s

सरकारले विदेशी जेलका नेपाली भेट्ने

सुन्दर खनाल

सन् १९९० यता झन्डै पाँच सय नेपाली नागरिक लागू औषध तस्करी अभियोगमा विदेशमा पक्राउ परेका छन् । तीमध्ये कतिपय अझै कैद सजाय भोगिरहेका छन् । यतिखेर तिनीहरू नेपाल सरकारका लागि काम लाग्ने भएका छन्, सूचनानिम्ति ।

गृह मन्त्रालयले एउटा अनुसन्धान अधिकृतहरूको टोली दक्षिणपूर्वी मुलुक थाइल्यान्डका जेल भ्रमणका लागि पठाउने तयारी गरिरहेको छ । थाइल्यान्डमा मात्रै गएको दुई दशकमा झन्डै सय नेपाली नागरिक लागू औषध कारोबार अभियोगमा पक्राउ परेको सम्बद्ध निकायहरूको अनुमान छ । तीमध्ये तीन दर्जनभन्दा बढीले लामो जेल सजाय काटिरहेका छन् ।
 
तस्करी समूह चलाएर विदेशमा समेत विशेष प्रभाव राख्ने नेपालीहरू पनि कम छैनन् । थाइल्यान्डमा सक्रिय तीनवटा त्यस्ता समूहका नाइके नेपाली भएको बताइन्छ । उल्लेख्य संख्याका नेपालीहरू पाकिस्तान, हङकङ, इन्डोनेसिया, भारतलगायतका मुलुकमा लागू औषध ओसारपसार अभियोगमा कैद सजाय भोगिरहेका छन् ।
 
'त्यहाँ जेल परेका नेपालीहरूबाट लागू औषध तस्करी नियन्त्रणमा उपयोगी सूचना सहयोग हुने अवस्था छ । उनीहरूको अवस्था बुझ्ने र आवश्यक सोधनी गर्ने हाम्रो उद्देश्य हो,' गृह मन्त्रालयअन्तर्गत लागू औषध नियन्त्रण हेर्ने विशेष तथा योजना महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकाल भन्छन् । केही हप्ताअघि कुख्यात चरेस कारोबारी देवेन्द्र रोक्का उर्फ छपाली पक्राउ परेका थिए । संसारमा हिरोइन उत्पादन र व्यापारका लागि 'गोल्डेन ट्रयांगल' का चिनिने दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाली कारोबारीहरूको नाम बेलाबेला चर्चामा आइरहन्छ । 
 
दुई वर्षअघि नेपाली नागरिकहरू हरिबहादुर घले र साजन गुरुङलाई मलेसियाली उच्च अदालतले मुत्युदण्डको सजाय सुनाएको थियो । सन् २००५ अपि्रलमा कुख्यात तस्कर मानसिं घले इन्डोनेसियाली प्रहरीको विशेष अपरेसनमा जकार्तामा गोली हानी मारिए । नेपाल र थाइल्यान्डमा समेत 'मोस्ट वान्टेड' मा सूचीकृत घलेले 'क्रेसेन्ट मुन' भन्ने समूहका नाइके थिए । दक्षिण पूर्वी एसियाली मुलुकमा नेपाली तस्करहरू चिनियाँ, जापानी, बर्मेली र अफगानी तस्करहरूजत्तिकै प्रभावकारी भएको अधिकारीहरू बताउँछन् । लागू औषध नियन्त्रण कानुन कार्यान्वयन इकाईका एसएसपी नवराज सिलवाल विदेशी कारागारमा रहेका नेपालीबाट लागू औषध सन्जालसम्बन्धी महत्त्वपूर्ण जानकारी लिन सकिने विश्वास व्यक्त गर्छन् ।
 
Published on: 24 July 2012 | Kantipur 

Back to list

;