s

‘सरकारले हङकङलाई रोजगारीको उपयुक्त गन्तव्य बनाउन सक्नुपर्छ’

सरकारले वैदेशिक रोजगारीको लागि युरोपियन मुलुकको खोजी गरिरहँदा हङकङ पनि आकर्षक गन्तव्य बन्न सक्ने गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष राधिका गुरुङले बताइन् ।

उनले आज पत्रकारहरूसँग भेट गर्दै हङकङ रोजगारीका लागि सरकारसँग सहकार्य गर्न आवश्यक रहेको बताएकी हुन् । रोजगारीको सिलसिलामा दिनहुँ हजारभन्दा बढी युवा खाडी मुलुकमा भित्रिने गर्छ । खाडी मुलुकभन्दा सुरक्षित र कमाइका हिसाबले पनि बलियो रहेको हङकङमा रोजगारीमा पठाउन सके सरकारले धेरै लाभ लिन सक्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘महिलाहको लागि घरेलु कामदार र पुरुषका लागि सुरक्षा गार्डको लागि उपयुक्त देश छ ।’ साथै, कमाइ पनि महिलाको लगभग ७० हजार र पुरुषको एक देखि एक लाख ५० हजारसम्म हुने उनले बताइन् ।

सरकारसँग गैरआवासीय सदस्यहरूबाट पूर्ण रुपमा हङकङको रोजगारी खुलाउनुपर्नेमा जोड दिइरहेको उनले जानकारी दिइन् । ‘बारम्बार परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयमा रोजगारी खुलाउनुपर्छ भनेर पत्राचार गरेका छौं ।’ यसमा परराष्ट्र मन्त्रालयबाट सकारात्मक विचार राखेको उनले बताइन् । यसको लागि श्रम मन्त्रालयमा पनि पत्राचार गरेको हुनाले एक पटक त्यहाँको सरकारसँग कुरा गर्न आवश्यक रहेको उनले जानकारी दिइन् ।

नेपाल र हङकङको हावापानी मिल्दोजुल्दो र दूरीको हिसाबले पनि नजिक भएकाले हङकङ नेपाली युवाको आकर्षक गन्तव्य बन्न सक्ने उनको दाबी छ । अहिले लगभग ३० हजार हाराहारीमा नेपाली वैधानिक रुपमा हङकङमा बसोबास गरिरहेका छन् ।

Published on: 27 February 2020 | Naya Patrika

Link

Back to list

;