनुसार नै सुरक्षा संयन्त्रलाई क्रियाशील बनाइएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘विदेशी नागरिकको घुसपैठले राष्ट्रिय सुरक्षासमेतमा प्रतिकूल असर पर्न सक्नेतर्फ सरकार गम्भीर र सचेत छ ।’

वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा दैनिक सरदर १ हजार ५ सय जना नेपालबाट बाहिरिन्छन् । तर, विभिन्न मुलुकबाट गैरकानुनी रूपमा भित्रिएका विदेशी किन नेपालमा आएर आश्रय लिन चाहन्छन् ? किन उनीहरूको रोजाइको सेल्टरमा नेपाल नै परेको छ ? एक सुरक्षा अधिकारी भन्छन्, ‘नेपालको भारतसँग खुला सिमाना छ तर सीमा नियमन र तेस्रो देशका मानिस प्रवेशमा कडाइ छैन, दशकौंदेखि बसेका तिब्बती र भुटानी शरणार्थी समस्या समाधान नहुँदा त्यसकै आडमा अरूले पनि खेल्न चाहेको देखिन्छ ।’ नेपालमा अवैध शरणार्थीर्लाई यूएनएचसीआरले सहजै संरक्षण गर्दासमेत द्वन्द्वग्रस्त मुलुकबाट अवैध रूपमा विदेशी नागरिक भित्रिने गरेको ती सुरक्षा अधिकारीको टिप्पणी छ । 

नेपालमा तिब्बती र भुटानीबाहेक अरूलाई ‘शरणार्थी मान्यता’ दिइएको छैन । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय नाकाबाट गैरकानुनी रूपमा प्रवेश गरी छिरेका रोहिंग्या, अफगान, पाकिस्तानीलगायत देशका नागरिक ‘शरणार्थी भेष’ मा बस्नेको संख्या बढ्दो क्रममा छ । गृह मन्त्रालयले रोहिंग्या, अफगानलगायत देशबाट गैरकानुनी रूपमा भित्रिएकाबाट दीर्घकालीन रूपमा राष्ट्रिय सुरक्षामै खतरा पर्न सक्ने भन्दै सीमाबाट हुने नाकाछली रोक्न चार वटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । तर, सीमा क्षेत्रमा गैरकानुनी घुसपैठ रोक्न सरकारले दीर्घकालीन पहल गरेको छैन ।

यूएनएचसीआरमाथि प्रश्न

तालिवान सत्तामा आएपछि अफगान नागरिक भारतको बाटो भएर नेपाल छिर्न थालेपछि सतर्क रहन सीमाका सुरक्षा संयन्त्रलाई एक साताअघि गृह मन्त्रालयले निर्देशन दिएको थियो । तर, सीमा छलेर भित्रिएकालाई यूएनएचसीआरले गुपचुप अस्थायी बसोबासको कागजात बनाइरहेको छ । पछिल्लो पटक ११ अफगानलाई यूनएचसीआरले सरकारलाई सुइँकोसम्म नदिई कागजात बनाएकामा केन्द्रीय सुरक्षा समिति बैठक नै डाकेर गृह मन्त्रालयले आपत्ति जनाइसकेको छ । गत साता गृह मन्त्रालयले राष्ट्रिय सुरक्षा र नेपालको सार्वभौमिकतासँग जोडिएका विषयमा प्रवेश गरेर यूएनएचसीआरले घुसपैठ गरी भित्रिएकालाई कागजात बनाइदिएको भन्दै यूएनएचसीआरकी नेपाल प्रमुख कारोलिन स्पानुथ बर्मासँग असन्तुष्टि जनाएको थियो । 

 यूएनएचसीआरले अन्तर्वार्ताका लागि अफगान नागरिकलाई दिएको 'अपोइन्टमेन्ट स्लिप' 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले विदेशी नागरिक सीमाबाट घुसपैठ गरी नेपाल छिर्न थालेपछि सीमानाकामा सुरक्षा निगरानी बढाइएको बताए । गृह मन्त्रालयको निर्देशनपछि भारतबाट आउने सबैको परिचयपत्र अनिवार्य गरिएको उनको भनाइ छ । मंगलबार मात्रै केन्द्रीय सुरक्षा समिति बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले विदेशीको अवैध घुसपैठ रोक्न साधनस्रोत र जनशक्तिसहित प्रभावकारी परिचालनको व्यवस्था मिलाउन तथा अनअराइभल भिसा प्रणालीमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिएका थिए । महानिरीक्षक थापाले राजकीय र अफिसियल भ्रमणबाहेक हरेक देशका नागरिक सम्बन्धित देशमा भएका दूतावास र तोकिएका नियोगबाट भिसा लगाएर आउने व्यवस्था मिलाउन सुझाव दिएका थिए ।

