s

सरकारी छाप किर्ते गरेर मानव तस्करी

जनकराज सापकोटा

अनुसन्धान र कारबाहीका लागि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पठाइएको पत्र नै ‘हरायो’

यूएईको दुबईस्थित मार्क पिजेएससी नामक रेस्टुरेन्टमा इन्टर्नसिप गर्न हिँडेका १२ मध्ये आठ विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखाले फागनु ८ मा फिर्ता पठाइदियो । ती विद्यार्थीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्र्तगतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को लेटरप्याड बोकेका थिए । 

ती विद्यार्थीले ल्याएको लेटरप्याडमा नाथमको फुड एन्ड बेभरेज संकायका मनराजा खत्रीको हस्ताक्षर छ । खत्रीको हस्ताक्षरसहितको पत्रमा ती विद्यार्थी नाथम फुड एन्ड बेभरेज एन्ड सर्भिस म्यानेजमेन्ट पढिरहेको र ६ महिने इन्टर्नसिपमा जान लागेको उल्लेख छ ।

अध्यागमनका कर्मचारीले लेटरप्याडमा उल्लिखित चलानी नम्बर शंकास्पद देखिएपछि विद्यार्थीलाई फिर्ता पठाइदिए र अध्यागमनले पत्रको आधिकारिकताबारे बुझ्न नाथममा पत्राचार गर्‍यो । नाथमका प्रमुख अधिकृत ज्ञानेन्द्र पौडेलले फागुन १२ मा विमानस्थलको अध्यागमन शाखामा पत्राचार गरेर ती विद्यार्थी त्यहा अध्ययनरत नभएको बताए । त्यही दिन नै विमानस्थल अध्यागमनका कायममुकायम प्रमुख अध्यागमन अधिकृत उद्धवप्रसाद भट्टराईले नाथममा अध्ययनरत नभएका विद्यार्थी संस्थाकै सिफारिसमा विदेश जान लागेको घटनाको थप अनुसन्धान तथा कारबाहीका निम्ति महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गर्‍यो । 

चलानी नम्बर ७२४ नम्बरको यस्तो पत्र पठाएको १७ दिन भइसक्दा पनि उक्त घटनाबारे प्रहरीको अनुसन्धान कहाँ पुग्यो भन्नेबारे न नाथम जानकार छ, न अध्यागमन कार्यालय नै । अपराध महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले यस्तो पत्र महाशाखामा फेला नपरेको बताए । नाथमका एक कर्मचारीले भने उक्त घटनाबारे आवश्यक अनुसन्धान गर्ने पत्र प्रहरी परिसर काठमाडौंमा बुझाएको बताए । तर काठमाडौं परिसरका मुद्दा शाखाका कर्मचारी युवराज चौधरी अध्यागमनबाट यसबारे कुनै पत्र नआएको बताउँछन् । 

महाशाखा र परिसर दुवैमा यति गम्भीर घटनाबारे पत्र नै नपुगेको देखिनुले उक्त घटनाबारे अनुसन्धान नै अगाडि नबढेको बुझ्न सकिन्छ । नाथमका एक कर्मचारीले भने, ‘यो घटनालाई सामसुम पार्न भित्रभित्रै ठूलो खेल भइरहेको छ ।’ त्यसो भए कहाँ पुग्यो त अध्यागमनले अनुसन्धानका निम्ति भन्दै लेखेको पत्र ? यसको जवाफ न अध्यागमन अधिकारीसँग छ, न नाथमका अधिकारीसँग नै । 

अध्यागमन स्रोतका अनुसार खत्रीको हस्ताक्षरित पत्रमा यसअघि पनि कैयन् विद्यार्थी यसैगरी विदेश गइरहेका छन् । स्रोत भन्छ, ‘नाथमको पत्र उपयोग गरेर विदेश जाने विद्यार्थीले प्रतिव्यक्ति एकदेखि डेढ लाख रुपैयाँसम्म बुझाएका छन् ।’ स्रोतका अनुसार बलियो राजनीतिक पहुँच भएकैले खत्रीको कामबारे आन्तरिक अनुसन्धान थाल्नसमेत नाथम बोर्डका उपल्ला अधिकारी डराइरहेका छन् । एक अधिकारीले भने, ‘घटनामा संकाय प्रमुख मुछिँदासमेत निलम्बनमा राखेर अनुसन्धान नगर्नुको कारण आफैं बुझ्न सकिन्छ ।’

अध्यागमन विभागका महानिर्देशक गंगाराज गेलालले यो घटनाबारे प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान अघि बढाउन पत्र पठाइसकिएको जानकारी दिए । उनले इन्टर्नसिपका नाममा विदेश विद्यार्थी पठाउने कामको दुरुपयोगका घटनाहरू पछिल्ला समयमा बढिरहेको बताए । महानिर्देशक गेलालले भने, ‘यो घटनामा सरकारी छाप किर्ते भएको देखिन्छ । यस्तो घटना दोहरिन नदिन विमानस्थल अध्यागनमा निर्देशन दिइसकेका छौं ।’ 

नाथमका कार्यकारी निर्देशक चूडामणि शर्मा कट्टेलले यो घटनाले संस्थाको छवि धुुमिल बताए । कट्टेलले संस्थाको लेटरप्याड दुरुपयोग भएको र यसमा संस्थाकै कर्मचारी संग्लन देखिएकोबारे बोर्ड बैठकमा पनि प्रस्ताव लगिसकेका छन् । कट्टेलले भने, ‘प्रहरीको अनुसन्धानको जवाफ आएपछि संस्थाले के गर्ने भन्ने निर्णय गर्नेछ ।’ जबकि यसबारे प्रहरीले अनुसन्धान नै अगाडि नबढाएको बारे निर्देशक कट्टेल जानकार छैनन् ।

Published on: 15 March 2017 | Kantipur

Back to list

;