s

‘सरकारले न जागिर दिन्छ, न बिदेसिन’

पर्वत पोर्तेल

नुवाकोटकी ३९ वर्षीया पार्वती वाइबा (परिवर्तित नाम) को १३ वर्षअघि पतिको मृत्यु भयो । दुई छोराछोरी छन् । तिनीहरूलाई हुर्काउन र पढाउन समस्या छ । गाउँमा काम छैन । सहरमा ज्यान पाल्नै गाह्रो । उनले कुवेत जाने निर्णय लिइन् । गाउँले दिदी भर्खरै छुट्टीमा आएकी थिइन् । उनैको साथ लागेर दिल्ली गइन् । दुई साता दिल्ली बसाइपछि उनी असमको गुवाहाटी हुँदै मिजोरम पुगिन् । मिजोरमबाट म्यानमार हुँदै श्रीलंकाको कोलम्बो पुर्‍याएर कुवेत उड्ने योजना थियो तर मिजोरम प्रहरीले नियन्त्रणमा लिएपछि उनको कुवेत उड्ने सपना चकनाचुर भयो ।

भनिन्, ‘घर फर्किएकी छु, अब फेरि के खाने, छोराछोरी कसरी पाल्ने समस्याले पोलिरहेको छ ।’ मिजोरमबाट उद्धार गरिएका अन्य २२ महिलाको कथा पार्वतीको भन्दा फरक छैन । अधिकांश महिला आर्थिक समस्याका कारण विदेश जान लागेको बताउँछन् । उनी विदेश जान खोज्नुको मुख्य कारण पतिसँगको सम्बन्धविच्छेद, पारिवारिक विचलन, घरेलु हिंसा आदि रहेको माइती नेपाल पूर्वाञ्चल कार्यालय काँकडभिट्टाका संयोजक गोविन्द घिमिरेले जनाए । उनले भने, ‘यस्तै पीडाले उनीहरूलाई विदेश जाने, पैसा कमाउने र आनन्दसँग बाँच्ने इच्छा पैदा गरेको देखिन्छ ।’ भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरी बिहीबार घर फर्काइएका अधिकांश महिलाको सरकारलाई एउटै प्रश्न थियो, ‘नेपालमा जागिर छैन, विदेश नगएर के गर्ने ?’ उद्धार गरिएकी महिला सुर्खेतकी रीतादेवी विक (२०) ले गुनासो गरिन्, ‘पढ्न, लेख्न सकेनौं । त्यही कारण बेरोजगार बन्यौं । सरकारले हामीजस्तालाई रोजगार दिन सकेको छैन । विदेश जान खोज्दा पनि रोक्छ ।’ कैलालीकी लालमती चौधरी (२४) ले सरकारले विदेश जान रोक लगाएका मुलुकहरूको प्रतिबन्ध फुकुवा गरी वैधानिक रूपमै सरकारले पठाउने हो भने आफूजस्ता धेरै महिलाले दुःख नपाउने बताइन् । उनले भनिन्, ‘आज हामीले जेजति दुःख भोग्नुपरेको छ, त्यसको मुख्य दोषी सरकार हो ।’ सरकारले स्वदेशमै रोजगारीको प्रबन्ध गरे आफूहरू विदेश जान नपर्ने उनले बताइन् । थपिन्, ‘रोजगारी भए बिरानो देशमा हामी किन जाने ?’ महिलाहरूलाई नेपालगन्जको रुपैडिया नाका हुँदै दिल्ली पुर्‍याइएको देखिन्छ ।

Published on: 14 May 2019 | Kantipur

Back to list

;