s

सरकारको अनुमतिबिना माल्दिभ्सले चिकित्सक लिँदै

होम कार्की

माल्दिभ्सले सरकारको अनुमतिबिना नेपाली चिकित्सक भर्ना प्रक्रिया सुरु गरेको भन्दै वैदेशिक रोजगार विभागले आपत्ति जनाएको छ । विभागले भर्ना प्रक्रिया तत्काल रद्द गराउनुका साथै नेपालका लागि माल्दिभ्सका अवैतनिक दूत निर्वाण चौधरीलाई स्पष्टीकरण सोध्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएको छ । विभागको पत्रअनुसार श्रमले परराष्ट्रलाई पत्र पठाउने तयारी गरेको छ । 

ललितपुरको सानेपास्थित माल्दिभ्स कन्सुलेटले आफ्नो स्वास्थ्य मन्त्रालयका लागि चिकित्सक लैजान भर्ना प्रक्रिया अघि बढाएकामा विभागले आपत्ति जनाएको हो । माल्दिभ्सले वैशाख ३० गते चिकित्सक, विशेषज्ञ परामर्शदाता, मेडिकल अधिकृत र नर्ससहित १ सय ९२ जनालाई लैजाने भन्दै एक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरेको थियो ।‘यो वैदेशिक रोजगार विभागभित्रको कार्यक्षेत्रभित्र पर्छ । अनुमति नलिईकन त्यसमा हात हालेकामा हाम्रो आपत्ति छ । यसलाई तत्काल रोक्नुपर्छ,’ विभागका महानिर्देशक भीष्मकुमार भुसालले कान्तिपुरलाई भने, ‘सम्बन्धित कन्सुलेटको प्रतिनिधिलाई स्पष्टीकरण सोध्नुपर्छ भनेर मैले फाइल उठाएर श्रममन्त्रालय पठाएको छु ।’
 
कन्सुलेटबाट सूचना प्रकाशित भएलगत्तै परराष्ट्र मन्त्रालयका सार्क क्षेत्र हेर्ने सहसचिव यज्ञबहादुर हमाल, विभागका महानिर्देशक भुसाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलबीच बैठक भएको थियो । भुसाल र पौडेलले कन्सुलेटको त्यस कार्यले नेपालको कानुन र वैदेशिक रोजगार ऐनको ठाडो उल्लंघन गरेकाले परराष्ट्रले तुरुन्तै सचेत गराई सूचना रद्दगर्नुपर्नेमा जोड दिएका थिए ।
 
‘कन्सुलेटले पत्रिकामा आधा पेजको सूचना निकालेर कामदार आपूर्ति गर्दै छ । कन्सुलेटलाई अन्तर्राष्ट्रिय कानुन, वैदेशिक रोजगार ऐन र नियमावली कसैले पनि त्यस किसिमको अधिकार दिइएको छैन । कन्सुलेट हुनेबित्तिकै कूटनीतिक सुविधा पाउने हुँदा विभागले सोझै कन्सुलेटभित्र पसेर कारबाही गर्न मिल्दैन । कूटनीतिक माध्यम समात्नुपर्ने हुन्छ,’ भुसालले भने, ‘मैले विभागका तर्फबाट परराष्ट्र मन्त्रालयसमक्ष गम्भीर आपत्ति जनाइसकेको छु ।’
 
वैदेशिक रोजगार ऐनमा व्यक्तिगत र संस्थागत हिसाबले मात्रै कामदार आपूर्ति गर्न पाउने प्रावधान छ । सरकारले सिधै कामदार आपूर्ति गर्नका लागि द्विपक्षीय श्रम समझदारी/सम्झौता हुनुपर्छ । ‘नेपालमा अरू देशका दूतावास वा कन्सुलेट छन् । सबैले प्रक्रिया पूरा गरेर मात्रै कामदार भर्ना गरेका छन् । माल्दिभ्सको कन्सुलेट गैरकूटनीतिक ढंगले अगाडि बढेको देखियो,’ उनले भने ।कन्सुलेटले कार्डियोलोजिस्ट, नेफ्रोलोजिस्ट, गाइनोकोलोजिस्ट, सर्जन, एनेसथेटिस्ट, फिजिसिएन, प्याथोलोजिस्ट, पेइड्राइटिज, डरम्याटोलोजिस्ट, ओप्थाल्मोलोजिस्ट, ईएनटी, अर्थो-पोडिसिन २/२ जना, मेडिकल अफिसर ५० जना र नर्स १ सय २० जना गरी १ सय ९२ जना स्वास्थ्यकर्मी लैजान सूचना निकालेको थियो ।
 
उसले अन्तर्वार्ता गर्न माल्दिभ्सबाट स्वास्थ्य मन्त्रालयको टोली आउने भन्दै इच्छुकलाई ७ दिनभित्र आवेदन दिनसमेत अनुरोध गरेको छ । अन्तर्वार्ता सानेपास्थित कन्सुलेटको कार्यालयमा गर्ने उल्लेख छ । उनीहरूको न्यूनतम तलब २ हजार ८ सय ९७ देखि ५८७ डलर तोकिएको छ । विभागबाट इजाजत प्राप्त कम्पनीले मात्रै वैदेशिक रोजगारीका लागि विज्ञापन निकाल्न पाउँछ । ‘इजाजत लिने कम्पनीले पूर्वस्वीकृति लिएपछि मात्रै कामदारको भर्ना प्रक्रियाको सूचना निकाल्ने हो,’ उनले भने, ‘कन्सुलेटले कुनै प्रक्रिया पूरा गरेको छैन ।’
 
गत वर्ष वैशाखदेखि सम्बन्धित देश हेर्ने नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गरेपछि मात्रै विभागसमक्ष पूर्वस्वीकृतिका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । पछिल्लो समय माल्दिभ्समा झन्डै ५ हजार नेपाली कार्यरत छन् ।
 
Published on: 17 May 2019 | Kantipur

Back to list

;