s

सरकारले श्रम सूचना बैंक स्थापना गर्ने

केशवराज पौडेल

काठमाडाैँ, जेठ २ गते । सरकारले बेरोजगारको तथ्याङ्क लिन उनीहरूलाई दक्षताको आधारमा रोजगारी सिर्जना गराउन श्रम बैंकको स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशबाट फर्कनुभएका र नेपालमै रहनुभएका युवालाई आवश्यक रहेको रोजगारीको अवस्था जानकारी दिन श्रम सूचना बैंक स्थापना गर्ने बताउनुभएको हो ।

देशमा रहेका बेरोजगार युवाको क्षमताअनुसार र रोजगारदातासँग समन्वय गराउने काम श्रम सूचना बैंकले गर्ने उहाँले बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारबाट फर्कनु भएका युवा र नेपालकै शिक्षित युवालाई सीप र क्षमताको आधारमा सुरुवाती पूँजीको व्यवस्थापन गरिने घोषणा गर्नुभयो ।

उहाँले हरेक स्थानीय तहमा त्यहाँका युवाको सीपको आधारमा घुम्ती सीप दिलाउने तालिम समेत प्रदान गरिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले देशव्यापी रुपमा ‘स्नातक युवालाई चिनौँ, आफ्नो देश बनाआैँ’ कार्यक्रममार्फत् देशव्यापी रुपमा युवा परिचालन गर्ने बताउनुभयो ।

युवालाई विज्ञान विषयमा आकर्षण गराउन प्रयोगात्मक विधिले अध्यापन गराउने बताउनुभयो ।

कृषिमा ठूलो मात्रामा रोजगारीको व्यवस्था गर्ने बताउँदै यस क्षेत्रमा ठूलो मात्रामा लगानी गरिएको र आगामी वर्ष पनि ठूलो लगानी कृषि क्षेत्रमा गर्ने राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो ।

उहाँले अधिकतम रुपमा आन्तरिक स्रोत परिचालन गर्ने आर्थिक वृद्धिदर ऋणात्मक हुन नदिने तयारीमा समेत लागेको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

Published on: 15 May 2020 | Gorkhapatra

Link

Back to list

;