s

'सरकारी धारणा प्रस्ट होस्'

काठमाडौं - विभिन्न मुलुकमा कोरोना भाइरस फैलिरहेको बेला वैदेशिक रोजगार व्यवसायी संघले नेपालीलाई विदेश पठाउने कि नपठाउनेमा प्रस्ट निर्णय गर्न सरकारसँग माग गरेको छ। खाडी लगायत केही मुलुकमा सरकारले श्रम स्वीकृति दिन रोक लगाएको भन्ने चर्चा चलेपछि मंगलबार संघले पत्रकार सम्मेलन गरी वास्तविकता प्रस्ट पार्न माग गरेको हो।

‘युवा वैदेशिक रोजगारीमा पठाउने मुख्य निकाय वैदेशिक रोजगार व्यवसायी संघलाई श्रम स्वीकृति रोकिएको भन्नेबारे कुनै जानकारी दिइएको छैन,’ संघका अध्यक्ष विष्णुप्रसाद गैरेले भने, ‘बजारमा भने श्रम स्वीकृतिमा रोक लगाइएको भन्ने चर्चा छ।’ संघका पदाधिकारीले मंगलबारसम्म कुवेतबाहेक कुनै पनि गन्तव्य मुलुकका रोजगारदाताले विदेशी श्रमिक नलिने निर्णय गरेको जानकारी नदिएको बताएका छन्। संघका महासचिव सुजितकुमार श्रेष्ठले कुवेतका रोजगारदाताले नेपालीमात्र नभई सबै मुलुकबाट लैजाने श्रमिकलाई रोक लगाएको बताए।

संघले कोरोना भाइरसबाट बच्न पूर्वसावधानी अपनाउन जरूरी भए पनि चर्चा चलाइए जस्तो युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्ने अवस्था नआएको दाबी गरेको छ। संघका महासचिव श्रेष्ठले नेपाली युवा रोजगारीमा जाने खाडी लगायत मुलुकमा कोरोना भाइरसको लक्षण देखिए पनि वैदेशिक रोजगारीलाई ठप्प पार्ने निर्णय गर्न जरूरी नभएको बताए। ‘मलेसियाका रोजगारदाताले नै कोरोना भाइरसको समस्या नभएको जानकारी गराइरहेका छन्,’ उनले भने, ‘त्यसैले रोजगारदाताले निर्णय नगरेसम्म युवालाई रोक्न आवश्यक छैन।’ वैदेशिक रोजगारीमा गएका युवामध्ये हालसम्म कुनै पनि नेपाली कोरोना भाइरसको संक्रमणमा नपरेको उनको दाबी छ।

कोरोना भाइरसबारे सरकारी निकायबाटै फरकफरक धारणा सार्वजनिक भएपछि जनस्तरमा अन्योल सिर्जना भएको छ। ‘कोरोना भाइरसविरुद्ध लड्न सबै मन्त्रालय र सम्बद्ध निकायको एउटै धारणा हुनुपर्छ,’ संघका अध्यक्ष गैरेले भने, ‘जसले गर्दा सबैलाई सुरक्षित राख्न र अर्थतन्त्रमा समस्या आउन नदिन सहयोग पुर्‍याओस्।’ चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ६६ भन्दा बढी मुलुकमा पुगिसकेको छ। नेपालले रोजगारीका लागि विश्वका एक सय आठ मुलुक जाने युवालाई श्रम स्वीकृति दिन्छ। त्यस्तै व्यक्तिगततर्फ श्रम स्वीकृति लिएर नेपाली युवा विश्वका एक सय ७२ मुलुक पुगेका छन्। वैदेशिक रोजगारीमा जाने युवामध्ये करिब ९५ प्रतिशत खाडी र मलेसियामा छन्। ती मुलुकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले कोरोना भाइरसबाट नेपाली श्रमिकलाई सुरक्षित राख्न सरकारले सुरक्षाका सबै उपाय अवलम्बन गरिरहेको बताए। नागरिकसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृतिमा रोक नलगाएको प्रस्ट पारे। ‘वैदेशिक रोजगारीमा जाने युवालाई श्रम स्वीकृति दिन रोक लगाइएको छैन,’ उनले भने, ‘तर स्वदेश र विदेशमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर गहन छलफल गरिरहेका छौं।’ दक्षिण कोरियामा कोरोना भाइरसले महामारीको रूप लिएपछि वैदेशिक रोजगार विभागको कोरिया शाखाले फागुन १८ गते हुने भनिएको उडानलाई फागुन २५ मा सारेको निर्देशक कृष्णप्रसाद खनालले बताए। फागुन १८ गते कोरियामा ६५ श्रमिक जाने तयारी थियो। रेमिटेन्समा टिकेको नेपाली अर्थतन्त्र कोरोना भाइरसका कारण संकटमा पर्ने सम्भावना देखिएपछि विज्ञहरूले सरकारलाई सुझबुझपूर्ण निर्णय गर्न सुझाव दिएका छन्।

विभागका महानिर्देशक कुमार दाहालले श्रम स्वीकृति रोक्ने/नरोक्नेबारे सम्बद्ध पक्षसँग छलफल भइरहेको बताए। ‘हाम्रो एक्लो निर्णयले मात्र श्रम स्वीकृति रोक्न सजिलो छैन,’ उनले भने, ‘यस्तो निर्णय गर्नुअघि गन्तव्य मुलुकसँग पनि छलफल हुन्छ। एक–दुई दिनमा यसबारे केही निर्णय होला।’ हाल दैनिक सरदर एक हजार युवा वैदेशिक रोजगारीमा जाने गर्छन्। दक्षिण कोरियाली राजधानी सोलको रेल्वे स्टेसनबाहिर सोमबार मुख छोप्ने मास्क किन्न लाम लागेका सर्वसाधारण। त्यहाँका राष्ट्रपति मुन जाय–इनले मंगलबार कोरोना भाइरसविरुद्ध ‘युद्ध’ घोषणा गर्दै सबै सरकारी निकायलाई २४सै घन्टा आपतकालीन स्थितिमा राखेका छन्। दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या पाँच हजार पुगेको छ।

Published on: 4 March 2020 | Nagarik

Link

Back to list

;