s

सरकारलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न- रुससँग वार्ता गर्ने क्षमता छ कि छैन?

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनीतिक पहल र संवाद गर्न सक्ने क्षमता देखाउन नसकेको बताएका छन् । उनले आफ्ना नागरिकलाई सुरक्षित फर्काउन रुससँग वार्ता गर्ने क्षमता सरकारसँग छ कि छैन प्रश्न गरे ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदुताबासलाई बोलाएर संवाद गर्नु बाहेक कुनै पहल गर्न नसकेको आरोप लगाए ।

उनले रुसमा युद्धका कारण जोखिममा परेका नेपालीहरुको उद्धारका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए । 'सरकारको कुनै न कुनै सम्पर्क भइरहेको छ कि छैन? राजदूतलाई बोलाएर कुरा गरेको भन्दाबाहेक हाम्रो कुटनीतिक पहल के भएको छ ?,' बैठकमा प्रश्न गर्दै महामन्त्री शर्माले भने, 'सरकारको क्षमता रसियासँग संवाद गर्न सक्नेस्तरमा छ की छैन ? त्यहाँ नेपालीकाे यकिन संख्या कति छ ? सरकारले यी प्रश्नहरुको जवाफ दिनुपर्छ । सरकार छ भन्ने अनुभूति गराउन आवश्यक छ ।'

उनले रुसी सेनामा भर्ती भएका नेपालीको तथ्यांक समेत यकिन नभएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए ।

‘६ फेब्रुअरीको साँझ एयर अरबियाको जहाजबाट नेपाल आउन लागेका थिए, सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाल । उनीहरु मस्कोको एयरपोर्टमा रसियन सैनिकको गिरफ्तारीमा परे । एक महिनाअघि उनीहरु रसियन सैनिकहरुबाट भागेर मस्को पुगेका थिए । दुतावास पुग्नुअघि पक्राउ परे । उनीहरुलाई फेरि लिएर गइयो र सैनिक सीमामा राखियो,' शर्माले भने, 'करिब १६ सय किलोमिटर भागेर उनीहरुसँग दुतावासको सम्पर्क भयो । उनीहरुले सम्पर्कमा आएकै साँझ विमानस्थल पुर्‍याउँदा पक्राउ परे । उनीहरु अहिले रसियन सैनिकको गिरफ्तारीमा छन् । उनीहरुको अवस्था के छ ? सरकारलाई थाहा छ कि छैन ? वास्तवमा अहिले त्यहाँ नेपालीको के कस्तो अवस्था छ ? सरकारलाई जानकारी छ कि छैन?'

महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरुको उद्धार गर्न सरकारको पहल नपुगेको बताए ।

Published on: 12 February 2024 | Kantipur

Link

Back to list

;