यूएनएचसीआरमार्फत पुरुषले ५ हजार ७ सय ५०, महिलाले ३ हजार ७ सय ५० र बालबालिकाले २ हजार ७ सय ५० रुपैयाँ मासिक भत्ता पाउने र एक वर्षपछि अमेरिका जान यूएनएचसीआरबाटै व्यवस्था मिल्ने प्रलोभन देखाएर मानव तस्करले रोहिंग्यालाई काठमाडौंसम्म ल्याएको अनुसन्धानबाट खुलेको छ । तर, आफ्नो संस्थाको नाम देखाएर विदेशीलाई गैरकानुनी रूपमा भित्र्याएको विषयमा यूएनएचसीआरले औपचारिक धारणा सार्वजनिक गरेको छैन । गृह मन्त्रालयमा भएको छलफलमा यूएनएचसीआर प्रमुख कारोलिन स्पानुथ बर्माले ‘मानवअधिकारको विषय भएकाले आफूहरूले संरक्षण दिएको’ जिकिर गरेकी छन् । 

पछिल्लो पटक रोहिंग्यालाई नेपाल ल्याउने कपन बस्ने सफिक आलम, डल्लु बस्ने आजमत अली र नूर अमिन पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशमा तीनै जना थुनामा गएका छन् । तर, अफगानलाई भित्र्याउनेको अहिलेसम्म अत्तोपत्तो छैन । सिनामंगलको होटलमा सेल्टर लिएर बसेका एक अफगान नागरिक प्रहरीले निगरानी थालेको सूचना पाएपछि फरार भए ।

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआईजी धीरजप्रताप सिंहले विदेशी नागरिक शरणार्थी भेषमा भित्रिएर गुपचुप सेल्टर लिएर बसेको सूचनापछि खोजबिन र अनुसन्धान जारी राखिएको बताए । ‘गैरकानुनी रूपमा विदेशी नागरिक भित्रिन थालेको सूचना पाएपछि अनुसन्धान र निगरानी बढाएका छौं, त्यही क्रममा ११ अफगान काठमाडौंबाटै पक्राउ परेका हुन्,’ डीआईजी सिंहले भने, ‘नाका छलेर अरू पनि भित्रिएका हुन सक्छन्, त्यसलाई गम्भीर रूपमा लिँदै अनुसन्धान गरिरहेका छौं ।’

गृह मन्त्रालयले रोहिंग्या र अफगान नागरिक भारतीयको भेषमा नेपाल प्रवेश गर्न सक्ने जोखिम औंल्याउँदै भारतीयलाई नेपालमा परिचयपत्र अनिवार्य गरेको छ । काठमाडौंलगायत देशभर परिचयपत्रबिनाका कसैलाई पनि काममा नलगाउन र कोठा बहालमा नदिन पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।

५ अफगान नेपाल फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकाको राजधानी कोलम्बो हुँदै मेक्सिको पुगेका ५ अफगान नागरिकलाई त्यहाँको अध्यागमन प्रशासनले नेपाल फर्काइदिएको छ । अध्यागमन विभागले आइतबार साँझ श्रीलंकन एयरलाइन्समार्फत कोलम्बो हुँदै एकै परिवारका ५ अफगानलाई मेक्सिको पठाएको थियो । तर, मेक्सिकोस्थित अध्यागमन प्रशासनले उनीहरूलाई मेक्सिको प्रवेश नदिई विमानस्थलबाटै फिर्ता (इन्ट्री रिफ्युज) गरेको हो । उनीहरू मेक्सिकोबाट कोलम्बो हुँदै मंगलबार बिहान १०ः४५ मा श्रीलंकन एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका छन् ।

४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीय नाजिफा स्तानिकजाई, २ छोरी १७ वर्षीया मिसबाह जैनाव स्तानिकजाई र १२ वर्षीया नुरुल हाया स्तानिकजाई तथा ८ वर्षीया छोरा मोहम्मद रायन स्तानिकजाई काठमाडौं आइपुगेको स्रोतको भनाइ छ । उनीहरूलाई अध्यागमन विभागको ‘डिटेन्सन रुम’ मा राखिएको छ । थप निर्णयका लागि गृह मन्त्रालयसँग परामर्श गरिरहेको विभागले जनाएको छ । उनीहरूकै रोजाइमा विभागले आइतबार मेक्सिको पठाएको थियो ।

Published on: 3 November 2021 | Kantipur

Link

Back to list

;