s

सर्लाहीमा श्याम परदेशी जस्तै सिराहामा शिवजी यादव : मुसहरमाथि अत्याचार

मणिलाल विश्वकर्मा

 

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ४ इँटाटारका २० वर्षीय रामभजन सदा पछिल्लो एक वर्षदेखि भारतमा बेपत्ता छन् । आमा फुलोदेवी सदाय छोराको पर्खाइमा छिन् । छोरा बेपत्ता भएपछि घर भताभुंग छ । जसले रोजगारीका लागि भन्दै भारत पुर्‍याएका थिए, उनीहरूले रामभजनको अवस्थाबारे केही जवाफ दिन सकिरहेका छैनन् । बरु, एक–अर्को वहानमा पन्छिरहेका छन् ।

यो कथा रामभजनको मात्र होइन, औरही गाउँपालिकाका मुसहर समुदायमाथि शृंखलाबद्ध रूपमा भएको उत्पीडिन र त्यसले जन्माएको त्रासदीको चित्र हो । र, यसको तार जोडिन्छ– ०७४ को स्थानीय चुनावमा औरही गाउँपालिका अध्यक्षका प्रत्याशी शिवजी यादवसँग । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट चुनाव लडेका थिए । 

सिराहाको औरही गाउँपालिका–४ इँटाटारस्थित मुसहर बस्ती

उनीसहित तीनजनाले मुसहर बस्तीका युवालाई ठेक्कापट्टामा भारत पुर्‍याउने, मजदुरी गराउने, तर रकम माग्दा उल्टै बन्धक बनाउने ‘गोरखधन्धा’ चलाएका छन् । यो धन्दामा यादव, उनका मामाका छोरा रामबाबु यादव र इँटाटार गाउँमा घर भएका साला भागवत यादव छन् । उनीहरूमाथि मुसहर युवाको श्रम र आर्थिक शोषण गर्ने आरोप छ । यद्यपि उनीहरू आरोप निराधार रहेको बताउँछन् । 

शिवजी यादव

रामभजनलाई शिवजीका साला भागवतले पाँचौँपल्ट भारत पु¥याएका थिए । ०७२ देखि अन्तिमपटक ०७६ साउनतिर गाउँलेसमेत रहेका भागवतले रामभजनलाई हरियाणा पुर्‍याएका थिए । ‘पछिल्लोपटक गएको पनि एक वर्ष भयो, अहिलेसम्म भाइ फर्किएको छैन, बाँचेको छ या मारिदिए । हामी निकै चिन्तामा छौँ,’ रामभजनका दाजु रामसेवकले नयाँ पत्रिकासँग भने । 

रामबाबु यादव

उनले भाइलाई कसरी भारत पुर्‍याइएको थियो भन्ने पनि सुनाए, ‘विवाहमा लिएको २५ हजार रूपैयाँ दिऊ, नभए काम गर्न भारत जानुपर्छ भन्दै लगातार हाम्रो परिवारमाथि दबाब दिइरहेका थिए । त्यसपछि आमाले बल्लबल्ल १५ हजार रुपैयाँ ऋण गरेर दिनुभयो । तर, उनीहरूले मानेनन् । यतै (गाउँमै) काम गर्छौँ भन्दा पनि सुनेनन् । जबर्जस्ती भाइलाई भारत लगे ।’

एक वर्षदेखि छोरा बेपत्ता छ, खबरले आमा चिन्तित छिन् । बुहारी कवुतरी र काखे नातिनी माइतीघरमा आश्रय लिएर बसेका छन् । आमा फुलोदेवी सदाय भन्छिन्, ‘जतिपल्ट सोध्दा पनि थाहा छैन भन्छन् । जसले लग्यो उसलाई थाहा नहुने भए कसलाई हुन्छ ?’

