s

सरकारी लक्ष्यअनुसार घटेनन् म्यानपावर, ७५० कम्पनीले ल्याए बैंक ग्यारेन्टी

म्यानपावर कम्पनीको संख्या ५ देखि ६ सयको बीचमा राख्ने सरकारी लक्ष्य प्रभावित भएको छ । बैंक ग्यारेन्टी र धरौटी बढाउन दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदा मंगलबारसम्म ७५० म्यानपावर कम्पनीले बैंक ग्यारेन्टी पेश गरेका छन् ।यसमध्ये ६८२ वटाले विभागमा नगद धरौटी पनि पेश गरिसकेको महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । विभागले सुरुआतमा बढीमा ६ सय म्यानपावर कम्पनीले मात्रै हाल बढेको धरौटी पुरा गर्न सक्ने आँकलन गरेको थियो ।

श्रम, रोजागर तथा समाजिक सुरक्षा मन्त्रालयले ५ सयभन्दा बढी म्यानपावर कम्पनी आवश्यक नभएको भन्दै वैदेशिक रोजगार ऐनमा संशोधन गरेर धरौटी वृद्धि गरेको थियो ।तर, अन्तिम सयममा विभागमा धरौटी र बैंक ग्यारेन्टी लिएर पुग्ने म्यानपावरको संख्या ह्वात्तै बढेको छ । यसका कारण बुधबार अन्तिम दिनमा पनि ठूलै संख्यामा म्यानपावर कम्पनीहरु धरौटी लिएर पुग्ने अनुमान छ ।

हाल करिब १२ सय म्यानपावर कम्पनी सक्रिय छन् । त्यसमध्ये करिब आधा घटाउन सकिने अपेक्षासहित सरकारले धरौटी बढाएको थियो । तर, अब पनि करिब ८ सयको संख्यामा म्यानपावर कम्पनीहरु सक्रिय रहने देखिएको छ ।

मंगलबारसम्म एक्लै धरौटी पुरा गर्न नसक्ने २८९ वटा म्यानपावर कम्पनी मर्जर प्रक्रियामा आएका छन् । ती सबै संस्था गाभिएर १२५ वटा संख्था बन्ने भुसालले जानकारी दिए ।

सरकारले बैदेशिक रोजगार ऐन संशोधन गरेर म्यानपावर कम्पनी धरौटी बढाएको छ । संशोधित ऐनअनुसार वर्षमा ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्छ ।

यस्तै तीनदेखि ५ हजारसम्म कामदार पठाउनेले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले दुई करोड नगद धरौटी र तीन करोड बैंक ग्यारेन्टी राख्नुपर्छ ।यसअघि म्यानपावर कम्पनीले ७ लाख मात्र नगद धरौटी र २३ लाख बैंक धरौटी राखे पुग्थ्यो ।

Published on: 3 September 2019 | Onlinekhabar

Back to list

;