फुलोवती सदा

रामभजनलाई आफूले बेपत्ता नबनाएको, ऊ आफैँ भागेको शिवजी बताइरहेका छन् । उनी भन्छन्, ‘मिलमा काम गर्दा चोरी गर्थ्यो, कैयौँपल्ट मिलका गार्डले रंगेहात पक्रेर मेरो मुन्सी भागवतले छुटाएको हो । मिलनजिकै रहेको पेट्रोल पम्पमा २८ हजार रुपैयाँ भारुसहित चोरी गरेपछि त्यो पनि मेरै मुन्सीले तिरिदिएको छ । चोरी गर्ने काममा पल्किएका रामभजन गाउँका साथीहरूसँग मिलबाट भागेका रहेछन् । अन्य गाउँ फर्किए । उनी कहाँ गए भन्ने थाहा भएन ।’

शिवजीसहितको टोलीले कपाली तमसुक बनाएरसमेत स्थानीय मुसहरमाथि ठगी गरेको आरोप छ । मुसहर युवालाई भारत पुर्‍याएर काम लगाउने र रकम माग्दा उल्टै ‘गिरानी पर्‍यो’ भन्दै बन्धक बनाउने, कुटपिट गर्ने, कपाली तमसुक बनाउने र कहिलेकाहीँ थलोमा रहेको भैंसी खोलेरसमेत लग्ने गरेको पीडितको भनाइ छ ।

औरही– ४ इँटाटार गाउँका ३७ वर्षीय महेश सदाय तिनै पीडितमध्येका एक हुन्, जसलाई शिवजी, उनका छोरा र सालासहितले कुटपिट गर्दै अपहरणको शैलीमा औरहीस्थित आफ्नो घर पुर्‍याएका थिए । घटना २३ साउनको साँझको हो ।

पीडित महेशले भने, ‘घरमा पुर्‍याएर कुटपिट गरे, बन्धक बनाए । खोज्दै आएकी आमा कुसुम, पत्नी रिना र भाइ रमेशलाई रकम फिर्ता नगरेकाले रकम असुल्न ल्याएको’ भन्दै थर्काए ।’ महेशका अनुसार घर खर्च चलाउन भारत जानुअगावै लिएको ३४ हजार रुपैयाँको ब्याजसहित ४६ हजार रुपैयाँको तमसुक बनाएपछि मात्र उनीहरूले छाडेका थिए ।

जबर्जस्ती काममा भारत गएका र फर्केकाहरू आफूहरूमाथि श्रम र आर्थिक शोषण भएको सुनाउँछन् । शिवजीले वर्षौँदेखि साला भागवतलाई मुन्सी बनाएर राखेका छन् । उनले भाइ रामबाबुसँग मिलेर भारतको हरियाणा राज्यको होडल सहरमा मुसहर युवालाई पुर्‍याउने गरेका छन् । मुन्सीमार्फत भोकभोकै काममा जोताउने गरेको गाउँ फर्किएका बताउँछन् ।

महेशले भने, ‘हरेक दिन बिहान ६ बजेतिर आँखा मिच्दै काममा खटिन सुरु भएपछि दिउँसोको खाना खान आधा घन्टाबाहेक मध्यरातसम्म खटिनुपथ्र्यो ।’ कामले थाकेका महेशले घर फर्काइदिन भन्थे, तर उल्टै कुटपिट गर्थे । ‘शरीरले आराम नपाएपछि थलिएँ । घर फर्काइदेऊ भन्दा उल्टै कुटपिट गरेर काममा खटाउँथे,’ भारत पुगेको महिना दिन नपुग्दै काम गर्न नसक्ने भएपछि बाध्यताले भागेर घर आएको उनले सुनाए ।

घर फर्किएपछि उनी जनकपुरमा सिलाइको मजदुरी गर्न गएका थिए । रक्षाबन्धनमा घर फर्किएको थाहा पाएपछि २३ साउनमा घरमै आएर उनीमाथि शिवजीको टोलीले कुटपिट गरेको थियो । महेशका अनुसार उनले भारतमा काम गर्दाको एक पैसा पनि पाएनन् । घरमै बन्धक बनाई औरही पुर्‍याउँदासम्म गरिएको कुटपिटले दाहिने कानले राम्ररी सुन्न छोडेको उनको गुनासो छ । ‘व्यक्तिगत लेनदेनको कुरा कसैलाई सुनाए परिवारलाई नै छोड्दिनँ भन्दै धम्क्याएपछि उपचार गराउन पनि जान सकिनँ,’ उनले भने ।

बस्तीका अर्का पीडित हुन्, ४५ वर्षीय रामभरोसी सदा । ‘०६६ देखि ०७५ सम्म नौ वर्षसम्म सेलर मिलमा दिनरात बोरा बोक्ने काम गर्दा पनि फर्किने वेलामा उल्टै तीन सय रुपैयाँ आफूमाथि ऋण रहेको उनले सुनाए । सदाले भने, ‘कमाइ नै नहुने काम गर्दिनँ भन्दा फर्किने भाडासमेत दिएनन्, गाउँकै साथीहरूसँग सापटी मागेर रित्तो हात घर फर्किएँ ।’ फर्किएलगत्तै २० हजार रुपैयाँ तिर्नुपर्छ भन्दै धम्क्याउन थालेपछि आफन्तसँग २० हजार रुपैयाँ ऋण गरेर बुझाएको सदाको गुनासो छ ।

रामचन्द्र सदा र उनकी पत्नी ककुलवती

आर्थिक शोषण गर्न पल्किएका रामबाबुले स्थानीय रामचन्द्र सदाकी पत्नी ककुलवतीले झुक्याएर औरही बोलाई गाउँमा थलोमा बाँधेको भैँसी खोलेर लगेको सुनाइन् । ‘हरियाणामै रहेका पतिले रकम पठाएका छन् भन्दै मलाई औरही बोलाए,’ वर्ष दिनअघिको घटना सम्झिँदै उनले भनिन् ‘छोराछोरी पाल्न अप्ठ्यारो परिरहेका वेला फुरुंग हुँदै औरही पुगेँ, रकम लिन आउनू भन्ने रामबाबुले त अर्को बाटो हुँदै इँटाटार आएर थलोमा बाँधेको भैँसी लगेछन् ।’

गत वर्ष साउनमा हरियाणा गएका पति रामचन्द्र बिरामी परेपछि तीन महिनामा घर फर्किएको ककुलवती बताउँछिन् । ‘गाउँघरमा ऋण सापटी गरेर औषधि उपचार गराएँ,’ उनले भनिन् ‘तीन महिना काम गरेको ४५ हजार भारु दिएनन्, उल्टै ३५ हजार रुपैयाँ बुझाएर भैँसी फिर्ता ल्याउन पाएँ ।’

लहान–१ मटियर्वा घर भएका ककुलवतीका भाइ सबुरियालाई रामबाबुले पाँच वर्षसम्म हरियाणाको सेलर मिलमा काममा जोताएर एक रुपैयाँ नदिई उल्टै ४० हजार रुपैयाँको कपाली बनाएर राखेको गुनासो गरिन् । ‘कमाएको सिध्याएर ४० हजार रुपैयाँ थप लिएको छ भन्दै घरमै आएर धम्क्याए,’ उनले भनिन्, ‘जे पनि गरिदिन्छु भन्दै धम्क्याएर कपाली तमसुकमा सहीछाप गराए ।’

काममा खटाएर मजदुरी नदिएको, कुटपिट गरी कपाली तमसुक बनाएको आरोप झुटो रहेको शिवजीको दाबी छ । ‘महेशलाई बन्धक बनाएर कपाली बनाएको होइन, घरमा बसेको रहेछ, घुम्दै जाँदा भेटिएपछि प्रहरीमा लिएर गएको हुँ, प्रहरीले राख्न नमानेपछि घरमा ल्याएर उनकी आमालाई जिम्मा लगाएर पठाएँ,’ उनले भने, ‘म व्यापारी मान्छे, साहुकारबाट ल्याएर लगानी गरेर दुई–चार पैसा कमाइरहेको छु ।’

महेशलाई घर पठाउने वेला उनकी अमालाई आफूले खडा गरेको रजिस्ट्ररमा सहीछापसम्म गराएको शिवजी बताउँछन् । ‘महेशले इँटाटार गाउँका धेरैलाई ठगेको रहेछ, म पनि झुक्किएर ठगीमा परेँ, रकम फिर्ता गर्नुपर्छ भनेर प्रपञ्च गरिएको हो,’ उनले भने ।

आफूले गरेको अत्याचार छोप्न उनले राजनीतिक झन्डा पनि ओढ्ने गरेका छन् । ‘गाउँपालिका अध्यक्षमा ६ मतले पराजित भएको मजस्तो राजनीतिक व्यक्तित्वलाई अगाडि बढ्न नदिने षड्यन्त्र हो,’ उनले भने । उनले इँटाटार गाउँसहित जिल्लाका विभिन्न ठाउँका तीन सयजनालाई रोजगारी दिएकोसमेत बताए ।

तर, जनता समाजवादी पार्टीका युवा नेता तथा दलित अभियन्ता राजेश विद्रोहीले दलितहरूमाथि अझै सामन्ती हैकम लादिरहेको बताए । ‘राजनीतिको आडमा सोझा मुसहरलाई काममा जोताइएको छ । रोजगारी दिएको भ्रम छर्दै चरम शोषण गरिएको छ । इँटाटार घटनाको छानबिन गरी दोषी पाइए कारबाही हुनुपर्छ,’ उनले माग गरे । अत्याचारका एकपछि अर्को घटना छन् । तर, स्थानीय प्रशासन र प्रहरी बेखबर छन् । ‘थप अत्याचार हुन्छ भनेर उजुरी दिन सकेका छैनौँ,’ पीडितले भने, ‘अब ढिलो–चाँडो न्याय पाइएला नि !’

पीडित महेश सदाय भन्छन्–शरीरले आराम नपाएपछि थलिएँ, काम गर्न नसक्ने भएपछि भागेर घर आएँ                                              

हरेक दिन बिहान ६ बजेतिर आँखा मिच्दै काममा जानुपर्थ्यो । दिउँसो खाना खान आधा घन्टाबाहेक मध्यरातसम्मै खटिनुपथ्र्यो । शरीरले आराम नपाएपछि थलिएँ । घर फर्काइदेऊ भन्दा उल्टै कुटपिट गरेर काममा खटाउँथे । महिना दिन नपुग्दै काम गर्न नसक्ने भएपछि बाध्यताले भागेर घर आएँ । त्यतिन्जेल काम गरेको एक पैसा पनि पाइनँ । 

घर फर्किएपछि जनकपुरमा सिलाइको मजदुरी गर्न गएँ । रक्षाबन्धनमा घर फर्किएको थाहा पाएपछि २३ साउनमा घरमै आएर शिवजीको टोलीले कुटपिट गरे । घरमै बन्धक बनाई औरही पुर्‍याउँदासम्म कुटिरहे । त्यो कुटाइले मैले दाहिने कानले राम्ररी सुन्न छाडेको छु । व्यक्तिगत लेनदेनको कुरा कसैलाई सुनाए परिवारलाई नै छोड्दिनँ भन्दै धम्क्याइरहे ।

 

घरमा पुर्‍याएर कुटपिट गरे, बन्धक बनाए । खोज्दै आएकी आमा कुसुम, पत्नी रिना र भाइ रमेशलाई रकम फिर्ता नगरेकाले रकम असुल्न ल्याएको भन्दै थर्काए । घर खर्च चलाउन भारत जानुअगावै लिएको ३४ हजार रुपैयाँको ब्याजसहित ४६ हजार रुपैयाँको तमसुक बनाएपछि मात्र उनीहरूले छाडेका थिए ।

Published on: 23 August 2020 | Nayapatrika

Link

Back to list

;